जेष्ठ नागरीकको एउटै स्वर घरघरमै भत्ता पाइयोस्

धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,१६ असोज ।रत्ननगर–१४, पिठुवाका ८४ वर्षीय मोतीलाल धमला सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लाईन बस्नुपर्दाको पीडा सम्झन्छन् । लाइन बसेर पनि कहिलेकाँही दुई÷तीन दिनमा भत्ता पाउने गरेको उनी बताउँछन् ।
रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार आयोजना गरेको ज्येष्ठ नागरिक अभियन्ता सम्मान कार्यक्रममा उपस्थित धमलाले धेरे दुःख पोखे । “नगरपालिकाले सहजरुपमा भत्ता पाउने वातावरण मिलाओस्”, उनले भने, “बैंकमा लाइन बस्नुपर्दाको पीडा साह्रै व्यहोर्यौं । घरघरमा भत्ता पाउँदा राहत पाइन्थ्यो, नत्र वडा कार्यालयले नै वाड्दा नि खुसी हुन्छौं ।”

धमला ज्येष्ठ नागरिक समन्वय समिति रत्ननगरका कोषाध्यक्षसमेत हुन् । धमलासहित समन्वय समितिका अध्यक्ष गोकुलदास श्रेष्ठ ज्येष्ठ नागरिकको परिचयपत्र बनाउनेदेखि भत्ता सहजताका लागि खटिरहेका छन् । हुने खानेले त खालान् । तर, भत्ताकै भरमा बाँच्नुपर्ने अवस्थाका धेरै वृद्धवृद्धा रहेकाले सहजताका लागि नगरपालिकाले छिट्टै पहल गर्नु पर्ने धमलाको सुझाव छ ।
रत्ननगर–१० का बैकुण्ठनाथ लम्साल वडा कार्यालयमार्फत भत्ता वितरण भए धेरै राहत पुग्ने बताउँछन् । “घामपानी नभनी बैंकमा लाईन बस्नुपर्छ”, लम्साल भन्छन्, “घर–घरमा भत्ता पु¥याउन नसकेपनि वडाबाट पाउने व्यवस्था गरियोस् ।” वृद्धवृद्धाका लागि घरघरै उपचार सेवा गराउँदै आएको रत्ननगर नगरपालिकाले सहज भत्ता वितरणको योजना बनाएको जनाएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सामाजिक सुरक्षा भत्ता घरघरै पु¥याउने तयारी भएको बताए । “वृद्धवृद्धाले सहजरुपमा भत्ता नपाएको गुनासा आउने गरेका छन्”, नगर प्रमुख वनले भने, “वृद्धवृद्धाकै समस्यालाई मध्यनजर गर्दै घरघरमै भत्ता पु¥याउने तयारीमा छौं ।” रत्ननगर नगरपालिकाले यसअघि घरघरै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित निःशुल्क औषधि वितरणको कार्यक्रम सञ्चालन गरिसकेको छ ।
यसैबीच रत्ननगर नगरपालिकाले २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा नगरका दुई जना ज्येष्ठ नागरिक अभियन्तालाई सम्मान गरेको छ । नगरभित्रै रहेको सवैभन्दा बढी उमेर भएका एक वृद्ध र एक वृद्धालाई सम्मानसँगै उनीहरुको अनुभव आदानप्रदान गर्दै नगरपालिकाले दिवस मनाएको हो ।
रत्ननगर नगरपालिका महिला तथा वालवालिका शाखाले आयोजना गरेको सो कार्यक्रममा एक सय ११ वर्षीया गंगादेवी भट्टराई र १ सय ३ वर्षीय देवीप्रसाद घिमिरेलाई नगर प्रमुख नारायण वनले दोसल्ला ओढाइ सम्मान गरेका थिए । सहभागी अन्य करिब ५० जना वृद्धवृद्धालाई खाजा खुवाइएको थियो । सो अवसरमा नगर प्रमुख वनले ज्येष्ठ नागरिकका अनुभवलाई नयाँ पिंढीले शिक्षाको रुपमा लिनुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट