विप्लव काफ्ले
भरतपुर, २० कार्तिक
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटि हल बनाउन नहुने दावी गरेका छन् । भरतपुर महानगरले पुनः क्यान्सर अस्पतालको जग्गामा सिटि हल बनाउने पहल गरेकोमा बिरोध जनाए ।
नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “प्रचण्ड र केपी ओलीसँग कुरा गरेर त्यसलाई रोक्ने प्रयास गर्छु, अन्यत्र बनाउन सुझाव दिन्छु ।” उनले अस्पतालको जग्गामा सिटि हल बनाइए गुरुयोजनाका पूर्वाधार बनाउन समस्या हुने जीकिर गरे । “यो अस्पताल बनाउँदा म पनि एक पात्र थिएँ”, उनले भने, “इन्स्टिच्युटका रुपमा विकास गर्ने गरी गुरुयोजना बनेको छ, यहाँको जग्गा नपुगेरै गैडाकोटमा समेत जग्गा खरिद भएको विगत भुल्नुहुदैन ।” क्यान्सर अस्पताल सञ्चालक समितिले समेत अस्पतालको ७८ विगाहा जग्गामध्ये ५ विगाहा भरतपुर महानगरपालिकालाई सिटी हल बनाउन दिने सम्बन्धमा स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको थियो । सो फाइल मन्त्रालयबाट फाइल मन्त्रिपरिषदमा पुगेको छ । यसअघि क्यान्सरको जग्गामा सिटि हल बनाउने तयारी भएपश्चात नेपाली कांग्रेस चितवन र अन्य अभियान्ताले विरोध जनाएपछि विकल्पका रुपमा जिल्ला प्रहरी कार्यालय अगाडीको गेष्ट हाउस चौरमा बनाउन दलहरु एक्यवद्ध बनेका थिए । जिल्ला समन्वय समिति मातहत रहेको गेष्ट हाउस चौरको ४ बिघा ११ कठ्ठा क्षेत्रफलमा सिटि हल बनाउने प्रक्रिया चल्दा सो ठाउँ अप्रयाप्त हुने भन्दै विरोधका कार्यक्रम हुदै आएका छन् । महामन्त्री कोइरालाले कांग्रेस एक्यवद्ध बने कसैले हराउन नसक्ने दाबी गरे । “कांग्रेसको शक्ति अझै छ, माओवादी र एमाले मिलेपनि हराउन सक्दैनन्”, उनले भने, “आउँदो निर्वाचनमा प्रमुख दल बन्छ ।” उनले इतिहास बनाएको, संघर्ष गरेर आएको पार्टी भएकाले जनताको पक्षमा वकालत गरेर पार्टी ठूलो दल बन्ने जीकिर गरे । उनले पार्टीको महासमितिको बैठक १० दिनजति सनै सक्ने संकेत गरे । केन्द्रीय समितिमा छलफल सुरु नभएकाले केही दिन बैठक सर्ने सम्भावना रहेको बताए । उनले कम्युनिष्ट पार्टीले आफ्नै घोषणापत्रमा उल्लेख गरेका काम समेत गर्न नसकेको आरोप लगाए । “पानी जहाज, रेल ल्याइदिन्छु भनेर हावा कुरा गरेर हुदैन”, उनले भने, “यर्थात कुरा गर्नसक्नुपर्छ, सत्ता चलाएर मात्रै हुदैन, नयाँ योजना तर्जुमा गर्न सक्नुपर्छ ।” महामन्त्री कोइरालाले आगामी मंसिर ५ देखि १० गतेसम्म आयोजना गरिएको नेपाली काँग्रेसको महासमिति बैठक सर्न सक्ने बताउनुभएको छ । महासमिति बैठकका बारेमा केन्द्रीय समितिमा कुनै पनि छलफल सुरु नभएकोले १० दिनजति महासमिति बैठक सर्ने संकेत पाएको कोइरालाले बताए ।

पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अस्पताललाईनै जग्गा नपुगेको अवस्थामा पुनः सिटि हल बनाउन खोज्नु गलत भएको बताए । “यहाँको जग्गा नपुगेर क्वाटरलाई गैडाकोटमा जग्गा खरिद भएको अवस्था भुल्नुहुदैन”, उनले भने, “सिटि हल बन्नुपर्छ, तर भरतपुरको अन्यत्र विकल्प खोज्नुपर्छ, यहाँ बनाउने प्रयास गरिनुहुदैन ।” कांग्रेसका पूर्वसांसद रामकृष्ण घिमिरेले क्यारेक र एयरपोर्टबीचको जग्गा खोजेर सिटि हल बनाउन सुझाए । “स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईले सेनासँग कुरा गरेर सिटि हल बनाउन पहल गर्छु भन्नुभएको थियो”, उनले भने, “महानगरका अन्य ठाउँमा पनि सिटि हल बनाउन प्रयाप्त जग्गा छ, अस्पतालकै जग्गामा बनाउन हुदैन ।” तत्कालिन अवस्थामा जनकपुरमा बन्न लागेको अस्पताल ठूलो मिहेनतले भरतपुरमा बनेको स्मरण गर्दै उनले भने, “बिपीको नाममा कुनै ठूला संस्था संरचना छैनन्, भएको यही अस्पतालको महत्व कम गर्ने प्रयास भैरहेका छन् ।” कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बलात्कार घटनाका दोषिलाई कारवाही गर्न नसकेर सरकार निकम्मा बनेको आरोप लगाए । उनले दोषिलाई कानुनी दायरामा ल्याउन सरकारलाई घच्घच्याउनुपर्ने बताए । कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङले संसदीय प्रणालीलाई विश्वास नगर्ने सत्तामा भएकाले खतरा रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय सचिव केवी रानाले सत्ता र प्रतिपक्ष जस्तो पत्रकारिताको स्थिति अन्त्य गरिनुपर्ने बताए । “स्वतन्त्ररुपमा कलम चलाउन पाउनुपर्छ”, उनले भने, “लोकतन्त्र बलियो बनाउन सबै लाग्नुपर्छ, राजनीतिक परिस्थितिले पत्रकारितालाई विभाजन गर्न दिनुहुदैन ।” पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारको क्षमता विकासका लागि सक्रिय हुने बेला आएको बताए । उनले आफ्नो कर्मलाई समिक्षा गर्न महासंघले नियमित पाठशाला सञ्चालन गर्दै आएको बताउँदै पत्रकारलाई समाजप्रति उत्तरदायी बनाउन लाग्नुपर्ने बताए । प्रेस युनियन चितवनका उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले पत्रकारलाई प्रोत्साहनको खाँचो रहेको बताए । प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले सेलरोटी खाँदै शुभकामना आदानप्रदान राखेर संस्कृति जगेर्नाका लागि प्रयास भएको बताए ।





