उदय अधिकारीको ‘प्रश्न´माथि दृष्टि दिँदा

नेपाली तथा अङ्ग्रेजी साहित्यको फाँटमा गहिरो अध्ययन गरी आफूले लेख्नभन्दा साहित्यकार र उनका कृति पढेर तिनका राम्रा तथा नराम्रा पक्ष केलाउँदै नराम्रो पक्षमाथि सकारात्मक सुझावसहित यथार्थ तारिफ गर्न प्रश्नात्मक शैलीमा रुचाउने यथार्थताका प्रयाय हुन् उदय अधिकारी । पछिल्लो तीनदशक यता आफ्नो कर्मलाई शिरमा राख्दै प्रेरणादायी व्यक्तित्वहरूको सङ्गत मात्र गरेनन् उनले । उनीहरुको जीवनका हरेक यात्रालाई पढेर आफ्नो मष्तिष्कको शब्दकोशमा सङ्गालेर साहित्यिक मालामा नौलो प्रयोग गरी कलात्मक शैलीमा उतार्न सक्ने प्रतिभावान् व्यक्तित्वको रुपमा उनी उभिए ।

कोही मानिस आफ्नो निजी स्वार्थका लागि लडिरहेको हुन्छ । आफ्नो पहिचानका लागि लडिरहेको हुन्छ तर उनी आफ्नोभन्दा अरुको पहिचानको रहस्य खोतलेर साहित्य, सङ्गीत तथा कलाको फाँटमा उतार्ने जमर्को गरेका छन् । त्यसैको उपज हो ६ जना मूर्धन्य साहित्यकारहरुको अन्तर्वार्ता सङ्गालो ‘प्रश्न ‘ ।

अङ्ग्रेजी विषयका प्राध्यापक उनले पूर्वीय तथा पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेको पाइन्छ । अनुकरणीय तथा मूर्धन्य व्यक्तित्वको जीवनशैलीदेखि साहित्यका हरेक विधा कविता, कथा, नाटक, उपन्यास, निबन्ध तथा व्यक्तित्व र कृतित्व सम्बन्धि हरेक लेख, रचना, कला, सङ्गीतको गहिरो अध्ययन गरेर केस्राकेस्रा केलाई अन्तर्वार्तात्मक शैलीमा उतार्नु उनको साहित्यिक कलामा आएको निखार प्रस्ट्याउँछ ‘प्रश्न’ माथि दृष्टि दिँदा । यसैलाई नै आधार बनाएर तिनै प्रश्नको उत्तरहरूलाई सारमा उतार्ने प्रयास गरिएको छ यहाँ ।

प्रश्नमा नेपाली साहित्याकाशमा आफ्नो छुट्टै पहिचान साहित्य, कला, सङ्गीत छर्न सफल बहुमुखी प्रतिभा भएका ६ जना व्यक्तित्व रहेका छन् ।

अभि सुवेदी :  विद्यालय, राजनीति, साहित्य, नाटक, चित्रकला, सङ्गीत, रङ्गमञ्च, कला, प्राध्यापक तथा प्रोफेसर, विश्लेषक तथा समालोचक सबै विधामा अब्बल बहुमुखी प्रतिभाका धनी रहेछन् अभि । उनले पहिलो पाठशाला, ज्ञानशाला अनि विश्वविद्यालय घर अनि पहिलो गुरू पनि आमा नै ठानेका छन् । आमाले सुनाएका रामायणका सिलोकबाट आफू अध्ययन र सङ्गीततर्फ  साधनारत रहेकाले पहिलो पाठशाला घर भनेका छन् ।  राजनीतिक क्षेत्रमा गणेशमान सिंह, तुलसी अमात्य, मनमोहन अधिकारीको प्रेरणाले प्रवेश गरेर वामपन्थी विचारधारातिर रहेपनि त्यसमा आफ्नो विचारसँग नमिलेको गुनासो पोख्छन् ।

