परम्परा जगेर्ना गर्न समाज उदार भएन

प्रमिता ढकाल
भरतपुर, २९ असोज  ।
बडा दशैंको रौनकले घर टोल,गाँउ र बजारलाई छपक्कै छोपिसकेको छ । दशैंमा नवरात्रभरी शक्तिको आराधना,टिका ,जमरा मान्यजनको आर्शिवादसंगै दशैं भरी मात्र गरिने केही रमाइला क्रियाकलापले पनि यसको फरक पहिचान कायम राख्न मदत पुगेको छ । दशैंको बेला दमाहा बजाएर मठमन्दिर तथा घरघरमा देविको आह्वान गरीदाँ दशैंको मौलिक सांस्कृतिक परम्पराको महत्व अझ बढेको पाइन्छ । गाँउटोलका प्रत्यक घरमा विशेष गरि दमाई जातिले दमाहा बजाउँदै शक्तिको आह्वान गर्ने यो परम्परा वास्तवमै मौलिक छ । देवीदेवाताको पूजापाठ गर्दा होस् वा विवाह, व्रतबन्ध जस्ता शुभकार्य गर्दा दमाहा बाजा बजाउने प्रचलन रहिआएको छ ।


भरतपुर १६ का ५६ वर्षिय डम्मर बहादुर परियार १३ वर्ष देखि आसपासका गाँउहरुमा नवरात्र भरी दमाहा बजाउँदै आएकाछन् । नवरात्र सुरु भएदेखि उनी प्रत्यक दिन बिहान घरघरमा पुगी दमाहा बजाउँछन् र जजमानहरुकको घरघरमा देवीको आह्वान गरीदिन्छन् । डम्मबर बहादुर परियार गोरखाबाट चितवन बसाई सरेको १५ वर्ष भयो । चितवन आएको दुई वर्षमा उनलाई जजमानहरुले घरमै गएर नवरात्र भरी दमाहा बजाउन आग्रह गरेपछि १३ वर्ष यता उनले यो कार्यलाई निरन्तरता दिएकाहुन् । यहाँका पुराना दमाईको निधन पछि स्थानिय जजमानहरुले उनलाई दमाहा बजाउन आग्रह गरेको उनले बताए ।
घाँटीमा भिरेको दमाहाको बनावट र प्रकारबारे पनि उनले जानकारी गराए ।
दमाहा ः यो नेपाली बाजा हो । यो पिँधतिर सानो र मुखतिर ठूलो हुँदै आएको, तामाको भाँडोलाई छालाले मोडेर गजोले हानेर बजाइने एक बाजा हो । यसलाई सानो खालको नगराका रूपमा पनि हेरिन्छ । दमाहालाई पञ्चैबाजा समूहका तालबाजाको रूपमा लिइन्छ । यो घाँटीमा भिरेर बजाइन्छ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ ।
सानो दमाहा अर्थात बाउँताल ः दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन । ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ त्यसैले यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ ।
ट्याम्को ः नौमति अन्तर्गतको ताल दिने अर्को बाजा ट्याम्को हो । यसको बनावट सानो दमाहाजस्तै हुन्छ । यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ । ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन् ।

गोरखा मुच्चेकमा हुँदा पनि उनी बडा दशैैंका बेला कालिका थानमा दमाहा बजाउंथे । उनले पुराना दिन सम्झँदै भने, “कालिकाथानमा गाँउ भरीका मान्छे जम्मा हुन्थे अष्टमी, नवमीका दिन बली चढाइन्थ्यो , सबैले ल्याएका बोका बली दिएर नभ्याउंदा सम्म सात आठ जनाको समुहले निरन्तर दमाहा बजाएर देवी आह्वान गरीन्थ्यो । त्यसपछि जजमानहरुले दिएको दशैं भाग लिएर हामी पनि दशैं मनाउँथ्यौं ।” सात आठजनाको समुहले स्थायिन मन्दिरमा नियमित रुपमा पुूजाआराधना गर्दा दैनिक नै दमाह बजाउने चलन रहिआएकोमा अहिले परम्परा धान्ने काम मात्र भएको उनको भनाई छ ।
भरतपुर १६ का विभिन्न टोल गरी करिव २५ सय घरधुरीका जजमानलाई उनले दमाहा बजाएर नवरात्रको पूजामा साथ दिदैआएकाछन् । ती घरहरुबाट उनलाई नवमीका दिन दशैं भाग दिने गर्दछन् । चामल, तरकारी, मरमसला दक्षिणा सहित उनलाई नवदुर्गालाई चढाइएको प्रसाद स्वरुप मासु र शाकाहारीहरुले मिठाई दिएर पठाउँछन् । दशैंमा संकलित दशैं भागले उनको परिवारलाई दशैंको गर्जो मज्जाले टर्छ ।“ जोगाएर राख्ने हो भने त ६ महिनाकै लागि मालसामान जुटेको हुन्छ ,तर आफुले मात्र खाएर पर्व रमाइलो हुन्न,” उनले भने ,“ छोरी चेलीलाई पनि कोशेली पठाउने गर्छु , उनीहरुको हाँसोले त बल्ल चाड मनाउँदा रमाइलो लाग्छ ।”
परियार नौमती समुहमा पनि आवद्ध छन् । दशैंका बेलामा दमाहा बजाउन बाहेक उनी विवाह, व्रतवन्ध जस्ता शुभकार्यमा नौमती बजाउँछन् । १० जनाको समुहले नरसिंहा,सनई, दमाहा, ट्याम्को र ढोलक बजाई जजमानहरुका घरमा शुभकार्यको थालनी गर्नेगर्दछन् । १५ देखि २५ हजारसम्म शुल्क लिएर उनीहरु नौमती बजाउँछन् ।
सानोमा बुवा शम्शेर परियारको पछि पछि हिँडेर दमाहा बजाउने कला सिकेका उनले आफ्नो परम्परागत पेशालाई नै धर्म माने र निरन्तरता दिए । तिन दाजुभाई मध्य जेठा डम्मरबहादुरका दुई भाई भने दमाहा बजाएर हिँड्दैनन् । उनकै छोरा २५ वर्षका ठाकुर परियार पनि दमाहा बजाउन मान्दैनन् । “जाँउ हिड भन्यो मान्दैन,” परियारले भने ,“आजकलका ठिटो लाज लाग्छ भन्छन् । ” उनका छोराले समयानुकुल नयाँ पेशा अपनाएकाछन् । ठाकुर रेडीयो टिभी मर्मत तथा इलेक्ट्रोनिक्सको काम गर्छन् । जीवन गुजारा गर्न सँधैभरी खर्चको जोहो हुने काम गर्न जरुरी पनि रहेको उनले बताए ।
परम्परा जगेर्नामा स्थानिय वासीले चासो कम दिने र सामाजिक विभेदका कारण युवा पुस्तामा दमाहा बजाउने लगाव कम हुँदै जाँदा दमाहा संस्कृति हराउन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । पछिल्लो समय नौमती तथा पञ्चै बाजा जर्गेनाका लागि भन्दै कालिका एफएमले आयोजना गर्दै आएको कार्यक्रमले आफुहरुलाई हौसला मिलेको उनले बताए । परम्परा जर्गेनाका लागि समाज पनि उदार हुन आवश्यक रहेको उनले बताए । “हाम्रा युवालाई प्रोत्साहन गर्न जजमानहरुका युवा पनि लाग्नुपर्छ अनि मात्र हौसला मिल्छ ” उनले भने ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट