मकवानपुर, १८ मंसिर ।
बागमती प्रदेश सरकारको लगानीमा हेटौंडामा पाउडर (धुलो) दुध उत्पादन उद्योग स्थापनाकाे कार्य सुरु भएकाे ३ वर्ष भए पनि निर्माण कार्य पुरा भएकाे छैन ।
प्रदेश सरकारले ३ वर्ष अघि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीस्थित सिसौघारीमा धुलो दुध तथा बटर उद्योग स्थापनाकाे कार्य थालनी गरेकाे थियाे । १ वर्षमा निर्माण कार्य सक्नेगरी प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डको लगानीमा उद्योग निर्माण गरिएको थियो ।
किसानले उत्पादन गरेको दुध विक्री नहुने समस्या वर्षेनी आइरहेकाे वेला प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले पाउडर प्लान्ट निर्माण कार्य अघि बढाएको थियो । एक वर्षमा निर्माण कार्य सक्नेगरी प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डको लगानीमा उद्योग निर्माणकाे काम सुरु गरिएकाे हाे ।
बागमती प्रदेशसहित काेशी मधेस र गण्डकी गरी ४ प्रदेशका किसानले उत्पादन गरेको दुध खपत गरी पाउडर बनाइने मन्त्रालयले जनाएको छ । उक्त ४ प्रदेशका कृषकले उत्पादन गरेको दुधलाई खपत गरी पाउडर बनाउने याेजना मन्त्रालयसँग छ । तर पाउडर प्लान्ट निर्माणका लागि २०७७ पुस १ गते इजी इन्फा प्रालि काठमाडौंले सम्झौता गरी शिलान्यास गरिएको उक्त उद्योगको निर्माणको काम हालसम्म सकिएकाे छैन । सम्झौता तथा पटक पटककाे म्याद थप अनुसार पाउडर प्लान्ट निर्माणको काम सकेर २०८० साल कार्तिक ३० गतेसम्म दुग्ध विकास बोर्डलाई हस्तान्तरण गर्नु पर्ने हाे । तर, हालसम्म पनि निर्माण कम्पनीले कार्य सपन्न गरेकाे छैन् ।
पाउडर प्लान्ट निर्माण सम्पन्न भएकाे भन्दै १ दिन परीक्षण उत्पादन समेत भएकाे थियाे । संझौता अनुसार दूधबाट पाउडर उत्पादन नभएपछी पुनः मर्मतको काम भइरहेको मन्त्रालयले जनाएकाे छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्रदेश दुग्ध विकास बोर्डको लगानीमा हेटौंडामा पाउडर (धुलो) दुध उत्पादन उद्योग निर्माणका लागि तीन पटक म्याद थप गरिएको भए पनि निर्माण सम्पन्न भएकाे छैन । अब म्याद थप गर्ने कानूनी आधार नभएकाे बताइएकाे छ । तीन पटक म्याद थप गर्दा पनि काम सकेर हस्तान्तरण नगरेकाले निर्माण कम्पनीलाई दश प्रतिशत जरिवाना तिराउनुपर्ने कानूनी व्यवस्था रहेको छ ।
संघीय सरकार मातहतको दुग्ध विकास आयोजनाको पशु आहार उत्पादन उद्योगको २ बिघा क्षेत्रफलमा जग्गामा पाउडर प्लान्ट स्थापना गरिएको हो । भौतिक संरचना निर्माण लगायतको काम करिब सकिए पनि उद्योग परिसरलाई व्यवस्थित गर्ने र चिस्यान केन्द्र (कोल्ड रुम) सञ्चालनको काम बाँकी छ ।
किसानले उत्पादन गरेको दुध नबिकेर ‘मिल्क होलीडे’ गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थापना गरिएको उद्योगमा धुलो दुध उत्पादन परीक्षण, हस्तान्तरण र अन्य व्यवस्थापकीय काम गर्न भने बाँकी नै छ । बोर्डका अनुसार ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको सो उद्योगको लागत बढेर ४७ करोड पुगेको छ । प्लान्ट सञ्चालनमा आएपछि कृषकहरूबाट दुध संकलन गरी प्रशोधन गरेर पाउडर दुधसँगै घिउ तथा अन्य दुग्धजन्य पदार्थ उत्पादन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।
कृषकले उत्पादन गरेको दुधबाट दैनिक ५ मेट्रिक टन पाउडर दुध उत्पादन र प्याकिङ गर्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको छ । प्लान्टबाट उत्पादित पाउडर दुध सात वटै प्रदेशका स्थानीय बजार, होटल र सर्वसाधारण उपभोक्तालाई सहज ढंगबाट बिक्री वितरण गर्ने मन्त्रालयले जनाएको छ ।
पाउडर प्लान्ट सञ्चालनका लागि कोशी प्रदेशको सुनसरी, धरान, झापा, मधेस प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँ लगायतका जिल्लाबाट दुध आयात गरिने जनाइएको छ । उक्त प्लान्ट सञ्चालन पश्चात् चार प्रदेशका करिब २२ हजार कृषक परिवार लाभान्वित हुने मन्त्रालयको अनुमान छ भने कृषकहरूबाट दैनिक ६० हजार लिटर दुध खरिद गरिने जनाइएको छ । मन्त्रालयका अनुसार प्लान्ट सञ्चालन भएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ८० जनाले रोजगारी पाउने बताइएको छ ।
उद्योगको निर्माणको काम अन्तिम चरणमा पुगे बताइरहँदा प्लान्ट निर्माणको चरणमा भारतिय इन्जिनियर सहितका कामदारहरुले प्लान्टमा काम गरिरहेका छन् । प्लान्टबाट पाउडर दूध उत्पादन हुनका लागि अझै केही समय लाग्ने प्राबिधिक बताउँछन् ।
निर्माण कम्पनीलाई अन्तिम रकम भुक्तानी दिनका लागि दुग्ध विकास बोर्डसँग पर्याप्त रकम नभएकाे पाइएकाे छ । करिब ६ करोड रुपैया रकमान्तर गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृतिमा रकम भुक्तानी दिने तयारी भइरहेको बोर्डका कर्मचारीले बताए । उद्योग निर्माण कम्पनी इजी इन्फ्रा प्रालिका म्यानेजर उत्तम पौडेलले उद्योगको काम सकिएकाेले अब म्याद थप गर्न आवश्यक नै नरहेकाे बताए । पाैडेलले म्याद थप गरेको अवधिमानै काम सकिएको भने पनि उद्योग परिषर बाँकी निर्माणकाे कार्य भइरहेकाे छ ।
किसानले उत्पादन गरेको दुध नबिकेर ‘मिल्क होलीडे’ गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थापना गरिएको उद्योगमा धुलो दुध उत्पादन परीक्षण, हस्तान्तरण र अन्य व्यवस्थापकीय काम गर्न भने बाँकी नै रहेको बोर्डका पदाधिकारीहरु बताउँछन् ।आवश्यक भौतिक निर्माण र उपकरण जडान सकिएसँगै कारखानामा पानीको प्रयोगबाट परीक्षण थालिएको केही दिनमै धुलो दुध उत्पादन परीक्षण गरेर हस्तान्तरण गर्ने पौडेलले बताए ।




