प्रमिता ढकाल
भरतपुर, १४ कार्तिक
चितवनको भरतपुरमा ३ दिन सम्म चलेको कुखुरापालन सम्बन्धि अन्तराष्ट्रियस्तरको गोष्ठी ८ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । नेपालमा कुखुरापालन क्षेत्रमा अध्ययन, अनुसन्धान एकातर्फ र व्यवहारीक व्यवसाय अर्कातर्फ भइरहेको बेला गोष्ठीले अध्ययन अनुसन्धान र व्यवसायीकरणलाई दिशानिर्देश गर्ने गरी घोषणापत्र जारी गरी समापन भएको हो ।
कुखुरा उत्पादनसम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामीण कुखुरापालनजस्ता विधामा १५ आमन्त्रित वैज्ञानिकको अनुसन्धानमूलक कार्यपत्र र ३५ विभिन्न मौखिक कार्यपत्र प्रस्तुत गरीएको कार्यक्रम संयोजक डाक्टर हिमाल लुइटेलले जानकारी दिए ।
“गोष्ठीपछि जारी घोषणा पत्रले नेपालमा चलिआएको परम्परागत पोल्ट्री व्यवसाय र अनुसन्धानलाई कुन दिशातर्फ लैजाने भन्ने बारे स्पष्ट धारणा प्रस्तुत गरेको छ,” कार्यक्रम संयोजक डाक्टर हिमाल लुइटेलले भने । नेपाल कुखुरापालन उत्पादनमा आत्मनिर्भर रहेको अवस्थामा उत्पादन वृद्धि र व्यावसायिकीकरण गर्नमा समेत योगदान पु¥याउने उनको विश्वास छ । सम्मेलनमा भारत, जापान, अस्ट्रेलिया, जर्मनी, बंगलादेश, अमेरिका, भूटान र इजिप्ट गरी विभन्न ८ राष्ट्रका वैज्ञानिक सहभागि भएका थिए । प्राध्यापक, विद्यार्थी, व्यवसायी गरी तीन सयभन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरको आयोजना तथा नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि संगठन, हेफर इन्टरनेशनल र विश्वविद्यालय अनुदान आयोगको सहआयोजनामा सम्मेलन आयोजना गरिएको हो । नेपालको कूल ग्राशस्थ्य उत्पादनको करीब चार प्रतिशत र कूल कृषि गाहस्थ्य उत्पादनको करीब आठ प्रतिशत हिस्सा कुखुरापालन क्षेत्रले ओगटेको छ । कुखुरापालन क्षेत्रबाट करीब एक लाख ५० हजार जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।





