बुढीगण्डकीमा गम्भीर घोटला छः नेता विश्वप्रकाश

विप्लव काफ्ले

भरतपुर, २२ माघ

नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत् परियोजनामा गम्भीर घोटला भएको आरोप लगाएका छन् । सरकारको कांग्रेस चितवनले सोमबार भरतपुरमा आयोजना गरेको विरोध प्रदर्शनपछिको सभामा सम्बोधन गर्दै नेता शर्माले भने, “वाईडबडीभन्दा पनि गम्भीर घोटाला भएको छ, निजगढको भन्दा पनि गम्भीर प्रसंग छ बुढीगण्डकी परियोजनाको ।”

उनले नेपालीकै लगानीमा बनाउने भनी प्रक्रिया अघि बढिरहेको परियोजनालाई चीनको कम्पनीलाई बनाउन दिने कामले नेपालीमाथि धोका भएको बताए । “सुनको किस्तीमा राखेर दिएजस्तो गरी बुढीगण्डकी लिएर जाउ भनिएको छ”, उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इङ्गित गर्दै भने, “किन यसरी सुम्पियो ?, अर्बौं रकम भेला गरेर धोका दिन मिल्छ ?”

उनले डिजेल, पेट्रोल खरिद गर्दा प्रतिलिटर ५ रुपैयाँका दरले उठाइएको अर्बौं रकम हिनामिना भएको आरोप लगाए । सरकारले आफै बनाउनुपर्ने परियोजनालाई विदेशी कम्पनीलाई दिएर गल्ती गरेको उनले बताए । “जनताले विश्वास गरेका प्रधानमन्त्रीले बुढीगण्डकी परियोजना छोडिदिने ?”, उनले प्रश्न गरे । चितवनमा बन्न लागेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको घोषणा कार्यक्रमबाटै आफूले बुढीगण्डकी परियोजनाबारे सोध्न चाहेपनि कार्यव्यस्ताताले जान नपाएको सम्झे । “गाँस काटेर नेपालीलाई बनाउन अपिल गरौँ, विदेशमा रहेका नेपालीलाई पनि अपिल गरौँ”, उनले भने, “धुर्मुस–सुन्तलीले अन्तर्राष्ट्रिय रंगशाला बनाउन सक्छन्, प्रधानमन्त्रीले पनि सिक्नुस् ।”

उनले प्रस्तावित निजगढ विमानस्थलका लागि २४ लाख ५० हजार ३ सय १९ रुख काट्न पर्यटन मन्त्रालयले वन मन्त्रालयमा पत्राचार गरेकोमा शंका व्यक्त गरे । “पर्यटन मन्त्रालय कसले चलाइरहेको छ, को छ त्यहाँ, किन त्यति धेरै रुख काट्न खोजिदैछ ?”, उनले भने, “कोरियाको ल्याण्डमार्क कम्पनीको प्रतिवेदनमाथि गम्भीर छानविन गरिएन, एयरपोर्ट सिटी बनाउने भनेर त्यति धेरै रुख काट्न खोजिदैछ ?” उनले महाकाली पञ्चेश्वर परियोजना २३ वर्षदेखि, पश्चिम सेती परियोजना १७ वर्षदेखि अलपत्र परिरहेकोमा आपत्ति प्रकट गरे ।

“हाम्रा परियोजना विदेशको सहयोग पर्खेर रोएर बसेका छन्”, उनले भने । उनले रेल सपना पूरा गर्न राज्यले ऋणको भारी बोक्न नहुने बताए । “रेल कुद्न्पर्छ, बन्नुपर्छ, हाम्रो घोषणापत्रमा पनि रेलको कुरा उल्लेख छ”, उनले भने, “सकिन्छ आफै बनाउँ, कि अनुदानमा बनाउँ, तर खर्बौं ऋण खोजेर नबनाउँ, नत्र श्रीलंकाको हम्मन टोटा बन्दरगाहजस्तो हुन्छ ।” श्रीलंकाले ऋण तिर्न नसकेर चीनलाई बन्दरगाह र १४ हजार एकड जमिन दिन बाध्य भएको चर्चा उनले गरे ।

‘कांग्रेस बाघ हो’

नेता शर्माले कांग्रेसलाई ईतिहासको बाघ भएको दावी गरेका छन् । “वर्तमान प्रधानमन्त्रीले कांग्रेसलाई भंैसी, गंैडा, १२ सिंगे, बँदेल भनेर चित्रण गरेको सम्झन्छु”, उनले भने, “जनावरकै रुपमा हेर्ने हो भने कांग्रेस ईतिहासको बाघ हो, नजिस्काउनु होला ।” उनले राणाशासनलाई पहिलो सिकार गरेको कांग्रेसले राजा महेन्द्रको पञ्चायतमा ‘ज्यूनार’ गरेको चर्चा गरे । “हिंसा गरेर जंगल हिडेको माओवादीलाई शान्ति प्रक्रियामा ल्यायौँ”, उनले भने, “जो टक्राउँछ, त्यो इतिहासमा सीमित रहन्छ ।” उनले दुई तिहाइको सरकारले विवेकले सिंगार्न नसके इतिहासमा हिटलर जस्तो खलनायकका रुपमा वर्तमान कम्युनिष्ट सरकार रहने चेतावनीसमेत दिए ।

वर्तमान सरकारको कार्यशैलीले जनतामा निराशा छाएको उनले बताए । “महंगीले सगरमाथाको शिखर छोएको छ, सांसद्ले महंगी बढ्यो भन्दा ‘सुकामाना घ्यु अब खोजेर पाइन्छ ? भनेर प्रधानमन्त्रीले जवाफ दिन्छन्”, उनले भने, “प्रधानमन्त्रीकै क्षेत्र, काठमाडौं, पोखरा, कञ्चनपुरमा हत्याका घटना हुदा गृहमन्त्रीले शान्ति सुरक्षा छ भनेर जवाफ दिन्छन्, यही हो हामीले खोजेको सपनाको राज्य ?” उनले स्वीजरल्याण्डको सपना देखाएर उत्तरकोरिया जाने प्रयत्नमा सरकार अघि बढेको बताए ।

विरोध प्रदर्शन चौबिसकोठी–लायन्सचोक–शहीदचोक हँुदै पुलचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । प्रदर्शनमा सरकारविरुद्ध चर्को नाराबाजी भएको थियो । हजारौँ कार्यकर्ताहरु सहभागी थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट