परिचय
पहाडी प्रतिभा । नेपालको पूर्वी पहाड ओखलढुंगा, रुम्जाटार । त्यतिखेर यसलाई पूर्व ३ नम्बर, चिसंखु भनिन्थ्यो । यहाँ रुम्जाटारमा गुरुङहरूको ठूलो बस्ती थियो । अहिले पनि छ ।
यही रुम्जाटारको काफलबोटमा वि.सं. १९५६ मा एक मधुर स्वरकी धनी, रूप–सौन्दर्यकी खानी, एक अनुपम प्रतिभा जन्मिइन् – मेलादेवी गुरुङ । त्यतिखेर उनको नाम थियो, सुनमाया गुरुङ ।
सानैदेखि उनमा गीत गाउने रुचि थियो । गाउँलेहरूले उनको प्रतिभा चिनेर उनलाई दरबार पठाए । उनी चन्द्रशमशेरको दरबारमा ’तालिमे’का रूपमा भर्ना भइन् । तालिमेदेखि ‘ठुमरीकी रानी’ सम्मको यात्रा उनले त्यही दरबारमा सुरु गरिन् । पाँच वर्षसम्म उनले त्यहाँ कठोर तालिम लिइन् ।
त्यसपछि उनी संगीतमा उच्च स्थानमा पुगिन् । पाल्कीमा चढेर विभिन्न दरबारहरूमा गीत गाउन जान थालिन् । दरबारका जल्साहरू मेलादेवीबिना अधुरा हुन्थे । रुम्जाटारबाट आएकी सुनमाया दरबारमा पुगेर संगीतको शिखर छुन सफल भइन् ।
तर दरबारले उनलाई संरक्षण दिन सकेन । उनी त्यहाँ तड्पिइन् । दरबारले उनको स्वरलाई कुल्चन खोज्यो । धेरै सङ्घर्षपछि उनी दरबार छोडेर निस्किइन् ।
चन्द्रशमशेरले पुरस्कार स्वरूप दिएको विजयश्वरीको घरमा उनी आमा शब्ददेवीसँग बस्न थालिन् । यही समयमा दरबारमै परिचित भएका भगतकृष्ण मानन्धरसँग उनको विवाह भयो । दुई छोरी जन्मिए । तर नेवार संस्कृति र जेठी सौताको कारण उनी त्यहाँ रम्न सकिनन् । दुई छोरी लिएर उनी फेरि विजयश्वरी फर्किइन् ।
वि.सं. १९९० को भूकम्पपछि दरबारमा सत्ता फेरियो । मेलादेवीको सम्पर्क विद्रोही शास्त्री परिवारसँग भएकोले दरबारलाई त्यो मन परेन । उनलाई खेदियो । उनको स्वर दबाइयो ।
मातृभूमि छोड्दाको पीडा
९० सालतिर मेलादेवीले मातृभूमि छोडिन् । दुई छोरी लिएर उनी कलकत्ता लागिन् । “सवारी मेरो रेलैमा” भनेर उनले गीत रेकर्ड गरिन् । “बिरानो देशमा म मरी जाउँला, रोइदिने कोही छैन” भनेर बिरह गाइन् । “झन् पर जान्छु झन् माया लाग्छ, मोहनी लायो कि” भनेर मातृभूमिलाई सम्झिन् । “मुखै कालो भएको पेटै कालो भएको निष्ठुरी भमरा” भनेर आफूलाई दुःख दिनेलाई कोसेकी । “परन्तुसम्म नहुने भए के गर्नु पिरती” भनेर प्रेमको चिरस्थायित्वको बोध गरिन् । पीडा बोकेर उनले मातृभूमि छोडिन् ।
सङ्घर्षको मैदान : कलकत्ता
मेलादेवी कलकत्ता पुगिन् । धेरै हन्डर खाइन् । रोजगारी थिएन । दुई छोरीलाई खुवाउने, पढाउने, हुर्काउने जिम्मेवारी एक्लैको काँधमा आयो ।
बल्लतल्ल बंगाल रेडियोका निर्देशक, संगीतज्ञ पंकज मल्लिकको सिफारिसमा उनले मारवाडी बालिका विद्यालयमा संगीत शिक्षिकाको काम पाइन् । तर बारम्बार डेरा सर्नुपर्यो । हुलदंगा व्यहोर्नुपर्यो ।
कलकत्ताका ठूला संगीतज्ञ र नाम चलेका गायकहरूसँग पहाडकी एउटी प्रतिभाले प्रतिस्पर्धा गर्नुपर्यो । विद्यालयका बालिकालाई संगीत सिकाउने, आफ्ना छोरीलाई स्कुल पढाउने – दोहोरो दायित्व । तर उनी हारिनन् । एकपछि अर्को सङ्घर्षमा विजय पाइन् । वीर नेपाली नारी भएर उनी कलकत्तामा लडिरहिन् ।
त्यहाँ उनको प्रतिभाको कदर भयो । ठूला–ठूला संगीत कार्यक्रममा निम्ता आउन थाल्यो । उनले रायगढ र इलाहाबादको संगीत सम्मेलनमा स्वर्ण पदक पाइन् । जनताले उनलाई ‘ठुमरीकी रानी’ को उपाधि दिए । उनले माया, सम्मान र आदर पाइन् । उनले बालिका विद्यालयको मात्र होइन, कलकत्ताको मात्र होइन, भारतको र नेपाली चेली भएकोले नेपालको इज्जत राखिन् ।
असंवेदनशील नेपाली शासक
पहाडमा जन्मिएकी नेपाली चेलीले भारतमा यत्रो सम्मान पाउँदा पनि नेपाली शासकहरू कानमा तेल हालेर बसे । आँखा चिम्लेर बसे । राणाहरूले सम्झेनन् । राणापछिको प्रजातान्त्रिक सरकारले पनि सम्झेन । नेपालका शासकहरूले मेलादेवीको प्रतिभालाई कुल्चने र दबाउने काम गरे ।
सिंहदरबारमा गुञ्जिएको स्वर जब रायगढको दरबारमा गुञ्जियो, पुरै भारत मुग्ध भयो । उनले ४ घण्टासम्म एउटै राग गाएर सुनाएकी थिइन् । भारतका ठूला व्यक्तिहरूले उनको प्रतिभा देखेर जिब्रो टोके । तर नेपालका शासकहरूले आफ्नै चेलीलाई सम्झन सकेनन् । माल पाएर चाल नपाउने हामी नेपाली !
उपसंहार
शास्त्रीय संगीतकी यति ठूलो प्रतिभालाई हामीले अहिलेसम्म कदर गर्न सकेका छैनौं । केही संस्थाले मेलादेवी महोत्सव मनाए पनि उनको जीवनी, व्यक्तित्व र कृतित्व सम्बन्धी तथ्यपरक, आधिकारिक र प्रमाणिक खोजअनुसन्धान हुन सकेको छैन ।
उनलाई हामीले राष्ट्रकै उन्नत स्तरमा आसीन गराउन सकेका छैनौं । मोहनीय स्थान दिन सकेका छैनौं ।
शासकहरू असंवेदनशील भए । हामी सांस्कृतिक जनता पनि उचित रूपमा संवेदनशील हुन सकेनौं । त्यसैले अब हाम्रो दायित्व हो – पहाडी प्रतिभा, हाम्री चेली, भारतमा यति ठूलो आदर पाएकी शास्त्रीय संगीतकी शिखर व्यक्तित्व मेलादेवीलाई सम्झने । उनमा गर्व गर्ने । मेलादेवीजस्तो शिखर प्रतिभा इतिहासमा कहिलेकाहीँ मात्र जन्मिन्छन् ।





