`लोकतन्त्रको विकल्प छैन´

गैँडाकोट, २० मंसिर ।
मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति, मानव अधिकारकर्मी कृष्ण पहाडीले लोकतन्त्रको कुनै विकल्प खोज्न नसकिने बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाज नवलपुर जिल्लाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले व्यवस्था बदल्ने नाममा लोकतन्त्र फाल्ने कुरा स्वीकार्य नहुने बताएका हुन् । लोकतन्त्र दिवसको अवमूल्यन गरेर जनयुद्ध दिवस मनाउने राजनीतिक दलको निर्णय कदापी मान्य नहुने पहाडीले बताए । मानवअधिकार उल्लंघन गर्नेलाई कार्वाही गर्न सरकारले नै नचाहेको बताउँदै कुनै पनि हालतमा लोकतन्त्र राजनीतिक दल वा अरु कसैको हुन नसक्ने उनको भनाइ रहेको थियो ।

७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित ‘लोकतन्त्रको प्राण: सुशासन र सद्भाव’ विषयक छलफल कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ति समाज नवलपुर जिल्लाका सभापति भानुभक्त रिमालले सुशासन स्थापना गर्न कुशासन हटाई अघि बढ्नुपर्ने बताए । उनले यो एउटा कोठामा आयोजित बहस नभएर देशभरी नै भइरहेको बहसको नमूना बहस भएको बताए । लोकतन्त्रलाई बचाउने जिम्मा हाम्रै रहेकाले यसलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उनले बताए ।

स्थानीय सरकारका प्रतिनिधि, राजनीति दलका अगुवा एवं सर्वसाधारणको उपस्तिथिमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका १८ जना वक्ताले आफ्नो भनाई राखेको कार्यक्रममा बोल्दै ओमप्रसाद सापकोटाले सुशासन स्थापना र युवालाई स्वदेशमै रहने वातावरण बनाउनमा जोड दिएका छन् । उनले सुशासन स्थापनामा मानवअधिकार तथा शान्ति समाजले पनि भूमिका खेल्नुपर्ने बताए ।

यस्तै विमल घिमिरेले लोकतन्त्र सिमित घेरामा रहेको टिप्पणी गर्दै लोकतन्त्र कुनै व्यक्ति वा पार्टीले आफूमा सिमित राख्न खोजेकोले समस्या सिर्जना भएको तर्क प्रस्तुत गरे । यस्तै प्रेमप्रसाद सापकोटा ‘राजु’ले मानवअधिकार तथा शान्ति समाजका जिल्ला शाखामा राजनीतिक रुपमा संलग्न नभएका व्यक्तिलाई अगाडी ल्याउन सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले लोकतन्त्रमा अहिलेको अवस्था आउनुमा सरकार र प्रमुख दल जिम्मेवार रहेको बताएका थिए । साथै अहिलेसम्म नागरिकले आन्दोलन गरेर पनि पूर्णरुपमा लोकतन्त्रको प्रत्याभूत गर्न नसकेको बताएका थिए । धार्मिक, राजनैतिक सामाजिक कुराहरु विवादका रुपमा आउनु, मुख्य पार्टीले लोकतन्त्रलाई हातमा लिन खोज्नुले यस्तो अवस्था आएको वक्ताहरुको बुझाई थियो ।

कार्यक्रममा मानव अधिकारकर्मी गोविन्द खनालले अवधारणापत्र प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममार्फत आएका प्रश्नको जवाफ मानव अधिकारकर्मी कृष्ण कँडेलले दिएका थिए । कार्यक्रमको सहजीकरण मानवअधिकार तथा शान्ति समाज नवलपुरका सदस्य सुजन अधिकारीले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट