अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमै लागत ३ अर्ब, अवधि अढाइ वर्ष


विनोदबाबु रिजाल
भरतपुर, १७ माघ
जब नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकदिवसीय मान्यता पायो, सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले जोशैजोशमा घोषणा गरिदिए कि ‘हामी देशको कुनै ठाउँमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने छौं ।’
उनीहरुको पहिलो सर्त थियो, ‘जग्गाचाहिं सरकारले उपलब्ध गराउनुप¥यो ।’ सबैलाई आफ्नै ठाउँमा बनोस् भन्ने लाग्नु अस्वाभाविक हुँदै होइन । त्यही भएर नगरपालिका प्रमुखदेखि मुख्यमन्त्रीसम्मले धुर्मुस–सुन्तली फाउण्डेसनलाई तान्न थाले । जग्गा देखाउन थाले । उनीहरुले धेरै ठाउँमा जग्गा हेरे । कहीं के नमिल्ने कहीं के । झण्डै हार खाइसकेका थिए । तर, चितवनले अलि बढी नै अग्रसरता देखायो । विशेषगरी भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै फाउण्डेसनलाई बोलायो ।
त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयसँग समन्वय गरी महानगरले २० विघा ६ कठ्ठा जग्गा उपलब्ध गराउने भयो । कयौंपटकको बसाइँपछि यी दुई संस्थाबीच अन्तर्राष्ट्रिय रंगशाला बनाउने विषयमा सहमति जुटेको छ । आगामी अढाइ वर्षभित्र भरतपर महानगरपालिकाको नाममा देशकै पहिचान बोक्ने रंगशाला बनाइसक्ने सम्झौता उनीहरुले गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको रहोबरमा महानगर प्रमख रेनु दाहाल र फाउण्डेसनका अध्यक्ष कट्टेलले सम्झौतापत्रका हस्ताक्षर गरेका छन् । सम्झौताको मर्म भनेको निर्माणमा फाउण्डेसनको नेतृत्व र सञ्चालनमा महानगरको नेतृत्व हो ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरतपुर महानगर हुँदै फाउण्डेसनलाई उपलब्ध गराएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि भरतपुर महानगर प्रमुख रेनु दाहाल र धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला आगामी अढाइ वर्षभित्र महानगरलाई हस्तान्तरण गरिसकिने छ । सम्झौता भएको ६ महिनाभित्र डीपीआर सक्ने र त्यसपछि द्रुत गतिमा काम सकी दुई वर्षमा हस्तान्तरण गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । यसको स्रोत भनेको देश–विदेशका नेपालीबाट प्राप्त हुने स्वेच्छिक सहयोग नै हो । “हामीले इमानदारीसाथ गरेका विगतका काम नै हाम्रो आधार हो”, फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, “अब सबै नेपालीले आफ्नै अभियान सम्झेर सहयोग गर्नेछन् भन्ने विश्वास लागेको छ ।”
फाउण्डेसनले यसअघि चारवटा बस्ती निर्माण गरिसकेको छ । जनसहयोगबाटै भूकम्पपीडित, बाढीपिडित र मुसहरहरुका लागि नमूना बस्ती बनाएका थिए । त्यही जनबलले नै धुर्मुस–सुन्तली रंगशाला बनाउने अर्बौंको महत्वाकांक्षी योजनामा अघि सरेका हुन् ।
रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । “यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ”, पटक–पटक गर्दै आएको दावीलाई फाउण्डेसनका अध्यक्ष कट्टेलले दोहो¥याए, “हामी आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गर्नेछौं ।”
काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार भएको सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सार्वजनिक गरिएकोे थ्रीडी डिजाइनमा रंगशाला निकै आकर्षक देखिन्छ । मूल क्रिकेट रंगशाला कमलको फूल आकारको देखिन्छ । बाहिर निकै व्यवस्थित पार्किङ र कम्पाउण्ड देखिन्छ । बहुउपयोगी हुने यो रंगशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिने धुर्मस बताउँछन् ।
बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एकसिंगे गैंडा, हात्ती, पाटेबाघलगायत जनावरहरुको धातुको मूर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् । खेल अभ्यासका लागि दुई वटा खेलमैदान रहनेछन् । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । “समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने योजना छ”, धुर्मुस भन्छन्, “हाम्रो स्वार्थ भनेको खेल विकास नै हो ।”
बुधबारको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशाला निर्माणमा सरकार सहयोगी बन्ने बताए । “हामीसँग कामचलाउ क्रिकेट मैदानमात्रै छन्”, उनले भने, “अन्तर्राष्ट्रियस्तरको रंगशाला अत्यावश्यक छ, अब बन्नुपर्छ ।”
कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वमा नेपाललाई चिनाउने नयाँ आयामको थालनी भएको बताए । “विश्वमा नेपाललाई चिनाउने नयाँ आयामको थालनी भएको छ”, दाहालले भने, “अब नेपालको चिनारी विश्वमा नयाँ ढंगले हुँदैछ ।”
भरतपुर महानगरपालिका प्रमुख दाहालले आफूहरुले भरतपुरमा विश्वकै क्रिकेटर ल्याउने बताइन् । “रंगशाला बनेपछि पहिलो खेल भारत र पाकिस्तानको गराउँछौं”, उनले भनिन् ।
कराडौं सहयोग घोषणा
सो कार्यक्रममा काठमाडौँको एस ट्राभल एण्ड टुर्सले तीन करोड दिने घोषणा गरेको छ । यस्तै कार्यक्रममै चितवन उद्योग सघंले रु ५१ लाख, अल्का हस्पिटलले २५ लाख, उद्योग वाणिज्य संघ–चितवनले रु २१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज गैंडाकोटले ७ लाख ७ हजार ७७ रुपैयाँ, हास्य टेलिश्रृंखला भद्रगोल टिमको तर्फबाट एक लाख, दीपिका थापाबाट एक लाख १० हजार रुपैयाँ दिने घोषणा भयो । त्यस्तै भरतपुर महानगरपालिकाका विभिन्न सस्था र व्यवस्थाबाट आर्थिक सहयोगको घोषणा भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट