धु्रवराज खनाल
रत्ननगर, १५ कात्तिक
इलाका प्रहरी कार्यालय टाँडीले आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रियता बढाएको छ । बाल यौन दुरुपयोगमा सलग्नलाई पक्राउ गर्नेदेखी चोरीका मोटरसाईकल नियन्त्रणमा प्रहरी सक्रिय बनेको हो ।
इलाका प्रहरी कार्यालय टाँडीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि पछिल्लो तीन महिने कार्यप्रगति विवरण सार्वजनिक गरेको हो । आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने क्रममा पछिल्लो तीन महिनामा २४ वटा चोरीका तथा राजस्व छलि गरि ल्याईएका मोटरसाईकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) दयानिधी ज्ञवालीले जानकारी दिए । चोरीका मोटरसाईकल मध्ये प्राय नयाँ धेरै छन् । “मोटरसाईकल चोरीका घटना बढ्दै गएपछि हामीले सक्रियता बढायौँ”, डिएसपी ज्ञवालीले भने, “ चेकिङ र सुराकीका आधारमा २४ वटा मोटरसाईकल नियन्त्रणमा लिएकाछाँै ।”
उनका अनुसार इप्रका टाडीको क्षेत्रमा पर्ने रत्ननगर र कालिका नगरपालिकाका क्षेत्र र राजमार्गका विभिन्न स्थानमा चेकजाचका क्रममा कागजात नभएका मोटरसाइकल नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिईएका मोटरसाईकल मध्ये प्राय पल्सर मोटरसाईकल छन् । प्रहरीको कार्य प्रगति विवरणमा तीन महिनाको अवधिमा तीन वटा वाल यौन दुरुपयोगका घटना भएका छन् भने जवरजस्ती करणीका १ र जवरजस्तीकरणी उद्योगका एक एक घटना भएका छन् । प्रहरीको तथ्यांकले रत्ननगर लागु औषध ओसारपोसारका हिसावले ट्रानजिट पोईन्ट वन्दै गएको छ । यो अवधिमा ७ वटा लागु औषध प्रयोग र ओसारपोसार सम्वन्धी घटना तथा वेवारिसे अवस्थामा १७ किलो चरेश रत्ननगरको टाँडीबाट बरामद गरेको थियो ।
“रत्ननगर चितवन र नेपालको मध्य भागमा छ, जसका कारण लागु औषध ओसारपोसारमा भइरहेका छन्”, डिएसपी ज्ञवालीले थपे, “लागु औषधको ट्रानजिटपोईन्ट बन्दै गएकाले गस्ती, सचेतनामुलक कार्यक्रमलाई व्यापकता दिएको छ ।” साथै चोरीका विभिन्न घटना र ज्यान मार्ने उद्योगका विभिन्न घटनामा सलग्न व्यक्तीहरुलाई कानुनको दायरामा ल्याउन सफल भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक उमेश मान अमात्यले बताए । भदौ महिनामा वाल विवाह गरेको अभियोगमा एक जनालाई नियन्त्रणमा लिई पुर्पक्षका लागि कारागार चलान गरिएको उनले बताए । यसैगरि अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपोसारमा सलग्न १२ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । ती ट्याक्टरहरुलाई आवश्यक कारवाहीका लागि रत्ननगर नगरपालिकाको कार्यालय पठाई जरिवाना तिरेपछि छाडिएको थियो ।





