अजित उत्सवका कवितालाई वाहवाही

भरतपुर, ४ पुस ।
मलाई हानिएको होइन
मलाई फालिएको होइन
म आफैं गएको हुँ श्रीमान,
मलाई दश वर्ष लगाएका खुट्टा खोज्दै

म उहि जुत्ता हुँ
जो दश वर्ष खुट्टाको कवच बनेर
जंगलमा लडिरह्यो
राता मानिसहरूको रक्षक बनेर
परेड खेलिरह्यो
सुनिरह्यो वर्ग संघर्षको चर्काे भाषण
दौडिरह्यो युद्धको मैदानमा
खुट्टाहरूलाई साथ दिइरह्यो ।

प्रस्तुत कविता कवि अजित उत्सवको भर्खरै प्रकाशित कविता संग्रह आकाशगंगाको किनारबाट लिइएको हो । ‘अदालतमा जुत्ताको बयान’ शीर्षकको यो कविता शनिबार नारायणगढमा आयोजित एक कार्यक्रममा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले वाचन गरे । कविताले वाहवाही पायो ।

ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले शनिबार नारायणगढमा आयोजना गरेको पुस्तक विमर्श तथा एकल कवितावाचन कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीले ‘कविता कोर्ने होइन, लेख्ने होइन, कविता रचना गर्नु पर्छ, तपाईंका केही कविता साँच्चै कविता बनेका छन्’ भन्दै कविलाई हौसला प्रदान गरेका थिए ।
कार्यक्रममा कवि अजित उत्सवले आकाशगंगाको किनार, अनुहार मान्छे र शहर, मज्जा, विभेद र भीड गरी पाँच वटा कवितावाचन गरेका थिए । प्रमुख अतिथि क्षेत्रीले समुन्द्रको गीत र अदालतमा जुत्ताको बयान वाचन गरेका थिए ।
चितवन साहित्य परिषदमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता ओम कार्की साहित्य प्रतिष्ठानकी अध्यक्ष अम्बिका कार्कीले गरेकी थिइन् । कार्यक्रम अविरल यात्रीले सञ्चालन गरेका थिए ।

आकाश गंगाको किनारमा ५४ वटा कविता छन् । १४८ पेजको यो पुस्तक बिएन पुस्तक संसारले बजारमा ल्याएको हो । पुस्तकको मूल्य २५० रुपैयाँ अंकित छ । यस कविता संग्रहमा देश प्रेम, राजनीतिक व्यङ्ग्य, वैदेशिक रोजगारीमा भोग्नुपरेको पीडा, प्रकृति, प्रेम र वासनामाथि लेखिएका कविता छन् ।

कवितामा देश प्रेम, राजनीतिक व्यङ्ग्य लगायत प्रेम र वासना समेत रहेकाले साँच्चै कविताको स्वाद लिनको लागि आकाशगंगाको किनार पढ्नै पर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट