प्रमिता ढकाल
भरतपुर, १८ कात्तिक
“चिठी आएन, चिठी आएन मेरो मायालुको मलाई चिठी आएन”
९० को दशकमा नेपाली चलचित्र जगतमा ‘ब्लकबस्टर’ चलचित्र ‘ट्रक ड्राइभर’ को यो गीत अझै पनि धेरैलाई याद होला । नायिका करिश्मा मानन्धरले हल्काराको बाटो हेर्दै आफ्नो मायालुको चिठी कुरेको दृश्य पनि याद नै होला ।
२४ वर्षअघि यो चलचित्रमा दर्साइएको जसरी हल्काराको बाटो हेर्दै आफ्नो मायालुको चिठी कुर्ने प्रेमिका अहिले सायदै होलान् । जमाना बदलियो, प्रविधिले मानिसलाई अझ नजिक बनायो मायालुको मात्र होइन घरबाट टाढा रहेका, विदेशिएका सदस्यको सञ्चो–विसञ्चो बुझ्न अब गाह्रो छैन । मोबाइल, इमेल तगा इन्टरनेटको सहज पहुँचले दिनँहु या भनौं आफूले चाहेकै बेला कुराकानी हुन सहज र सरल बनेको छ ।
त्यसो भए के अहिले हल्कारालाई कसैले पनि कुर्दैनन् त ? पक्कै होइन सबैको घरघर र हातहातमा चिठीपत्र पु¥याउने हल्काराहरु अहिले पनि उत्तिकै सिद्धतले आफ्नो काम गरीरहेकाछन् ।

जिल्ला हुलाक कार्यालयका हर्कबहादुर थापा ५७ वर्ष पुगे । १४ वर्ष बाग्लुङको गल्कोटमा हल्कारो भई चिठीपत्र पु¥याउने काम गरेका उनले चितवनमै आफ्नो कामलाई निरन्तरता दिएको २५ वर्ष भयो । थापा दैनिक कार्यालय आउँछन्। अनि कार्यालयले उपलब्ध गराएको साईकल लिएर चिठीपत्र घरघरै पु¥याउँदै हिँड्छन् । “पहिला–पहिला पैदलै पुग्नुपथ्र्यो, साईकल भएपछि सुविधा भएको छ”, उनले सुनाए । बन्द खामभित्रको कागजमा लेखिएको सन्देश पढेर सर्वसाधारण आफन्तको सञ्चो बिसञ्चो, सुखदुःख, प्रगति पीडा, मिलन बिछोडका खबर थाहा पाउँथे ।
कतिपयले पढ्न नजान्ने हुँदा हल्कारालाई नै पढ्न पनि भन्थे । त्यसरी चिठी पढेर सुनाउँदा उनीहरु निकै खुसी हुन्थे र मनमा सन्तोष लिन्थे । ४० वर्षदेखि निरन्तर हल्कारोको काम गर्दै आएका थापा पहिले अहिलेको जमानामा धेरै परिवर्तन आएको बताउँछन् । पहिला हल्कारोलाई निकै सम्मान थियो । चिठी आउँदै छ भनेपछि मानिसहरु बाटो कुरेरै बस्थे । परदेशमा परिवारका सदस्य भएकाहरु त दैनिक सोध्थे पनि ।चिठी दिएको दिन खुसी हुँदै घरमा बसाउँथे । “खाजा पानी सोधेर अझ केही मिठो मसिनो वा उब्जनी भए घर लैजान पनि दिन्थे” उनले भने, “ज्यादै सम्मान पाइन्थ्यो ।” अहिले त्यो सम्मान, आदरभावभन्दा पनि सरकारी कर्मचारीले आफ्नो काम गरेर गयो भन्ने भावना पाएको उनको भनाइ छ ।

२५ वर्षदेखि हल्कारोको काम गर्दै आएका ४२ वर्षीय विष्णुप्रसाद सुवेदीलाई सुरुआती दिनका घटना अझै सम्झना आउँछ । भर्खर–भर्खर काम सुरु गरेका उनलाई चिठीका प्रकृतिबारे खासै जानकारी नै थिएन । गोरखाको इलाका हुलाक कार्यालयमा पहिलो पोस्टिङ भएपछि उनी चिठीको पोको बोकेर गाउँका लागि हिँडे । धागोले बाँधेर आएको एउटा चिठी बोकेर उनी चिठी दिनुपर्ने घर पुगे । घरका वृद्धले आफूलाई पढ्न–लेख्न भनेपछि उनले धागो फुकाए र फरर चिठी पढ्न सुरु गरे । चिठी पढेर भ्याउँदा–नभ्याउँदै घरमा