भरतपुर, १० असोज ।
लगातारको वर्षापछि नारायणी नदीको बहाव तीव्र रूपमा बढेको छ । शनिबार साँझसम्म नदीको पानीको सतह ८ दशमलव ९३ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
नारायणी बेसिन कार्यालय चितवनका अनुसार नदीमा ७ दशमलव ३० मिटरलाई सतर्कता तह र ९ मिटरलाई खतरा तह मानिन्छ । पछिल्लो मापनअनुसार नदीको सतह खतरा तहभन्दा केही सेन्टिमिटर मात्र तल रहेको छ ।
नदीको बहाव अझै बढिरहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको नारायणी बेसिन कार्यालय चितवनका प्रमुख सुमित अधिकारीले बताउनुभयो । कायाकैरनको स्थलगत रिपोर्ट अनुसार नारायणी नदीमा शनिबार बिहानभन्दा दिउँसोको समयमा जलसतह बढेको थियो र दिउँसोभन्दा अहिले साँझ जलसतह घट्दो क्रममा छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलले थप वर्षा भए नारायणी नदीले खतरा तह पार गर्न सक्ने बताउनुभयो । उहाँले नदी आसपासका बस्तीका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यान दिँदै सुरक्षित स्थानमा रहन आग्रह गर्नुभएको छ ।
हालसम्म नदीको पानी बस्तीमा पसिनसकेको भए पनि निरन्तर वर्षा भए ठूलो बाढी आउन सक्ने सुरक्षा निकायको आकलन छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको पौडेलले जानकारी दिनुभयो ।
नदी तटीय क्षेत्रमा सूचना प्रवाह, स्थानीयलाई सचेत गराउने तथा आवश्यक उद्धार सामग्री र जनशक्ति तयारी अवस्थामा राख्ने काम भइरहेको प्रहरीले जनाएको छ ।