आफूले साहित्य र शिक्षण पेसा नै रोजेको बताउँछन्  । बालकृष्ण सम, वैरागी काइँला, इन्द्रबहादुर राई,  सिद्धिचरण श्रेष्ठ, गोविन्द गोठाले, गोपालप्रसाद रिमाल, विजय मल्ल, लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यिक व्यक्तित्वबाट  उनी प्रभावित थिए । उनी  साहित्य, कला र सङ्गीतको त्रिकोणात्मक सम्बन्ध रहेको बताउँछन् । नेपाली साहित्यकारका साहित्यिक कृति र पश्चिमेली उच्चकोटीका साहित्यकारका साहित्यिक कृति  अध्ययन गरेर आफूमा आएको  निखारताबाट झण्डै साँढे दुई दर्जनभन्दा बढी उच्च कोटीका कृतिको स्वाद पाठकलाई चखाएका उनले रङ्गमञ्चको पर्दामा आफूलाई उतारे भने सङ्गीतप्रतिको अधुरो रुची छोराबाट पूराहुने बताएका छन् ।

छरिएका असरल्ल पुस्तक जस्तै  आफ्नो जीवन पनि छरिएको बताउँदै अत्यन्त कठिन अनि भाष्य प्रश्नहरुको उत्तर उनले यथार्थ अनि सटिकरुपमा दिएका छन् ।

नारायण ढकाल :  प्रगतिशील तथा बामपन्थी लेखक नारायण ढकाल २०२७/२८ देखि छिटपुट साहित्य साधना गर्न थालेका रैछन् । २०३७ सालदेखि राजनीतिमा लागेर सक्रिय रहेका उनी नेपालमा प्रजातान्त्र बहालीपछि गाउँ विकास समितिको अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति तथा सांसद समेत भएर सरकारी लाभको पद समेत लिएका उनले बुढ्यौलीसँगै आफ्नो राजनीतिक यात्रालाई पर्यटकीय यात्राको संज्ञा दिएको पाइन्छ । बुढ्यौली लागेपछि राजनीतिभन्दा साहित्य,  विचारक, पत्रकार र विश्लेषणात्मक धारणातिर आफूलाई तानिएको अभिव्यक्ति प्रस्तुत  गरेका छन् । २०२२ सालमा मदन पुरस्कार विजेता उपन्यास शिरीषको फूलका पात्रमाथि प्रश्नचिह्न उठाउने उनी अली खरो स्वभावका थिए ।

पश्चिमेली बामपन्थी विचारधाराका पुस्तक बढी रुचाउने उनी चार पटक अमेरिका जाँदा पनि त्यहाँको जीवनशैली बुझ्न नसकेर काठमाडौँका काँठका कथा लेखेर फर्केको कमजोर पक्षलाई स्वीकार गर्न नसकेर  यतैको संस्कृतिले तानेको झिनो अभिव्यक्ति दिएको देखिन्छ ।  १९ जना पश्चिमेली साहित्यकारका पुस्तक रुचाउने उनले नेपाली ६ जना साहित्यकारका साहित्यिक कृति मात्र ठीक भन्नु एउटा प्रगतिशील अग्रज लेखकका लागि देखिने अशोभनीय झिनो यथार्थ पोखेँ ।

सरुभक्त  : विगत चार दशकदेखि नेपाली साहित्याकाशलाई मलजल गरिरहेका पोखरा निवासी प्रसिद्ध साहित्यकार सरुभक्त विज्ञान साहित्यका  प्रारम्भकर्ता हुन् । उनले झण्डै तीन दर्जन पुस्तक प्रकाशित गरेका छन् । सबै विधा नाटक, कविता, उपन्यास, गीत, मुक्तक,  महाकव्य , विज्ञान नाटक, विज्ञान कथा आदिमा कलम चलाएका उनले ‘शिशिरका अन्तिम दिनहरु ‘ नाटक प्रकाशित गरेर साहित्यमा प्रवेश गरेका हुन् ।

बहुआयामिक व्यक्तित्व उनले साहित्य, दर्शन र विज्ञान तिनको केन्द्र `जीवन´ ठानेका छन् । अहम्वाद र शून्यवादका बारेमा कलम उठाउने उनले नेपाली नाटककार पहलमानसिंह स्वाँर ,मोतीराम भट्ट, बालकृष्ण सम, विजय मल्ल, भीमनिधि तिवारी, हृदयचन्द्रसिंह प्रधान, मानबहादुर मुखिया, सत्यमोहन जोशी तथा पश्चिमेली साहित्यकार सेक्सपियर, जर्ज बनार्डसालगायत उच्चकोटीका धेरै व्यक्तित्वहरुका रचना र विचारबाट प्रभावित भएर रङ्गमञ्चमा आएको कुरा बताएका छन् ।

