ओमशान्तिका विद्यार्थीसँग कृष्ण अविरलको पठन छलफल

भरतपुर, ३ पुस ।
ओम शान्ति एकेडेमी भरतपुरमा कक्षा १० मा पढ्ने विकास घिमिरेले लेखक कृष्ण अविरललाई प्रश्न गरे `पढाइमा असफल मान्छे साहित्य लेखनमा भने कसरी सफल बन्नु भयो ?´ शुक्रबार ओमशान्ति एकेडेमीले आयोजना गरेको लेखकसँग विद्यार्थी कार्यक्रममा लेखक कृष्ण अविरलले विद्यार्थीहरूसँग पुस्तकका सन्दर्भमा अन्तरक्रिया गरे । विद्यार्थी घिमिरेले सोधेको प्रश्नको जवाफ दिँदै लेखक अविरलले भने -`सबैभन्दा पहिला इच्छा हुनुपर्छ, त्यसपछि निरन्तर लगाव राख्नुपर्छ । आफ्नो इच्छाशक्तिमा निरन्तर मेहनत गरियो भने जुनसुकै काममा पनि सफल हुन सकिन्छ ।´

लेखक अविरलले आफू पढाइमा अब्बल नभए पनि सानैदेखि साहित्य लेखन पठन र पत्रकारितामा रुचि राख्ने स्वभावको भएको बताए । कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी सहभागी थिए । विद्यार्थीमाझ उभिएका अविरलले विद्यार्थीलाई आफ्ना बाल्यकालीन सन्दर्भ मात्रै सुनाएनन्, स्कुले जीवनदेखि नै पाठ्यक्रमका अलावा अतिरिक्त पुस्तक पनि पढ्न सुझाव दिए । अतिरिक्त पुस्तक पढ्नाले समग्र जीवन जगतलाई बुझ्न सजिलो हुनुका साथै कुनै पनि किसिमका काम गर्न सहज हुने उनले विद्यार्थीलाई सुनाए ।

कार्यक्रममा लेखक अविरलले विद्यार्थीले कस्ता किताब पढ्ने, पढ्ने वानीको विकास कसरी गराउने बिसयमा विद्यार्थीहरूसँग छलफल गरेका थिए । लेखकका कुरा सुनेपछि विद्यार्थीहरूले लेखक अविरललाई केही जिज्ञासा राखेका थिए । विद्यार्थीहरू दिवस महारण, चेतना अधिकारी, अनुस्का मोहन खत्री, सुभांशु घिमिरे, अमिषा लामिछानेलगायतले लेखकलाई साहित्य लेखन र पठनका सन्दर्भमा विभिन्न प्रश्नहरू राखेका थिए । प्रश्नहरूमाथि लेखक अविरलले पालैपालो जवाफ पनि दिएका थिए । कार्यक्रममा उत्कृष्ट प्रश्न सोध्ने विद्यार्थीहरू चेतना अधिकारी, अनुष्का मोहन खत्री र सुभांशु घिमिरेलाई लेखक अविरलले आफ्ना कृतिहरू `करिया´ र `फेल हुने केटो´ उपहारस्वरूप प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकबहादुर श्रेष्ठले विद्यार्थीहरूलाई पढाउनका लागि विद्यालयको पुस्तकालयमा नेपाली र अङ्ग्रेजी भाषाका उपयोगी पुस्तकहरू उपलब्ध गराइएको बताए । सहायक प्रधानाध्यापक राजिव चालिसेले विद्यार्थीहरूलाई अतिरिक्त पुस्तक पढ्नलाई रुचि जगाउन विद्यालयले पुस्तक चर्चा कार्यक्रम गरिरहेको बताए । कार्यक्रममा पुस्तक व्यवसायी लेखराम सापकोटा र पत्रकार अविरल यात्रीले पनि विद्यार्थीलाई जीवनी र समसामयिक बिषयका किताब पढ्न उपयोगी हुने सुझाव राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाली भाषा शिक्षक कविता शर्माले गरेकी थिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट