गैँडाकोट, १९ चैत ।
गैंडाकोट- ९ थुम्सीमा शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिर निर्माण भएको छ । उक्त मन्दिरको समुद्घाटन, लोकार्पण, मूर्तिप्राणप्रतिष्ठा तथा साङ्ग विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ हुने भएको छ ।
सप्ताहव्यापीरुपमा भगवान हनुमानको मन्दिर र मूर्ति प्राणप्रतिष्ठा तथा साङ्ग विराट महायज्ञ महोत्सव २०७८ लगायतका विविध कार्यक्रमहरुको आयोजना गरिएको मन्दिर समितिले जनाएको छ ।
शनिबार भएको पत्रकार सम्मेलनमा बोल्दै श्री हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टीकाराम सापकोटाले मन्दिरको आगामी चैत्र २७ गते रामनवमीका दिन दिउँसो १२.१५ बजे संस्थाका प्रधान संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजद्वारा समुद्घाटन गरिने कार्यक्रम रहेको बताए । कुल २ करोड ८५ लाख रुपैयाँमा मन्दिर निर्माण सम्पन्न भएको बताउँदै समुद्घाटन लगत्तै मन्दिरमा पुजारीको व्यवस्था गरि दैनिकरूपमा पूजा-आराधना हुने पनि जानकारी गराए ।
प्रचारप्रचार उपसमितिका संयोजक ज्ञानप्रसाद खनालले महायक्ष सफल बनाउन मिडियाको मुख्य भूमिका रहने बताउँदै प्रचारप्रसारमा सहयोग गर्ने आग्रह गरे ।
मन्दिर निर्माण समितिका संयोजक ओमप्रसाद सापकोटाले मन्दिर निर्माणको सुरुको अवस्थामा १ करोड ५ लाखको अनुमान गरिएपनि नयां संरचना, धर्मशाला निर्माण, कलात्मक शैलीको संरचना बनाउँदै गर्दा ३ करोड लागतमा मन्दिर निर्माण सम्पन्न हुने बताए ।
पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने कलात्मक मन्दिरले भारतीय पर्यटकसँगै नेपाली धार्मिक पर्यटकलाई बास बस्न सहयोग पुग्ने साथै समग्र गैँडाकोट क्षेत्रको समेत गौरव बढ्ने गैँडाकोट ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटाले बताए ।
चैत २७ गते रामनवमीका दिनदेखि सुरु हुने महायज्ञमा विहान ८ बजे शान्तिकलश शोभायात्रा हुने शोभाकलश यात्राका संयोजक होमनाथ सापकोटाले जानकारी दिए । शोभा यात्रामा भजन कृतन सहित सहभागी हुनसमेत उनले आग्रह गरे ।
मन्दिरका संरक्षक पवनकुमार अग्रवालले एक करोड बराबरको अक्षयकोष निर्माण गर्नुपर्ने बताउँदै मन्दिर वरिपरिको क्षेत्रलाई बालबालिकाका लागि बगैचा र धर्मशाला बनोस् भन्ने चाहना रहेको र त्यो चाहना पनि पुरा हुने आसा राखेको बताए ।
महायक्ष मूल आयोजक समितिका महासचिव एवं मन्दिरका सहसचिव पीताम्बर सापकोटाले २०४२ सालमा रामभक्त, पवनपुत्र श्रीहनुमानको मुर्ति स्थापित गरि धार्मिक कार्यहरुका साथै मन्दिरको संरक्षण कार्यहरु हुँदै आइरहेको बताए । ४८ फुट लम्वाइ, ४२ फुट उचाई भएको मन्दिरको संरचनालाई भुकम्पप्रतिरोधी आधुनिक शैलीमा निर्माण गरिएको छ ।
कार्यक्रममा समितिका उपाध्यक्ष बालुराम कुमालले स्वागत मन्तव्य राखेका थिए । नेपालमै पहिलो शिखरखजुराव शैलीको मन्दिरले पर्यटकीय गन्तव्य विकास गर्न सहयोग पुग्ने उनले बताए ।
महायज्ञका विशेष कार्यक्रमहरु :
– २०७८ चैत्र २७ गते रामनवमीका दिन बिहान ८ बजेबाट शान्ति कलश शोभायात्रा
– २०७८ चैत्र २७ गते रामनवमीका दिन बिहान १२.१५ बजे संस्थाका प्रधान संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूका करकमलबाट नवनिर्मित हनुमान मन्दिरको समुद्घाटन तथा दाताशिलापट आवरण ।
– २०७८ चैत्र २८ गते दिउँसो १ बजे मूर्ति जलाधिवस तथा चक्रघाट स्थिति स्नानघाटको समुद्घाटन ।
– २०७८ चैत्र २९ गते मूर्ति अन्नाधिवास
– मूर्ति घृताधिवास तथा सर्कराधिवास
– २०७९ वैशाख १ गते पुष्पाधिवास तथा लक्ष्यदीप प्रज्वलन ।
– २०७९ वैशाख २ गते १११ कलशद्वारा मूर्ति तथा गजुर स्नान मूर्ति शैयाधिवास
– २०७९ वैशाख ३ गते हनुमान जयन्तीका पावन अवसरमा श्री हनुमानजीको मुर्ति प्राणप्रतिष्ठा तथा नामाकरण संस्कार ।
– २०७९ वैशाख २ गते संस्थाका संरक्षक श्री पवनकुमार अग्रवाल ज्युको मुख्य कर्तृत्वमा श्री हनुमानजीको विशेष पूजा महायज्ञ पूर्णाहुति महाप्रसाद वितरण र समापन समारोह ।
– २०७९ वैशाख ३ गतेदेखि २०७९ वैशाख ३ गतेसम्म प्रतिदिन नियमित यज्ञानुष्ठान, कथा प्रवचन, भजन सङ्गकिर्तन र दातृ सम्मान ।





