उद्यमशिल बनाउन ६ महिने अभियान

विप्लव काफ्ले
भरतपुर, १७ माघ
चितवनमा प्रथम विजनेस इन्क्युवेशन कार्यक्रम सञ्चालन हुन लागेको छ । अन्तरप्रेरणा प्रालि र नेपाल कम्युनिटरको सहकार्यमा उद्यमशिलताको विकास गर्न इन्क्युवेशन कार्यक्रम सञ्चालन हुन लागेको हो ।
“उद्यमीलाई सशक्तिकरण र उनीहरुका व्यवसायलाई सहयोग गरिनेछ”, अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले भने, “व्यापार व्यवसायलाई सुदृढ र सफल बनाउन आवश्यक रणनीतिबारे विज्ञले परामर्श दिनेछन् ।” उनले छनौट भएका उद्यमीलाई ६ महिनासम्म इन्क्युबेशन कार्यक्रममा सहभागि गराइने बताए । “माघ १८ गतेबाट १ महिनासम्म आवेदन माग्ने छौँ”, उनले भने, “६ महिनादेखि २ वर्षभित्रको अवधिमा दर्ता भएर सञ्चालनमा आउन लागेका वा सञ्चालनको प्रक्रियामा रहेकाले आवेदन दिन सक्नेछन् ।” उनले आवेदक मध्ये १० वटालाई मात्रै छनौट गरिने बताए । उद्यम विकास सल्लाहकार दीप्ति खकुरेलले ६ महिनाभित्र चितवनमा इन्क्युवेसन सेन्टर स्थापना गरिने बताइन् । “यहाँबाट उद्यमशिलताबारे तालिम, परार्श तथा लगानीमा सहयोग हुनेछ”, उनले भनिन्, “उद्यम गर्ने वातावरण बनाउन लागिनेछ ।” व्यवसायीक सोचलाई व्यवहारिक अवधारणामा बदल्दै नविनता प्रदान गर्ने, जवाफदेहिताप्रति प्रतिवद्ध बनाउन प्रेरित गरिने बताइन् ।
“व्यवसायलाई विस्तार गर्न र थप लगानी गराउन हाम्रो प्रयास सफल हुनेछ”, उनले भनिन्, “स्वदेशमै केही गर्नुपर्छ भन्ने सन्देश दिनुनै हाम्रो लक्ष्य हो ।” उद्यमशिलताको विकास गर्न स्थानीय संघ संस्था, नीजि क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य गरेर अघि बढ्ने बताइन् । लगानीकर्ता, सल्लाहकार, सम्भावित साझेदार र ग्राहकबीच भेटघाट र छलफल गराउँदै नवउद्यमीलाई आत्मविश्वास बढाइने बताइन् । नेपाल कम्युनिटरका अनिल पराजुलीले नयाँ व्यवसायीक योजना बनाउन सहयोग हुने बताए । “उत्पादन र बिक्रिमा मात्रै केन्द्रीत हुने परम्परालाई भन्दा व्यवसायीक योजना बनाउन सहयोग हुनेछ”, उनले भने, “वित्त व्यवस्थापन, बजारीकरणका उपायबारे परामर्श दिइनेछ ।” प्रेसिडेन्सी कलेज भरतपुरलाई ‘नलेज पार्टनर’ का रुपमा लिइएको छ ।
यो कलेजमा गत वर्षदेखि उद्यमशिलता विकास सम्बन्धि सेमिनार, गोष्ठी सञ्चालन हुदै आइरहेका छन् । “विद्यार्थीलाई उद्यमशील बनाउन इन्क्युबेशन सेन्टरले सहयोग गर्नेछ”, उनले भने, “चूनौती र सम्भावनाबारे जानकारी दिनेछ ।” अन्तरप्रेरणाले विगतमा १७ वटा कम्पनीमा विदेशी लगानी भित्र्याउन सहयोग गरेको थियो । व्यापार व्यवसायका विज्ञको सभागितामा उद्यमशिलता विकासका कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट