खैरहनी, ८ जेठ ।
खैरहनी-१ पर्सास्थित युनिक बचत तथा ॠण सहकारी संस्थाको सेवा केन्द्रले बिहिबार एक कार्यक्रमकाबिच खैरहनी-१ साईचोकमा रहेको श्री कृष्ण मन्दिरलाई ४३ ईन्चको एलसिडि हस्तान्तरण गरेको छ ।
कार्यक्रममा साकोसको पर्सा सेवा केन्द्रका संयोजक राममणि न्यौपाने र खैरहनी नगरपालिका वडा नम्वर-१ का वडा अध्यक्ष नवराज भुषालले मन्दिर व्यवस्थापन समितिलाई संयुक्त रुपमा सो सामग्री हस्तान्तरण गरेका हुन् ।
सो सेवा केन्द्रका संयोजक राममणि न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्वर-१ का वडा अध्यक्ष नवराज भुषाल प्रमुख अतिथिको रुपमा रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा रोटरी क्लव अफ पुर्वी चितवनका बर्ष २०२५/२६ का अध्यक्ष गुणबहादुर अर्याल(महेश)रहनुभएको थियो ।
कार्यक्रम शुभकामना मन्तव्य राख्दै सो सेवा केन्द्रका कोषाध्यक्ष केशवप्रसाद रिजालले विगत देखि नै समुदाय लक्षित विविध कार्यक्रम गर्दै आएको यस संस्थाले निरन्तरता दिने क्रममा सो मन्दिरमा भजन श्रवण गर्न आउने वृद्धवृद्धाहरु लगायत सम्पूर्णका लागि श्रव्य दृश्य सामग्री प्रदान गरिएको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि भुषालले मन्दिर केवल आस्थाको केन्द्र मात्रै नभएर समुदायको एकता र संस्कृतिको प्रतीक भएको बताउँदै यो सामग्री प्रदान सँगै सबैमा निरन्तर भेटघाट र अपनत्व कायम हुनेमा विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा सो सेवा केन्द्रका संयोजक न्यौपानेले विगत देखि नै विविध कार्यक्रम गर्दै आएको यस संस्थाले आवश्यक अनुसार आगामी दिनमा पनि सेवामुखी र जनमुखी काम गर्दै अघि बढ्ने बताउनुभयो ।साथै एलसिडि प्रदान गर्दै उनले भने,”यो श्रव्य दृश्य मार्फत प्रसारण हुने आध्यात्मिक सामग्रीले आम जनसमुदायमा सकारात्मक भाव पैदा भई जीवन नै परिवर्तन हुने सकेमा यो प्रयासले सार्थक रुप पाउने बताउनुभयो ।
त्यस्तै सोही दिन मन्दिर परिसरको सरसफाई समेत गरिएको छ ।
कार्यक्रममा श्रीकृष्ण मन्दिरका सचिव नारायण प्रसाद भट्टराईले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम सेवा केन्द्रकी कार्यालय प्रमुख श्रद्धा बगालेले संचालन गर्नुभएको थियो ।




