विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१४ असोज ।पर्यटक भित्र्याउन माडी नगर क्षेत्रमा होमस्टे (घरबास) थप्ने क्रम बढेको छ । बोटे, थारु र मगर बस्तीमा होमस्टे निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु भएको छ । पर्या–पर्यटन, धार्मिक पर्यटनको गन्तव्य मानिएपनि माडीमा पर्यटक चहलपहल नगण्य छ ।
“यो वर्ष १ हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ”, माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भने, “प्रशस्तै गन्तव्य छन्, तर उचित बासको अभावमा पर्यटक आउँदैनन्, त्यसैले होमस्टे अवधारणालाई अभियानका रुपमा अघि बढाउँदै छौँ ।” माडी–८ शिवद्वारामा ०७२ पुस देखि ११ वटा होमस्टे सञ्चालनमा छन् । ३ वर्षको अवधिमा यी होमस्टेमा स्वदेशी तथा विदेशी ८ हजार पर्यटक बास बसेका छन् । “आदीवासी जनजातिको संस्कृति जर्गेना गर्दै आयआर्जन बढाउन होमस्टे थप्न लागेका हौँ”, मेयर ढकालले भने, “माघभित्र करिव ३५ वटा नयाँ होमस्टे थपिनेछन् ।” नगरपालिकाले अन्य संघसंस्थासँग सहकार्य गरेर होमस्टे निर्माणमा सहयोग गर्ने तयारी गरेको बताए ।
माडी–१ बनकट्टटा र पाण्डवनगरमा २२ वटा बोटे समुदायमा होमस्टे निर्माण गर्न सम्भाव्यता अध्ययनको काम पुरा भएको छ । करिव १३ लाख लागतमा निर्माण हुने प्रत्येक होमस्टेको छानामा जस्ता र खरले छाइनेछ । यो क्षेत्रमा धार्मिक पर्यटकीय गन्तव्य गोद्धक क्षेत्र पर्छ । “बोटे संस्कृति झल्काउने गरी होमस्टेका संरचना बनाइनेछ”, नेपाल बोटे समाजका केन्द्रीय सदस्य जगनारायण बोटेले भने, “हाम्रो संस्कृतिनै लोप हुने खतरामा छ, होमस्टे सञ्चालनमा आएपछि जर्गेना हुन्छ भन्ने विश्वास छ ।” उनी माडी–१ बनकट्टटाका स्थानीय हुन् । “बोटे समुदायका अगुवाको भेला डाकेर संस्कृतिबारे थप जानकारी लिनेछौँ”, उनले भने, “पर्यटकलाई मौलिक सांस्कृतिक कार्यक्रम देखाउने तयारीमै छौँ ।”

बोटे बस्ती प्राय वन तथा नदी आसपासमा हुन्छन् । माछा मार्ने पुख्र्यौली पेशा हो । बनकट्टटा, पाण्डवनगरमा करिव २ सय घरधुरी छ । “माडी प्रवेशद्वारमै बन्ने होमस्टेले बोटे समुदायलाई जीविकोपार्जनमा पनि सघाउनेछ”, उनले भने, “सहयोग जुटेमा होमस्टे सञ्चालन गर्न स्थानीय तयार भैबसेका छन् ।” माडी नगरपालिका र छिमेक विकास बैंकले ५०÷५० प्रतिशत लगानी गरेर होमस्टे बनाउने तयारी भैरहेको छ । माडी–ठोरी सडक अन्र्तगतको सेरुवाचोकबाट करिव १ किमि पश्चिमतर्फ होमस्टे बनाउन लागिएको हो ।
