देवचुली, १८ मंसिर ।
नवलपुरमा तेस्रो जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नवलपुर जिल्ला तेक्वान्दो संघ (आईटिएफ) को आयोजना, पिठौली तेक्वान्दो दोजाङ्ग (आईटिएफ)को सहआयोजना तथा कावासोती नगरपालिका र कावासोती नगरपालिका वडा नम्बर १२ को प्रायोजनमा मंसिर २३ गते कावासोती- १२ को पिठौली चौरमा प्रतियोगिता आयोजना हुँदैछ ।
प्रतियोगितामा नवलपुर जिल्लाका आठ वटै पालिकाबाट २० वटा दोजाङ्गका ३०० जना खेलाडीहरुको सहभागिता रहने नवलपुर जिल्ला तेक्वान्दो संघ (आईटिएफ) अध्यक्ष वीर कुँवरले जानकारी दिए ।
जिल्लामा रहेका तेक्वान्दो खेलाडीहरुको क्षमता विकास तथा प्रोत्साहन गर्दै खेलाडीहरुलाई देशमा चिनाउनका लागि प्रतियोगिता आयोजना गरिएको कुँवरले बताए ।प्रतियोगिता संचालनका लागि ३ लाख भन्दा माथि खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा महिला/पुरुष दुवैको तौल समुहबीच प्रतिष्पर्धा हुनेछ ।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन र राम्रो स्थान हासिल गर्ने खेलाडीलाई पुरस्कार, प्रमाणपत्र एवं मेडल प्रदान गरिने जिल्ला तेक्वान्दो संघले जनाएको छ ।