बाल्यकालमा श्रीस्वस्थानी, महाभारत, बाइबलका कथाहरु श्रवण गरेपछि उपन्यासतिर आकर्षित भएको बताउने उनले बेसक्याम्प नपुगी शिखर चढेको गफ गर्नु भनेको नपढी टीकाटिप्पणी गर्नु मानवीय कमजोरी भएको तीतो यथार्थ प्रस्तुत गरेका छन् । गीत तथा कवितामा श्रुतिश्रवण भएको हुँदा यसको संरक्षण आवश्यक पर्दैन । भौतिक संरक्षण गरेमात्र  मौलिकता पुस्तान्तरण हुन्छ भन्ने मिठो अभिव्यक्ति दिएका छन् ।

प्रज्ञाप्रतिष्ठानको अध्यक्ष हुँदा खुट्टा तान्ने वरिष्ठ र कनिष्ठहरुको प्रकारान्तबाट आफू अछूत नरहनुको कारण राजनीतिको फोहोरी खेल भएको सूक्ष्म दुखेसो राखेका छन्  ।

श्यामल :  हरिलाल अधिकारी वास्तविक नाम रहेका रसरसिला  साहित्यिक कवि श्यामलले नदी, किनार बगर, पौडी, लेकबेसी, वर्षा, बादल, घाँस, दाउरा, पानीघट्ट, उकालीओरालीका अभावपूर्ण जीवनशैली नै मेरो  साहित्यको  उत्प्रेरक हो भनेका छन् ।  पण्डित परिवारमा हुर्किएको हुँदा उनलाई रामायण, गीता, महाभारत, हितोपदेश जस्ता दर्जनौँ कृति घरमा नै भएकाले ती पढ्दापढ्दै समाजको यथार्थ चित्रणको सचित्र रुप बनेर आफूमा कविता विकास भएको बताएका छन् ।

समग्रमा नेपाली साहित्यकारको भन्दा पश्चिमेली साहित्यकार आफ्नो रोजाइमा परेको बताउने उनले देवकोटा, रिमाल, भूपीलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न नसकेको गुनासो गरेका छन् ।  कलाकारितामा केही पारङ्गत भए पनि कलाको भविष्य नभएको हुँदा आफूले त्यतातिर  समय नदिएको उल्लेख गरेका छन् ।

कलाकृतिको सबैभन्दा शक्तिशाली पक्ष त्यसको विचार हो । समय, परिवेश र वातानुकूलित विचार मिले कृति कालजयी रहन्छ भन्नै उनको बुझाइ छ ।

५) श्रवण मुकारुङ : रसपानीको स्वादमा तुसको रुपमा रहेको जातिवादका झिल्का उछिट्याउने श्रवण मुकारुङ  कवितामा आफ्नो छुट्टै पन हुनुपर्छ भन्छन् । कविता, गीत, नाटक, फिल्म, सङ्गीत आदि रचना गर्ने उनी सैद्धान्तिक समालोचकको कमिका कारण राम्रो साहित्य छुट्याउन नसक्नु र  समाजसमाजबीच   जातिवादबीच ,समुदायबीच भूगोलको घृणित राजनीति हुनाले पनि सबै क्षेत्र ग्रसित भएको गम्भीर भनाइ राख्छन् । मूर्ति पूजनमा आफू नभएपनि आफूलाई शक्तिशाली देखाउन सांस्कृतिक विचलनको झिल्का दिएर सुन्दर कलाका बिम्बात्मक  प्रतीकहरु सालिक तोडफोड गरेको उनलाई उचित लागेन ।भन्छन् – `बिपीको सुम्निमा जलाए तर बिपीको विचारहरु जले त ?´ कला साहित्य र संस्कृतिको संरक्षण त्यो बुझेकाले मात्र गर्छ भन्दै उनले नेपाल प्रज्ञाप्रतिष्ठानतिर पनि केही असन्तुष्टि राखेका छन् ।

साहित्यिक यात्रामा कठिन परिस्थितिलाई पनि चिर्न सक्ने कला हुन्छ । म पनि सबै दु:ख सुख त्यसैमा समाहित गरेर चिरेर भिजेको छु भन्दै देशको सामाजिक राजनैतिक वातावरणले नै लेख्न उत्प्रेरित गरेको सकारात्मक सुविचार प्रश्नहरूसँग प्रस्तुत गरेका छन् ।

