
भरतपुर, २२ माघ
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा आगामी माघ २५ देखि २९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रभु पे चौथो क्यान इन्फोटेक मेलाको तयारी तीव्र्र पारिएको छ ।
मेलाको पूर्वसन्ध्यामा निजी तथा सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई कम्प्युटरसम्बन्धी तालिम प्रदान, आईडिया हन्ट, कार्यक्रमलगायत केही कार्यक्रम गरिसकेको क्यानका जिल्ला उपाध्यक्ष विष्णु लामिछानेले जानकारी दिए । मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु) सफ्टवेयर, सुरक्षासम्बन्धी सामग्रीहरु, मोबाइल, स्मार्ट टिभीलगायत ८० बढी स्टल रहने क्यान चितवनले जनाएको छ ।
क्यान चितवनका कोषाध्यक्ष दिलीपकुमार तामाङले प्रविधिको मेलामा प्रविधिकै प्रयोग गरेर मेलालाई जति सक्दो भव्य र नमूना बनाउन लागिपरेको बताए । यसवर्ष मेलालाई ‘पेपरलेस’ बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिएको उनको भनाइ छ ।
‘चितवनको समृद्धि सूचना र प्रविधि’ भन्ने नारासाथ भरतपुरको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको मेला आईटी क्षेत्रको विकासको कोसेढुंगा सावित हुने अपेक्षा गरिएको उनले बताए ।





