गैँडाकोट, २२ जेठ ।
गैँडाकोट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तेजप्रसाद घिमिरेले स्वच्छ वातावरणमा बाँच्न पाउने सबै प्राणीको अधिकार भएको बताएका छन् । उनले आइतबार गैँडाकोटमा जयश्री सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको ५०औँ विश्व वातावरण दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सबै जना मिलेर वातावरण संरक्षणमा जुट्नु पर्ने बताएका हुन् ।
सामुदायिक वनको अवधारणाले नाङ्गा डाँडामा हरियाली छाएको विचार राख्दै उनले भने, ‘वातावरण स्वच्छ रह्यो भनेमात्र हामी स्वस्थ रहन सक्छौँ । वातावरणलाई जोगाउने काममा जयीश्री सामुदायिक वनले सक्रिय भूमिका खेलेको छ । त्यही भूमिकाको कारण पहिलेका नाङ्गा डाँडामा अहिले हरियाली छाएको छ ।’
गैँडाकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रत्नप्रसाद सापकोटाले आफूहरु सामुदायिक वनसँग मिलेर अघि बढ्ने बताए । जनघनत्व बढ्दा वातावरणलाई असर पुगेको बताउँदै उनले भने, ‘सामुदायिक वन नभएको भए अहिले हामीहरुले हरियाली देख्न पाउने थिएनौँ । वातावरण संरक्षणमा ठूलो हिस्सा वन र हरियालीले ओगटेको छ । हरियाली जोगाउनु पर्छ ।’
सामुदायिक वन उपभोक्ता संघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले आफूहरु जैविक विविधताको संरक्षणमा जुटेको बताए । उनले वडा र वन समूह मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘वडा र वन समूहको बजेट एकीकृत गरेर काम गर्यौँ भने देखिने गरी काम गर्न सकिन्छ । यसका लागि वडाको वार्षिक कार्ययोजनामा वन र वनको वार्षिक कार्ययोजनामा वडालाई समावेश गरौँ ।’
जिल्ला वन सब डिभिजन कार्यालय गैँडाकोटका सूर्यसिं गुरुङले वातावरण संरक्षणमा स्थानीय तहको विशेष भूमिका रहने बताए । उनले पोहोर वृक्षारोपण गरेकै ठाउँमा जयश्री सामुदायिक वनले विश्व वातावरण दिवस मनाउँदा आफूलाई खुसी लागेको सुनाए । गुरुङले आइतबार गैँडाकोट जेसीजको आयोजनामा जयश्री खोला किनारमा वृक्षारोपण भएको समेत जानकारी दिए ।
जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरेले वनको स्थापनाकालदेखि निरन्तर विश्व वातावरण दिवस मनाउँदै आएको जानकारी दिए । अहिले जलवायु परिवर्तनको असरले विश्व नै आक्रान्त रहेको भन्दै उनले भने, ‘जलवायु परिवर्तनको औषधि वन हो । स्वच्छ वातावरण हो । त्यसैले अब फलफूलका विरुवा लगाउने विचार गरेका छौँ ।’
कार्यक्रममा जयश्री सामुदायिक वनका सल्लाहकार एवं पूर्वअध्यक्ष ऋषिराम घिमिरे, वातावरण समिति संयोजक शंकर आचार्यलगायतको उपस्थिति रहेको थियो । पोहोर वृक्षारोपण गरिएको ठाउँमा गोडमेलसमेत गरिएको थियो ।





