भरतपुर, २२ जेठ ।
आइतबार बिहानै रुपन्देहीको भैरहवा–परासी हुलाकी सडक अन्तर्गत रोहिणी पुलमा भएको बस दुर्घटनामा मृत्यु हुने ९ जनामध्ये चार जनाको पहिचान भएको छ ।
भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएको हो । मृतक पाँच जनामध्ये तीन जनाको पहिचान भएको इकान्तिपुर डट कमले उल्लेख गरेको छ । पहिचान हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल छन् ।
भीम अस्पतालमा मृत्यु भएका चार जनामध्ये एक रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ ।
हाल उपचाररत रहेका २४ जना यात्रुमध्ये १६ जनाको अवस्था गम्भीर छ । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रि बस बिहान साढे ४ बजे पुलबाट खसेको थियो । दुर्घटना के कारणले भयो भन्ने यकिन भइसकेको छैन । दुर्घटनाको समयमा आफूहरू निदाएको यात्रुहरूको भनाइ छ ।




