भरतपुर, ३१ जेठ ।
स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा गुरुकुल मावि भरतपुरले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । शैक्षिक, सामाजिक, बौद्धिक एवम् साहित्यिक र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमलाई गुरुकुलले विशेष जोड दिँदै आएको छ ।
पछिल्लोपटक विद्यार्थीहरूलाई पठन संस्कृति र बोल्ने कलाको विकास गर्न विभिन्न कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । यहि क्रममा चर्चित कवि एवम् साहित्यकार भूपिनसँग विद्यार्थीहरूको अन्तरक्रिया सम्पन्न गरेको छ । कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा समावेश भएको कवि भूपिनको ‘आमाको तस्बिर’ कविताको रचनागर्भ र प्रस्तुत कविताको विभिन्न पाटोको बारेमा विद्यार्थीले स्वयम् लेखकसँग जिज्ञासा राखे । कविले विद्यार्थीका एक दर्जनभन्दा बढी जिज्ञासा समाधान गर्नुका साथै विद्यार्थीको अनुरोधमा पुस्तकको कवितासमेत पढेर सुनाए ।
कविकै आवाजमा प्रत्यक्ष कविता सुन्न पाएका कक्षा ८, ९ र १० का विद्यार्थीले सभाहल गुञ्जायमान हुनेगरी गड्गडाहट ताली बजाए ।
सञ्चालक समितिका अध्यक्ष केशवीर श्रेष्ठ सभापति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कवि भूपिनलाई निमन्त्रणा गरिएको थियो । गुरुकुलका प्राचार्य टीकाराम चापागाइँले कार्यक्रममा विशेष मन्तव्य राख्दै गुरुकुलले राष्ट्रका गहना कवि साहित्यकारहरूलाई निमन्त्रणा गरेर सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए ।
पाठ्यपुस्तकमा समावेश कविताको बारेमा कक्षा ८, ९ र १० का विद्यार्थीहरू कीर्तिका थापा, सर्वानी सेढाइँ, आयुष्मा सापकोटा, सलिना बराल, सुशन अधिकारी, खुसी दुरा, सुभम गिरीलगायतका विद्यार्थीले कविसँग जिज्ञासा राखेका थिए। विद्यालयका शैक्षिक निर्देशक सुशील रेग्मीले यस्ता कार्यक्रम गरुकुलमा निरन्तर चलिरहने बताए । कार्यक्रमको सहजीकरण कवि एवम् प्राध्यापक सिर्जन अविरलले गरेका थिए ।




