भरतपुर, ११ पुस ।
गैरआवासीय नेपाली संघको आज र भोलि हुने भनिएको निर्वाचन स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंगो लगाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो ।
निर्वाचन गरिने भन्दै पटकपटक प्रतिबद्धता जनाएका पन्तलाई निर्वाचन प्रकृयाबाट विचलित हुन खोजेको आरोप लागेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिबार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ ।
‘गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्ण रूपमा प्राप्त नभइसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध छ,’ निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघभित्र प्रतिनिधि छनोटलगायतका विवाद मिलाउन अध्यक्ष पन्तले यसअघि नै संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, डा. यादव पण्डित, एनआरएनए सचिव गौरीराज जोशी र संघका प्रवक्ता डिबी क्षेत्री रहेको चारजना रहेको समिति गठन गरेका थिए । तर, समिति प्रतिनिधि विवाद मिलाउन छोडेर भागबण्डामा केन्द्रित रहेपछि विवाद आएको छ ।
भागबण्डा प्रस्तावलाई अध्यक्षका प्रत्यासी डा. बद्री केसी र रविना थापाले अस्वीकार गर्दै निर्वाचन माग गरेका छन् । यसअघि पाटन उच्च अदालतले संघको निर्वाचनको बाटो खोल्दै डिसेम्बर महिनाभित्र निर्वाचन गर्न आदेश दिएको थियो ।