माडीमा थारु समुदायको बाहुल्यता छ । माडी–३ बघौडामा १६ वटा होमस्टे बनाउन स्थानीय सक्रिय बनेका छन् । माडी सामुदायीक होमस्टे समितिनै निर्माण गरेर स्थानीय जुटेका छन् । “भवन हामीनै बनाउँछौँ, सजावट लगायत अन्य पूर्वाधार नगरपालिकाले सहयोग गर्ने वचन दिएको छ”, निर्माण समितिका संयोजक ओमप्रकाश महतोले भने, “एक हप्ताभित्र होमस्टे निर्माणको काम सुरु हुनेछ, माघदेखि सञ्चालनमा आउनेछ ।” उनका अनुसार झमटा, लट्ठी नाच, झुम्रा, होली नाच देखाउन कलाकार तयार अवस्थामा रहेको बताए । “पर्यटकलाई थारु संस्कृतिबारे बुझ्दै रमाउन सहयोग पुग्नेछ”, उनले भने, “नजिककैका पर्यटकीय गन्तव्य घुम्ने व्यवस्था पनि मिलाइनेछ ।” माडी–९ राइटोलमा १५ वटा होमस्टे निर्माण गर्ने तयारी समेत गरिएको छ ।
सौराहा,जगतपुर, पटिहानी, मेघौलीसँग नजिकै रहेको माडीमा पर्यटकीय गन्तव्य धेरै छन्, तर ओझेलमा परेको छ । गोद्धक, परशुराम कुण्ड, पाण्डवनगर, सोमेश्वर, वाल्मीकि आश्रम, बैकुण्ठेश्वरधाम, महादेव मन्दिर, सीता गुफा, विक्रम बाबा लगायत धार्मिक महत्व बोकेका पर्यटकीय स्थल छन् । माडीको पूर्वमा पर्सा, उत्तर र पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणतर्फ भारतको विहार पर्छ । “प्रशस्तै पर्यटकीय गन्तव्य भएरपनि माडी ओझेलमा प¥यो”, माडी पर्यटन समितिका सचिव गोविन्द न्यौपानले भने, “गन्तव्य चिनाउन होमस्टेले भूमिका खेल्नेछन्, स्थानीय संस्कृतिले पर्यटक आर्कषित हुनेछन् ।” उनले माडीमा ठुलो लगानीमा होटल तथा रिसोर्ट नखुलेकाले पर्यटकको रोजाईमा नपरेकाले होमस्टे अवधारणाले मद्धत गर्ने बताए । “होमस्टेमा पर्यटक आउन थालेपछि ठुला होटल, रिसोर्ट खुल्ने अपेक्षा गरेका छौँ”, उनले भने, “माडी पर्यटनको हब बन्नेछ, पहल गरिरहेका छौँ ।”
होमस्टे सञ्चालनका लागि स्थानीयलाई विभिन्न क्षेत्रका होमस्टेको स्थलगत अवलोकन समेत गराइसकेको बताए । नवलपुरको अमलटारीमा रहेको नमूना होमस्टे, देवचुली नगरपालिकामा रहेको पिपरा र बरौली होमस्टे तथा कावासोतीको अमलटारी होमस्टेको भ्रमण गराइएको छ । माडीको नगरसभाले होमस्टे बनाउन करिव ७० लाख छुट्टाएको छ । होमस्टे मौलिक खाना, पारिवारिक वातावरणमा पाहुनालाई राख्न दिइने आवासीय सुविधाको पर्यटन व्यवसाय हो । शिवद्वारमा होमस्टे सञ्चालनमा आएपछि तीन वर्ष यता माडीमा पर्यटकको चहलपहल बढ्न थालेको छ । सोरठी, सालेजु, चुड्का, ठाडो भाका प्रदर्शन गरेर पर्यटकलाई मनोरञ्जन दिन्छन् । होमस्टे निर्माण गर्न चाहनेलाई नगरपालिकाले ४ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने योजना सारेको छ । होमस्टेमा चाहिने कुर्सी, पलङ, बिछयौना लगायतका सामान नगरपालिकाले दिने तयारी गरेको छ ।
यस्तै होमस्टे निर्माण हुने क्षेत्रका सडक स्तरोन्नती गर्ने, सांस्कृतिक भवन निर्माणमा सहयोग गर्ने योजना सारेर स्थानीयलाई जागरुक बनाइएको छ । शिवद्वारमा मगर समुदायले सञ्चालन गरेको होमस्टेमा बस्नका लागि विदेशी पर्यटक समूहले बुकिङ गरेका छन् । माडीमै केन्द्रित प्याकेजसहित चार महिनाका लागि १४ वटा समूहले बुकिङ गरेका छन् । वाल्मीकि आश्रम जाने पर्यटक वा सौराहा जाने पर्यटकलाई माडीका अन्य गन्तव्य जान प्रेरित गर्ने गरी पर्यटन प्रर्वद्धनका काम सुरु भएका छन् ।





