धु्रवराज खनाल
खैरहनी, २२ माघ
तरकारीको पकेट क्षेत्रको रुपमा चिनिएको चितवनको खैरहनी–१ का किसानले तरकारीले मूल्य नपाएपछि सोमबार खेतमै जोतिदिएका छन् । तरकारीले मूल्य नपाउँदा खैरहनी–६, तुलसीपुरका किसान पुरन महतोले डोजर नै लगाएर खेती नष्ट गरेका थिए ।

त्यसको केही दिनपछि सोमबार खैरहनी–१, बहेराका किसानले ट्याक्टर लगाएर खेती नष्ट गरेका छन् । यहाँका चार जना किसानले करिब दुई विघा जग्गाको बन्दामा ट्याक्टर लगाएका हुन् । बहेराकी इन्दिरा भुषाल, सूर्यप्रसाद भुषाल, नवराज भुषाल र नरवदा सापकोटाले आफ्नो खेतमा लगाएका बन्दा रोडामेटर र हाईरो लगाएर नष्ट गरेका हुन् ।
इन्दिराले ६ कठ्ठामा बन्दा लगाएकी थिइन् । “बन्दाले बजार पाउने आशामा बसियो”, इन्दिराले भनिन्, “बजार नपाउने छाँटकाँट देखिएपछि बाध्य भएर ट्याक्टर लगाउनुप¥यो ।” उनले फलाएको बन्दामध्ये एक किलो पनि बिक्री गर्न पाइनन् । बन्दाले बजार नपाउँदा खेतमै कुहिएको अवस्थामा समेत देखिन्थ्यो ।
उनले ६ कठ्ठामा बन्दा, ४ कठ्ठामा काउली र बाँकीमा करिब ५ कठ्ठामा भेडे खुर्सानी र लौका लगाएकी छन् । काउली बिक्री भइसकेको छ भने भेडे खुर्सानी थोरै मूल्यमा भएपनि बिक्री भइरहेको इन्दिराले बताइन् । बन्दा लगाउँदा करिब ४० हजार खर्च लागेको बताउँदै उनले बन्दाले मूल्य पाएको भए डेढ लाख आम्दानी हुने बताइन् । गतवर्ष उनले १ लाख ६० हजारको बन्दा बिक्री गरेकी थिइन् ।
बहेरीकै नरवदा सापकोटाले पनि तरकारीले मूल्य नपाएपछि ट्याक्टर लगाएर जोतेकी छन् । उनको त ब्रोकाउलीले समेत मूल्य नपाउँदा जोत्नुपरेको थियो । “ब्रोकाउली केही मात्र बेचियो”, सापकोटाले भनिन्, “बन्दा त बिक्री नहुँदै जोत्नुप¥यो ।” उनले ३२ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएकी छन् । १० कठ्ठा मात्रै आफ्नो रहेको बताउँदै उनले २२ कठ्ठा भने भाडामा लिई खेती गर्दै आएको बताइन् । प्रति कठ्ठा वार्षिक २ हजार ५ सय रुपैयाँ तिर्दै आएको सापकोटाको भनाइ छ । उनले पटक–पटक गरेर तरकारी खेतीमा ट्याक्टर लगाउँदै आएकी छन् । सापकोटाले विगत ९ वर्षदेखि तरकारी खेती गर्दै आएकी छन् ।
बहेराकै सूर्यप्रसाद भुषालले २ कठ्ठा र नवराज भुषालले ३ कठ्ठामा लगाएको बन्दामा ट्याक्टर लगाएर जोतेका छन् । तरकारी भएकै खेतमा ट्याक्टर चल्दा किसानहरु रमिते भएर हेर्न बाध्य थिए । किसानले स्थानीय बजारमा बन्दाको माग नहुँदा व्यापारीहरुले लिन नमानेको छन् । केही किसान अझ मूल्य पाउने आशमा छन् ।
मूल्य नपाए ट्याक्टर लगाएर जोत्ने तयारी गरेको स्थानीय दीपकला खनालले जानकारी दिइन् । बन्दापछि बोडी र भिन्डी लगाउने तयारीमा किसान छन् । खैरहनी–१, बहेरीमै रहेको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भुषालले व्यापारीहरुले फाटफुट मात्रै बन्दा लगेको बताए । उनका अनुसार उपभोक्ताले बजारमा प्रतिकिलो बन्दा किन्दा १५ देखि २० रुपैयाँसम्म तिर्नुपर्छ । खैरहनी–१ बाट वार्षिक २ करोडभन्दा बढी तरकारी उत्पादन हुने गरेको छ ।





