कावासोती, ३ मंसिर ।
कावासोतीका किशोरीहरुले प्याड बनाउन सिकाउँदै अन्तर्राष्ट्रिय बाल दिवस मनाएका छन् । शनिबार कावासोती- १० का किशोरीहरुले किशोरी र आमाहरुलाई महिनावारी सरसफाई र पुन:प्रयोग योग्य प्याड आफैंले निर्माण गर्ने तालिम प्रदान गरेर दिवस मनाएका हुन् ।
कावासोती नगरपालिकामा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका किशोरी अभियन्ताहरुले किशोरी अधिकार र बाल अधिकारको बारेमा विभिन्न विषयका तालिमहरु लिएर विद्यालय र समुदाय स्तरमा कार्यक्रम संचालन अन्तर्गत तालिम प्रदान गरिएको किशोरी अभियन्ता मान्सु न्यौपानेले बताइन् ।
बजारमा प्याड किन्दा महँगो र सो प्याडबाट असर समेत पर्ने भएकोले घरमा नै कपडाबाट निर्माण गर्न सकियो भने पैसा जोगिने र स्वास्थ्यमा समेत असर नपर्ने भएकोले सबैलाई जानकारी दिनको लागि कार्यक्रमको आयोजना गरिएको सहजकर्ता आशा बिकले बताइन् ।
स्थानीय स्तरमा आज पनि महिनावारि सरसफाइको बारेमा खास ध्यान नदिँदा पछि स्वास्थ्यका विभिन्न समस्याहरु देखापर्ने गरेको तथ्यांकहरुले देखाएको छ ।
कार्यक्रममा साथी शिक्षक एलिना पन्थी, स्वस्तिका ढकाल, मीना महतो, निर्जला बोटे, मान्शु न्यौपानेले महिनावारी भनेको के हो ? महिनावारी सरसफाइका लागि केके गर्न पर्दछ ? बजारिया प्याड र घरायसी प्याडबीचमा भिन्नता के छ ? घरायसी प्याड बनाउने तरिकाको विषयमा छलफल गर्दै सहजीकरण गरेका थिए ।
त्यस्तैगरि सहजकर्ता आशा बिक र राधा बोटेले महिनावारीको समयमा थप केके कुरामा ध्यान दिनुपर्छ ? कस्ताकस्ता समस्या देखिन्छ ? समस्या हुँदा कहाँ जाने, के गर्ने भन्ने कुरा र सिकेका कुराहरु सदुपयोग र व्यवहारमा लागू गर्दै आफ्ना अभिभावक तथा साथीहरुलाई पनि सिकाउन सुझाव दिएका थिए ।
कार्यक्रममा वडा नम्बर ९ र १० का किशोरी अभियन्ताहरु, सहजकर्ता आशा विक, राधा बोटे, आमा समुहका प्रतिनिधि र समुदायका किशोरीहरुको सहभागिता रहेको थियो ।