रुवाबासी चल्यो । अनि बल्ल उनलाई याद आयो, चिठीमा उनले कसैको मृत्युको खबर सुनाइरहेका थिए । सुवेदी निकै अतालिए । चिठी अधुरै छोडेर उनले छिमेकीलाई बोलाइदिए, खबर सुनाए, अनि बाटो लागे । त्यसपछि मात्र उनलाई थाहा भयो कि धागोले बाँधेर आएका चिठी दुखद सन्देश लिएर आउने रहेछन् । “त्यो घटनाले मलाई कामप्रतिको जिम्मेवारीबोध गरायो”, उनले भने, “आफूले गर्ने काम कति संवेदनशील रहेछ भन्ने पाठ पढायो ।”
जिल्ला हुलाक कार्यालय चितवनमा अहिले १२ जना हुलाकी तथा हल्कारा छन् । जसमा ५ जना करारका कर्मचारी हुन् । नेपाल सरकारले वि.सं. २०५५ सालदेखि स्थायी नियुक्ति लिन रोक लगाएपछि कार्यालयले आवश्यकताअनुसार कर्मचारी राख्ने गरेको छ । जिल्ला हुलाक कार्यालय चितवनका सबै हल्कारालाई भरतपुरका विभिन्न वडाअनुसार कामको जिम्मेवारी दिइएको छ ।
हुलाकीले सबै हल्काराहरुलाई चिठी बाँडिदिन्छन् र हल्काराहरु ती चिठी बोकेर हातहातमा पु¥याउन हिँड्छन् । २९ वर्षको अनुभव संगालेका हुलाकी दयाराम ढकाल प्रविधिका कारण चिठीपत्र घट्यो भन्ने कुरामा सहमत छैनन् । “अझै पनि हुलाक छ र भन्नेहरु नभएका होइनन्”, हुलाकी ढकालले भने, “तर, पारिवारिक सञ्चो विसञ्चोका चिठीको संख्या कम भएपनि कामकाजी, साधारण र रजिष्ट्र«ी चिठी, बैंक डकुमेन्टहरु बढेका छन्, जसले कामको चाप बढाएको छ ।”
कार्यालयमा महत्वपूर्ण सरकारी एवं संस्थागत कामकाज, एफएम रेडियोका चिठीपत्रको ओइरो नै लाग्छ । अहिले पनि दैनिक दुई हजार जति चिठीपत्र बाँड्न कार्यालयबाट निस्कने गरेका छन् । २०५५ सालदेखि सेवा प्रवेश गरेका मुरारीराज पन्तले काम सुरु गर्दाको समयभन्दा अहिले काम गर्न अझै असहज भएको अनुभव सुनाए । “पहिला–पहिला एउटा गाउँमा गएर एक जनाको नाम लिए सबैले चिन्थे, अनि घर देखाइदिन्थे”, उनले भने, “अहिले त वल्लो–पल्लो घरमा कसैले कसैलाई चिन्दैन । चिठी पु¥याउन गयो, दिनभर डुल्दा पनि घर नचिनेर फर्किनुपर्ने हुन्छ ।”
अहिलेका बस्ती पहिला–पहिलाजस्तो पातलो छैन । जनघनत्व बढेको छ । घर संख्या उस्तै बढेका छन् । हल्कारोले भने जसको नाममा चिठी आएको छ, उसैलाई थमाएर चिठी बुझेको हस्ताक्षर नलिई काम फत्ते भयो भन्न पाउँदैनन् । सुगम ठाउँमा हिँड्न सजिलो भएपनि घर पहिल्याउँदै चिठीपत्र तथा अत्यावश्यक डकुमेन्ट दिन निकै कठिन हुने हल्काराहरु बताउँछन् ।
यस्तै घरमा पालिने कुकुरका कारण सिधै जान डर हुने, घरभित्र रहेका व्यक्ति सजिलै बाहिर ननिस्कने जस्ता समस्या त छ नै बैंकहरुले पठाएका ऋण असुलीको चिठी लिएर पुग्दा बैंककै कर्मचारी जसरी गालीगलौज गर्नेहरु पनि कमी नरहेको तितो अनुभव उनीहरुले सुनाए ।
पछिल्लो समय विभिन्न टोल सुधार समितीहरुले टोलको नाम, एरिया छुट्याएर होर्डिङ बोर्ड राख्ने गरेकाछन् । काममा सहजता आउन चिठीमा प्रष्ट घर नम्बर, ब्लक नम्बर, टोल र सही फोन नम्बर राख्न आवश्यक रहेको उनीहरुले एक स्वरमा बताए ।




