मकवानपुर, २० मंसिर ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा रहेकाे किताबघरले दोस्राे चरणमा विद्यालयमा पुस्तक प्रदर्शनी यात्रा–२०८० को सुरुवात गरेको छ । हेटौँडा–४, भैरवरोडस्थित किताबघरले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विविध विषयका पुस्तक स्कुलस्कुलमै पुगेर प्रदर्शनीको सुरुवात गरेकाे हाे ।
विद्यालयमा पुस्तक प्रदर्शनी यात्रा–२०८० हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनबाट सुरुवात गरिएकाे किताबघरका सञ्चालक छवी अनित्यले जानकारी दिए । पुस्तक यात्रामा विद्यार्थीलाई कक्षागतरुपमा पुस्तक प्रदर्शनीमा सहभागी गराइएको थियो । ‘नेपाली तथा अङ्ग्रेजी भाषासाहित्य, इतिहास, विज्ञान, खेलकुद लगायतका ४ सय बढी शीर्षकका बालपुस्तक प्रदर्शनीमा उपलब्ध हुनेछ’ उनले भने ‘प्रदर्शनीमा विद्यार्थीहरूले आफूलाई मनपरेका किताब खरिद गर्न सक्नेछन् ।’
किताबघरका संञ्चालक अनित्यले गत विहीबार सिद्धार्थ शिशु सदनमा कक्षा ७, ८ र ९ का विद्यार्थीलाई पठन संस्कृतिको विषयमा अभिमुखीकरण समेत गराएकाे बताए । यसैगरी मंसिर २२ गते हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका एकेडेमी र मंसिर २४ गते हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीमा पुस्तक प्रदर्शनीको आयोजना गरिने उनले बताए । उनले विद्यालयसँग पनि समन्वय भइरहेको र यात्रा निरन्तर जारी रहने जानकारी दिए ।
किताबघर गत असाेज ९ गते मंगलबार पुस्तक प्रदर्शनी यात्रा २०८० सुरु गरेकाे थियाे । दशैं विदाकाे समयलाई लक्षित गरेर सुरु गरिएकाे पुस्तक प्रदर्शनीलाई निरन्तर दिने अनित्यले बताए । असोज ९ गते हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीबाट सुरु गरिएको ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ असोज महिनाभर चलेकाे थियाे । गत असोजमा उपमहानगरपालिकामा सञ्चालित सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालय समेटिएर सुरु गरिएकाे यात्रा कमानेकाे माउन्ट एभरेष्ट बोर्डिङ, मकवानपुर बाल विद्या सदन हेटौंडा- १८ हर्नामाडी, जनप्रिय मावि हेटौडा- १६, रेड रोज इङलिस स्कुल, प्रगति मावि लामसुरे, बालजागृति इङलिस स्कुल हेटौंडा- २ र ज्ञानदीप शिक्षा (जीएस) निकेतन हेटौँडा- ४ मा संचालन गरेकाे थियाे ।





