बंगुरपालनतर्फ आकर्षित गराउने प्रयास

खैरहनी, २४ माघ
खैरहनी नगरपालिका–४, लाफा गाउँका मगर समुदायको आर्थिक उपार्जनका लागि बंगुरपालन व्यवसायलाई प्रोत्साहन गरिएको छ । परम्परागतरुपमा बंगुर पाल्दै आएका मगर समुदायलाई व्यावसायीकरण गराउन खैरहनी नगरपालिकाले बंगुरका पाठापाठी र खोर निर्माण अनुदान दिएको छ ।
विउ पुँजीको रुपमा लाफा गाउँका मगर समुदायलाई १ लाख ४० हजार बराबरको पाठापाठी र खोर निर्माण अनुदान रकम वितरण गरिएको नगरपालिकाको पशु सेवा शाखा प्रमुख रुद्र श्रेष्ठले जानकारी दिए । “जातीय हिसाबले मगर समुदायले सीमित मात्रै बंगुर पाल्दै आएका छन्”, पशु सेवा शाखा प्रमुख श्रेष्ठले भने, “उनीहरुको आर्थिक वृद्धि गराउन व्यावसायीकरणमा नगरपालिकाले जोड दिएको छ ।”
लाफा गाउँमा १ सय १० घरधुरी मगर छन् । बिहीबार एक कार्यक्रमबीच खैरहनीका मेयर लालमणि चौधरी, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, कार्यवाहक वडाध्यक्ष देवबहादुर बस्नेतले संयुक्तरुपमा ती समुदायलाई बंगुरका पाठापाठी र खोरनिर्माण अनुदान रकम हस्तान्तरण गरे ।


लाफा बंगुरपालन समूहमा आबद्ध रहेकामध्ये ७ जना सदस्यलाई खोर निर्माणका लागि प्रतिव्यक्ति ३ हजार ५ सयका दरले अनुदान र २२ जना सदस्यलाई एक–एक वटा पाठापाठी वितरण गरिएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख चौधरीले आदिवासी, जनजाति र सीमान्तकृत समुदायको विकासका लागि नगरपालिकाले योजना बनाएर काम अघि बढाइरहेको बताए ।
“नगर समृद्धिका लागि पछाडि परेका समुदायको उत्थान आवश्यक छ”, नगर प्रमुख चौधरीले भने, “त्यस्ता समुदायको आयआर्जनका लागि सीपमूलक तालिम, बाख्रा, बंगुरपालनमा सहयोग गरिरहेको छ ।” नगर प्रमुख चौधरीका अनुसार तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत मगर समुदायको सामुदायिक भवन निर्माणका लागि २५ लाख, खैरहनी–१२ मा दराई होमस्टे निर्माणका लागि २५ लाख र खैरहनी–१० मा एकीकृत मुसहर बस्ती निर्माणका लागि ६० लाख रुपैयाँ केन्द्र सरकारले विनियोजन गरेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले पशु विकास कार्यक्रमअन्तर्गत विनियोजित रकममध्येबाट मगर समुदायको जीविकोपार्जन र आर्थिक विकासका लागि सहयोग गरिएको बताए । नगरपालिकाले बिउ पुँजीको रुपमा यो सहयोग गरेको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले अनुदान प्रतिफलमूलक बनाउन आग्रह गरे ।
लाफा बंगुरपालन समूहका अध्यक्ष ईशा आले मगरको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी–४ का कार्यवाहक वडाध्यक्ष देवबहादुर बस्नेत, सोनी लाफा मगर समाजका अध्यक्ष जगतबहादुर राना मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट