भरतपुर, ४ पुस ।
नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । चितवनबाट युवा नेता दिनेश कोइराला कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
परिणाम अनुसार डा.शशांक कोइराला सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट पाएर पनि खोसिएपछि दिनेश कोइराला चर्चामा आएका थिए । उनको टिकट खोसेर कांग्रेसले माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो ।
खुल्ला तर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका कोइरालाले केन्द्रीय समितिमा चितवनको रिक्तता पूर्ति गरेका छन् । हालसम्म चितवबाट केन्द्रीय समितिमा कसैको प्रतिनिधित्व हुन सकेको थिएन ।
त्यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरी खतिवडा, रमेश लेखक , ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननरसिंह केसी शीर्ष १० मा रहँदै निर्वाचित भएका छन् ।
त्यस्तै गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडु, मोहनबहादुर बस्नेत , बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दीपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल र डा. गोविन्दराज पोखरेल शीर्ष २५ भित्र अटाएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा.गोपाल दहित र मोहन आचार्य शीर्ष ३५ भित्र समेटिएर निर्वाचित हुन सफल भएका छन् ।
कांग्रेसमा ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा ९९ प्रतिस्पर्धी थिए । युवा नेता कोइराला २८ नम्बरमा छन् ।
३६ औं स्थानमा रहेका नेविसंघका पूर्व महामन्त्री मनोनमणि आचार्य केन्द्रीय सदस्य बन्न असमर्थ रहे । शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो ।
गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो । निर्वाचन समितिले हालसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरेसकेको छ ।





