मकवानपुर, २६ मंसिर ।
लागुऔषध लिएर हेटौंडामा प्रहरीलाई छक्याएर उम्किएको कार बारा प्रहरीको पासोमा परेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा हुँदै बारातर्फ जाँदै गरेको बा.१४ च ३७०७ नम्बरको कारलाई हेटौंडा–१५ रातोमाटेमा सोमबार बिहान प्रहरीले चेकजाँच गर्न रोक्न खोज्जा प्रहरीलाई छक्याएर भाग्न सफल भएको थियो ।
पिच्छा गर्दै गएको मकवानपुरको प्रहरी र बाराको प्रहरीको टोलीले जितपुर सिमरा उपमहानगपालिका–२२ चुरियामाई मन्दिर नजिकै जंगलबाट नियन्त्रणमा लिएको हो । सो गाडीलाई चेकजाँच गर्दा २६ किलो ८०० ग्राम अबैध लागुऔषध चरेश र गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
लागुऔषध लिएर प्रहरीलाई छक्याउँदै भाग्ने कार चालक भरतपुर महानगरपालिका–२७ बस्ने ४२ बर्षीय रोशन बहादुर दमाई र कारमा सवार माडी नगरपालिका–६ बस्ने ५२ वर्षीय देवनारायण महतोलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रकृया गरी थप अनुसान्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।





