भरतपुर, १६ पुस ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त प्रणालीका कारण हाल देशभर आंशिक बदली रहेको छ । धेरै स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात भइरहेको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार आज शुक्रबार दिउँसो देशभर आंशिक बदली रहनेछ । गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको पनि सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।
त्यसैगरी, यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।