मनु मञ्जिल  : साहित्यमा आफू उभिने डिल आफैले निर्माण गर्नुपर्छ भन्ने सिर्जनात्मक गहन विचार भएका मञ्जिलले कला मानिसको साथी हो भन्दै प्रेमीहरु विछोडमा कविता रच्छन्, दु:खमा पढ्छन्, वियोगमा शोकाकुल भाव पोख्छन, युद्धमा विरोधाभास बिम्ब पोख्छन् त्यसैले कविता साथी हो भन्छन् । लेखनका साथै अनुवादक पनि भएको हुँदा उनले एउटा मन्दिर भत्काएर अर्को मन्दिर बनाउन तुक चाहिन्छ त्यो सबैमा हुँदैन । अन्तरराष्ट्रिय स्तरका हाम्रा बिपी, भूपी, रिमाल, शङ्कर लामिछाने भए पनि माध्यमको कमिका कारण विश्वजगत उनीहरूलाई प्राप्त भएन र पछाडि परे । अहिले पनि त्यही छ । कतिपय नारी तथा पुरुष साहित्यकारहरुले उच्चकोटीका साहित्यिक रचना रहेता पनि सम्मान छैन भनेर गुनासो गरेका छन् ।

पाठकहरूलाई कमजोर ठानेर सधैँ सरल मात्र लेख्नुपर्छ भन्नु अहिलेका पाठकको अपमान हो भन्ने तर्क उनको छ ।राजनीतिबाट साहित्यकार टाढा रहेर साहित्य जन्मिँदैन तर सही र गलत के हो यथार्थ बोल्नुपर्छ भन्ने उनले स्पष्ट विचार पोखेका छन् ।प्रज्ञाप्रतिष्ठान जस्तो ठाउँनेर दलका मान्छे गए भन्ने  होइन । दलको कारणले गएभन्दा असजिलो लागेर आउँछ भन्दै उनले  गम्भीर चिन्तन प्रस्तुत गरेका छन् ।

उपसंहार : समग्रमा कलात्मक प्रश्न, लेखक र लेखकीय जीवनको गहिरो अध्ययन गरेर गम्भीर प्रश्न सोध्नु उदय अधिकारीको भोरको उदय नै  देखिएको छ । लेखकीय कलालाई नियालेर हेर्दा बिम्बात्मक तथा निजात्मक भावले ओतप्रोत प्रत्येक लेखकीय र लेखकले अध्ययन गरेका रचनाको बारेमा यति सतही अध्ययन गरेर प्रश्न गर्नु चानचुने कुरा हैन । यसमा उदयप्रति सम्मान छ ।

विचारणीय दृष्टिकोणले केही असन्तुष्टि पनि छन् । नेपाली साहित्याकाशलाई विश्वबजारमा पुर्‍याउन नसकेको गुनासो प्रश्नको उत्तर दिँदा दिने लेखकले नेपालीभन्दा पश्चिमेली साहित्यकार र साहित्यको बढी चर्चा गर्नु नेपाली लेखक प्रति बेमेल र खुट्टा तान्ने प्रवृति अनि दलील स्वार्थ हो भन्ने देखिन्छ । ६ जना पुरुष साहित्यकार आफ्नो प्रश्नमा अटाउने  लेखक उदय अधिकारी नारी साहित्यकारप्रति  त्यति उदार नभएर हो कि उच्च कोटीका नारी साहित्यकारहरुको खडेरी हो वा उदयले नै नारी साहित्यकारको सङ्गत नगरेर  उदार हुन नसकेका हुन् । एक सय नब्बे पृष्ठको अन्तर्वार्तामा छिटपुट भाषिक विचलन देखिन्छ भने लेखकीय विचार तथा शुभकामनासमेत नराखिएको नौलो प्रयोग हुँदा अझै प्रश्न उत्कृष्ट लाग्यो ।

लेखकीय  समाज, दृष्टिकोण, दर्शन, बिम्ब, प्रकृति, प्रेम, कालखण्ड, राजनीति कतैतिर कसुर नराखी नढाँटी गरिएको अन्तर्वार्तात्मक कृतिले कृतिकारको कलात्मक कौशलता प्रष्ट पारेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट