
भरतपुर,१३ असोज ।महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध चितवनका सरोकारवालाहरु एकजुट हुने भएका छन् । पछिल्लो समय देशमा बढदै गईरहेको हिंसासम्बन्धी सचेतना जगाउन सम्भावित हिंसाग्रस्त क्षेत्रमा सचेतना सहित पुग्न लागेका हुन् ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले कुनै पनि किसिमको हत्या हिंसा महानगरालाई सह्य नहुने बताएकी छिन् । देशमा नयाँ व्यवस्था सुरु भएपनि यस्ता घटना घटदै जानु दुखद भएको बताउनुभयो । भरतपुर महानगरपालिका गम्भिर भएर अभियानमा जुट्ने दाहालको भनाइ छ । चितवनमा पनि महिला हिंसा र जबरजस्ती करणी सम्बन्धि घटनाहरु बाहिर आइरहेका छन् । “बढदो घटनालाई न्यूनिकरण गर्न अभियान नै चलाउन लागेका हौँ”, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुशिल सिंह राठौरले भने ।अभियानलाई स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा गाउँ गाउँमा पु¥याइने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, भरतपुर महानगरपालिका, महिला अधिकारीकर्र्मी, टोल सुधार समिति तथा नागरिक अगुवाहरुको अगुवाईमा विद्यालय स्तरमा पनि सचेतनामुलक कक्षाहरु संचालन हुनेछन् । विद्यालयबाटै अभियान चलाए सचेतनाले सार्थकता पाउने महिला अधिकारकर्मी मिना खरेलले बताइन् । विद्यालयबाट घर घर र घरबाट ब्यक्ति व्यक्तिसम्म सन्देश प्रवाह गर्न सके यस्ता घटनाहरुमा न्युनिकरण आउने दाबी गरिन् । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गृहमन्त्रालयले बढ्दो बलत्कार र यौनहिंसाको विषयमा चितवन लगाएत देशभर यस्तो कार्यक्रम संचालन गर्न लागिएको जानकारी दिए । अभियान सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय चितवनको नेतृत्वमा विभिन्न कार्यदल निमार्ण गरिएको छ । अभियानमा सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै सचेतना फैल्याउन सके कार्यक्रम प्रभावकारी बन्ने प्रहरीको बुझाई छ ।




