भरतपुर, २० मंसिर ।
भरतपुरका घरघरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ । स्वास्थ्यकर्मीहरुले नसर्ने रोग लागेका बिरामीलाई सेवा दिने छन् । बुधबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर २४ मा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम उद्घाटन गरिन् ।
महानगर प्रमुख दाहालले महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताइन् । यस कार्यक्रममा समस्या देखिएका बिरामीहरुको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्यचौकीमा गरिने उनले बताइन् । उनले भनिन्, “थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको छ ।”
यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिनेछ । महानगरभित्र रहेका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, उचाइ र तौल लिइने छ ।
दाहालका अनुसार पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागु हुनेछ । पहिलो चरणको कार्यक्रम २५ दिनसम्म सञ्चालन हुनेछ । बाँकी १५ वडामा अर्को चरणको कार्यक्रम सञ्चालन हुनेछ ।
यसक्रममा आएका जनताका समस्यालाई समाधानका लागि शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने उनले जानकारी दिइन् । उनका अनुसार यस कार्यक्रममा एक सय स्वास्थ्यकर्मी परिचालित हुनेछन् । अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जानेछन् । सो अभियानमा नसर्ने रोगका विषयमा बढी ध्यान दिइनेछ ।
स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डाक्टर भोजराज अधिकारीलाई नियुक्त गरेको छ । महानगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० स्वास्थ्य उपचार केन्द्र रहेका छन् ।
वडा नं. २४ का अध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरघर जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य परीक्षणका सामग्री हस्तान्तरण गरिएको थियो । यससँगै महानगर प्रमुख दाहालको उपस्थितिमा स्थानीय ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।




