धनराज गिरी
उपन्यास पढ्नु भनेको समाजभित्र प्रवेश गर्नु हो । आख्यानभित्र समाजकै चित्र उतार्ने कोसिस गर्दछ उपन्यासकार । ‘नया“ पुस्ताका लागि मात्र’ भन्ने ट्याग पाएका यतिखेरका बहुचर्चित सफल आख्यानकारहरु हुन अश्विनी कोइराला र सुविन भट्टराई । यी दुवै ‘बेस्ट सेलर’ हुन् नेपाली पाठक बजारमा ।
‘लेखेर बा“च्न सकिन्छ’ भन्ने मान्यता स्थापित गर्न गाह्रो छ । अपवादमा केही नया“ युवाहरु आएका छन् । मैले ‘प्रिय सुफी’ दुई थान किनें । भर्खर साहित्यमा रुचि राख्ने क्याम्पसका केही छात्रछात्राहरुले पनि ‘सुविन प्रोडक्ट’ खोजे । पढ्न चाहनेलाई पुस्तक उपलब्ध गराउने बानी बसेको धेरै भयो, आफ्नै खल्ती शहीद भएपनि । एउटा किताब चेली विनिता घिमिरेलाई पढ्न दिएँ । अर्को किताब लिएर पढ्न बसें । पहिला म लेखकीय मन्तव्य पढ्दछु । सुविनको अभिव्यक्तिले किताब पढ्न उत्सुक बनायो । पढ्न सुरु गरें । ‘आत्महत्या’ यही शब्दले मन बिथोल्यो । धेरै मानिसको जीवनमा यस्तो अवस्था आएको हुन्छ । मैले पनि यो अवस्थालाई नजिकबाट स्पर्श गरेको छु । घरभित्र पनि र घर बाहिर पनि । मानिसले जब मनोबल गुमाउँछ र आश्रयहीन पाउँछ आफूलाई तब सन्सार त्याग्ने निर्णयमा पुग्दछ ‘उनात्महन्ता’हरु प्रति मेरो मनमा कहिल्यै पनि सहानुभूति पलाएन । जीवन ज्यूनुपर्दछ, हलाहल भएपनि पिउनुपर्दछ । ‘बाँचुञ्जेल मर्नुहुन्न’ मेरो जीवनसुत्र यही हो । अब पसौं ‘प्रिय सुफी भित्र’ ।
वीरगञ्जबाट काठमाडौं फर्किन खोजेकी एउटी युवतीको पहिलो सवारीको साधन बिग्रिन्छ । दोस्रोमा, कतैबाट व्यवस्थामा मिलाएर, फर्किने क्रममा साधनभित्र तीन प्राणी फेला पार्छिन् । ती हुन्ः आमा, बाउ र प्रेमरोगी छोरा ।
टायम पासका लागि गफिन खोज्छिन् युवती । त्यति राम्रो ‘रेस्पोन्स’ पाउँदिनन् । ‘मान न मानमै तेरा मेहमान’ मान्छिन् । बाउको रुखो व्यवहार र आमाको प्रतिरक्षाले कहानी अगाडि बढ्दछ । छोरो प्रेममा धोका पाएर आत्महत्या गर्न विष सेवन गरेको हुन्छ, मर्दैन । उपचारार्थ राजधानी लगिंदै हुन्छ । अनि अनुमति लिएर युवती एउटा कथा सुनाउन थाल्छिन् । सदा र सार्थक, कथाका ‘पात्रा’ र पात्र । सदा एम.एस.सी.की छात्रा, सार्थक सहपाठी । मनमनै ‘दिवानी’ हुन्छे सदा सार्थकको अक्सर वास्तविक जीवनमा अपवादबाहेक, केटीपक्षबाट प्रेम प्रस्ताव कम आउँछ । पहल गर्ने केटाले नै हो । हतार पुरुषलाई नै हुन्छ । तर, यहाँ कथा अलि उल्टो छ । सार्थकप्रति मोहित भएपनि सदाले त्यो कुरा प्रकट गर्दिनन् ।
साथीहरुको माझमा खुस्काए पनि सार्थकको सामुन्ने अभिनय गर्न सफल हुन्छिन् । सार्थक नजिक आउँछ । बोलीचाली हुन थाल्छ । अनि प्रेमको नाम तीनवटा परीक्षाबाट गुज्रिन्छ सार्थक । प्रेम प्रकट भएतापनि सीमारेखा पार गरेका छैनन् ।
सुविनले पूरै उपन्यासभरि शालीन प्रेमकथा लेखेका छन् । एउटा सकारात्मक पक्ष यो पनि हो । अचानक कथामा ‘सुफी’ को प्रवेश हुन्छ । सदाकी बैनी ‘सुफी’ हरेक कुरामा अब्बल । ‘इष्र्या’ को चरमोत्कर्ष छ कथामा । बैनीप्रति यति धेरै रुखोछिन् सदा कि सारै अस्वाभाविक लाग्दछ । तर, सुफीलाई साच्ची नै ‘प्रिय’ बनाइएको छ, ‘आदर्श चरित्र–कल्पनातीत’ । सुफीको प्रवेशपछि कथाले नयाँ मोड लिन्छ–सदा बिरामी हुन्छिन् । उता आमाको मृत्यु हुन्छ । भाष्कर कानून व्यवसायी । छोरीहरुमा पुरै ध्यान दिन्छन् र दोस्रो विवाहको कल्पना पनि गर्दैनन् । सदाको रोग बल्झिदै जान्छ, बल्झिदैं जान्छ, निको भएर पनि निको हुन्न ।

सार्थकले आफ्नो प्रेमलाई दिनुपर्ने समय दिन्छ र बेला–बेलामा आफ्नो भित्री अनुहार देखाउँछ पनि । सदालाई पढाइको पिरलो । हरेकतिरबाट ठगिएकी सदालाई सार्थकले पनि ठग्छ, अर्थात सार्थकले आफूलाई माया गर्न थाल्दछ, ऊ प्रेममा शहीद हुँदैन । ‘सती’ जाने कुरा पनि आएन । सार्थक देवता बन्दैन र होइन राक्षस पनि । साथ नदिएको होइन । ‘आज’ मा बाँच्ने सार्थकले त्यही ग¥यो जुन सामान्य मानिसले गर्दछ । सदाको रोग र उनले दुःख पाएको कथाा लम्ब्याएर सुविनले फगत किताब मोटो बनाउने काम गरेका छन् ।
हुन त यो उनको बेग्दै सोच होला । यहाँनेर पाठकले ‘बोर’ मान्ने सम्भावना हुन्छ । उपाय नास्तिको बिन्दुमा पुगेपछि बैनीलाई एउटा पत्र लेखेर आत्महत्या गर्ने निर्णयमा पुग्छिन् सदा । तर…डा. अरुणकुमार गुप्ता…यही नामले उनलाई यमलोकबाट फर्काउँछ र उपचार नै गलत भएपछि सञ्चो हुने कुरै आएन । २०७२ सालमा हाम्रो परिवारले पनि यस्तै भोगेको हो । बाँचिन् सदा । सार्थकप्रतिको ‘चाहत’ शून्यमा झर्छ र बैनीप्रतिको ‘घृणा’ अलप भएर बैनीकै प्रेरणामा उपन्यासकार बन्छिन् सदा, त्यो पनि बेस्ट सेलर । यही हो चुरो, कथाको ।
सम्वाद लेखन, सुविन माहिर छन् । आखिर कल्पना हो, फिल्मी लाग्छ नै । दुनियाँमा कतै पनि नघट्ने घटना होइन यो । सबै भन्दा सुन्दरपक्ष यसमा ‘जीवन’ छ । संघर्ष त कसको जीवनमा हुँदैन र ? उपेक्षाको शिकार को हुँदैन र ? समाजभित्रका केही नारी पात्रहरुको ‘कुरौटे’ र ‘मन्थरा’ प्रकृतिलाई पनि उजागर गरेका छन् । अति नारीवादीहरुले उनलाई सामाजिक सञ्जालमा अत्याउन बेर छैन । अस्पताल मात्र होइन, राष्ट्रिय, जीवनको हरेक ठाउँमा कमजोरी छ नेपालमा । आफ्नो जीवनको अनुभवलाई सीप पु¥याएर प्रस्तुत गरेका छन् सुविनले ।
यस्तो लाग्दैन कि सुविन एकदम युवा लेखक हुन् । प्रौढ र माझिएको भाषा छ र सम्वादमा रमाउँछ पाठक । यो एउटा ६१ वर्षको प्रौढको समीक्षा हो । किताब पढ्दा मैले पनि आफूलाई २५÷२६ कै युवा कल्पना गरें । साधारणतया, म उपन्यास पढ्न थालेपछि आउने घटनाहरु अनुमान गर्न थाल्दछु र ‘अब यस्तो होला, उस्तो होला’ भनेर फिल्मी शैलीमा आफैं कथा बुन्न थाल्दछु ।
यसमा पनि ‘सुफी’ असाध्यै राम्री र देवी जस्ती दिदी बिरामी भएकीले सार्थक र सुफीको यो मुटु साटिन्छ कि भनेको मेरो अनुमानले हावा खायो । ‘सुफी’ एक मर्यादित र अनुशासित ‘नेपाली छोरी’ प्रमाणित भइन् । अर्को अनुमान, गाडीमा कथा भन्ने युवती ‘सदा’ नै हो झैं लागेको थियो, त्यो पनि हावा खायो । भन्नाले सुविनले आफ्नो कल्पनाशीलतालाई राम्रैसित निचोरेर प्रयोग गरेका छन्, यसमा । ‘बेकार किनिएछ किताब’ पटक्कै हुन्न ।
कथा भ्याइन्छ, युवती बिदा माग्छिन् । बिरामी केटो सहज अवस्थामा आइपुग्दछ । बिदा माग्ने बेलामा युवतीले एउटा किताब उपहार दिन्छिन्–सदा क्षेत्री सर्जक । अरे, ‘नानी, परिचय गर्नै बिर्सिएछ’ केटाको बाउ । ‘म सुफी, सुफी क्षेत्री ।’ युवतीको उत्तरले चालक लगायत सबैको मनमा छुट्टै तरङ उत्पन्न गराउँछ ।
गज्जब कथा हो ‘प्रिय सुफी’ । परीक्षा, प्रेम र जीवन भोगाइका क्रममा अति अवसादका कारणले ‘आत्महत्या ’ जस्तो जघन्य अपराध गर्न विवश मानिसहरुका लागि यो किताब ‘अमृत’ बन्न सक्दछ । यो किताब हरेक अभिभावकले, गुरुले, डाक्टरले, सबैले पढ्नुपर्दछ । ‘प्रिय लेखक’लाई प्रिय पाठक’ले दिएको शब्दोपहार’ पनि माननीय छ । ‘फाइन प्रिन्ट’ अब्बल प्रकाशन गृहमा दर्ज भइसकेको छ ।
भतिज सुविन भट्टराईलाई हार्दिक बधाई । तिम्रो सबै किताबहरु अंग्रेजी र अन्य विदेशी भाषामा अनुदित भएर विश्व बजारमा पुग्नुपर्दछ । दामादश्री ‘अतिज बराल’लाई पनि विशेष बधाइ र आशीर्वाद । भारीजी, आभारी छु ।





