रत्ननगर,११ असोज ।फरक क्षमता भएका व्यक्तिलाई रत्ननगरमा ह्वील चियर वितरण गरिएको छ । नेपाल जनसम्र्पक समिति अष्ट्रेलिया राष्ट्रिय समन्वय समितिको आर्थिक सहयोगमा उज्यालो नेपाल चितवनले १० जनालाई बुधबार ह्वील चियर वितरण गरेको हो ।
फरक क्षमता भएका शुकराम दराई, सन्तबहादुर तामाङ, शोभानाथ गौतम, डिलकुमारी श्रेष्ठ, विष्णु चौधरी, रमादेवी अर्याल, आइसा महतो, गोपाल सुवेदी, रामकृष्ण अधिकारी र नारायण बराललाई ह्वील चियर वितरण गरिएको उज्यालो नेपाल चितवनका पूर्वसचिव रुपनराज घिमिरेले जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाको प्रमुख आतिथ्यतामा ह्वील चियर वितरण गरिएको थियो । सो अवसरमा बोल्दै कांग्रेस महामन्त्री कोईरालाले आफुलाई पीडा हुदा हुदै अरुलाई सहयोग गर्नु महादान हुने बताए । समाजका रहेका फरक क्षमता भएका व्यक्तिलाई हेयको दृष्टिकोणले हेर्न नहुने भन्दै उनले समान व्यवहार गर्नु पर्नेमा जोड दिए । ह्वील चियर वितरण कार्यक्रम उज्यालो नेपाल चितवनका अध्यक्ष सविन बरालको अध्यक्षतामा भएको थियो ।





