१२ महिनाको बाच्छीले दूध दिएपछि ……


खैरहनी,१६ असोज ।चितवन खैरहनी नगरपालिका शान्तिबजारमा १२ महिनाको बाच्छीले दूध दिन थालेको छ । खैरहनी नगरपालिका–१०, शान्तिबजार निवासी रामशरण दाहालको गोठमा पालिएको बाच्छीले अहिले डेढ लिटरसम्म दूध दिइरहेको छ ।
सानै उमेरमा बाच्छीले दूध दिन थालेपछि दाहाल परिवार मात्रै होइन अहिले गाउँले नै अचम्मित भएका छन् । करिब एक महिना अघिदेखि थुनबाट दूध बग्न थालेपनि गएको तीन दिनदेखि पशु चिकित्सकको सल्लाहमा दूध दुहुन थालिएको रामशरण दाहालले बताए ।
“बच्चा नै नजन्माई दूध आउन थालेपछि सबै चकित छौं”, दाहालले भने, “पशुपालन गरेको धेरै भयो, यस्तो घटना देखेको थिइनँ, आज आफ्नै गोठमा देख्दा अचम्मित छु ।” उनका अनुसार दूध दुहुदा बाच्छीले केही गर्दैन । पहिलो बेतको गाईको दूध दुहुदा लात्तीले हान्ने, चल्ने गर्छ । “तर, यो बाच्छीले शान्तसँग दूध दिइरहेको छ”, दाहालले भने ।
बाच्छीले दिएको दूध सफा देखिन्छ । पशु चिकित्सकले बाच्छीले दिएको दूध उपभोग गर्न मिल्ने बताएको दाहालले जानकारी दिए । बर नलिएको, कृत्रिम गर्भाधान नगरेको बाच्छीले दूध दिन थालेपछि दाहालको गोठमा बाच्छी हेर्न आउनेको भीड लाग्ने गरेको छ । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक चेतनारायण खरेलले यस्ता घटना एकाध हुने बताउँछन् । उनका अनुसार दूध दिने र बच्चा जन्माउने हर्मोनको खेल हुने भएकाले यस्ता घटना असामान्य हुँदैन । मस्तिष्कको फेदमा हुने ग्रन्थीबाट हर्मोन रस ओभरीमा गएर जम्मा हुँदा दूध उत्पादन हुने उनले बताए । बाच्छीले दिएको दूध खानयोग्य हुने भएपनि एकपटक जाँच गर्न उनको सुझाव छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट