भरतपुर,१६ असोज ।आगामी असोज २१ गते भरतपुरमा खुला एथलेटिक्स प्रतियोगिता गरिने भएको छ । चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा महिला र पुरुषबीच एथलेटिक्सका विभिन्न ४ विधामा खुला प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
२१ गते बिहान ७ बजे आँपटारीबाट केन्द्रीय बसपार्कसम्म पुरुष ५ किलोमिटर र महिला ३ किलोमिटर दौड आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिए ।
यस विधामा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रोेले ५ हजार नगद पुरस्कार पाउने छन् । सोही दिन दिउँसो गेष्टहाउस चउरमा लङजम्प, १०० मिटर दौड र सटपुट गरिने अध्यक्ष मगरले जानकारी दिए । उक्त तीन विधाका पहिलो हुनेलाई ५ हजार, दोस्रो हुनेलाई ५ हजार, तेस्रो हुनेले ३ हजार र सान्त्वना हुनेले २ हजार नगद पुरस्कार पाउने छन् ।





