रत्ननगर, १३ कार्तिक
गत वर्षको साउनको अन्तिम सात आएको बाढीले बगाएर घरबारविहीन बनेका रत्ननगर ७ मालपुरका चारजना मुसहर समुदायको घर निर्माण गरिदै छ । सपना भिलेज सोसल इम्प्याक्ट, रत्ननगर नगरपालिका र वडा कार्यालयको लगानीमा विचल्लीमा परेका मुसहरका लागि घर निर्माण गरिएको हो ।
बाढीले घर लगेपछि आकासमुनी रात विताउदै आएका गणेश माझी,हरेन्द्र माझी,आदेश माझी र सुरज माझीको घर निर्माण कार्य अहिले भइरहेको छ । १५ दिनमा उनीहरुको नयाँ घर तयार हुने छ । इम्प्याक्टको ८० प्रतिशत,नगरपालिकाको १० प्रतिशत र वडा कार्यालयको १० प्रतिशत लगानीमा बाढी पीडित मुसहरका लागि नयाँ घर निर्माण गइरहेको वडा अध्यक्ष लालबहादुर भट्टले जानकारी दिए । घरको ८० प्रतिशत काम भइसकेको र १५ दिन भित्र निर्माणकार्य सम्पन्न गरी मुसहर समुदायलाई घर निर्माण गर्ने तयारी गरिएको उनले बताए ।
इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बाढीले घर बगाएपछि भएको दयनीय अवस्थाबाट माथी उठाउन घर निर्माण गरेको बताए । घर भयो भने कमाएर खानेबाटो खुल्छ उनले यो जीवन सुधारको पहिलो पाटो हो । उनले नगरपालिका र वडा कार्यालयसंगैको सहकार्यमा ३५ लाखको लगानीमा चार वटा घर निर्माण भइरहेको बताए ।
इम्प्याक्टले यस अघि रत्ननगर ८ मा रहेका तीन परिवार बाढी पीडितको घर निर्माण गरेको थियो । सिसुवारमा रहेको मुसहर बस्तीका बाढी पीडितलाई स्वः हस्तबहादुर भट्टराई प्रतिष्ठान र रोटरी क्लबले यस अघि नै घर बनाइदिएका थिए । मालपुर मुसहर बस्तीमा २२ घरधुरी र सिसुवारको मुसहर बस्तीमा १६ घरधुरी मुसहर समुदाय छन ।





