शिव गौतम
भरतपुर, ४ कात्तिक
वैदिक सनातनी धर्मावलम्बीहरूका लागि श्रीमद् भागवत् एउटा महत्त्वपूर्ण ग्रन्थ हो । नेपाली समाजमा पनि भागवत् पुराण लगाउने चलन पहिल्यैदेखि चल्दै आएको छ । भागवत् सुन्दा र सुनाउँदा पुण्य प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक पूर्णशंकर गौतम भन्छन्, “नेपाली समाजमा विभिन्न समयमा सप्ताह पुराण लगाउने चलन चल्दै आएको छ । आफ्नो शक्तिले भ्याएअनुसार पुराण लगाउने गरिएको छ ।” भागवत्भित्र गहिरो रहस्य लुकेको छ भन्ने कुरामा पाश्चात्य समाज पनि सहमत भइसकेको छ । भागवत् सुन्ने र सुनाउने गर्नाले शरीर मात्र नभई मनलाई पनि फाइदा हुने विभिन्न अध्ययन तथा अनुसन्धानहरूले देखाएका छन् ।
यस अर्थ पनि भागवत् कुनै धर्म विशेषको नभई सम्पूर्ण मानवजातिकै ग्रन्थ बन्न पुगेको छ । तर, पछिल्ला समय विशुद्ध ज्ञान प्राप्तिका लागि भागवत् पुराण लगाउने क्रम कम हुँदै गएको छ । विभिन्न आयोजना पूरा गर्ने लक्ष्य राखी पैसा संकलनका लागि पुराण लगाउने क्रम बढ्दै जान थालेको छ । यस्ता अभ्यासले भागवत्को महत्त्वलाई पनि हलुका बनाइदिएको ज्ञाताहरूको भनाइ छ । “अचेल सप्ताहमा पनि विकृति भित्रिएको छ । कुनै भवन बनाउनुप¥यो तर पैसा पुगेन भने भागवत्लाई विकल्पमा राख्छन्”, गौतम थप्छन्, “अझ कतैकतै त सप्ताहमा चन्दादाताले दिन्छु भनेर बोलेको रकम पनि नदिने गरेका छन् । दान त एउटा हातले दिएको अर्काे हातले थाह नपाओस् भन्ने चलन थियो । त्यो पनि बिगारिसके ।”
नेपाल संस्कृत विश्वविद्यालयकै अर्का सहप्राध्यापक नवराज पाण्डे भन्छन्, “भागवत्ले निष्काम कर्म सिकाउँछ । त्यसैले पनि कुनै पनि कुराको आशा नराखी भागवत् पुराण लगाउनु उत्तम मानिन्छ । जसरी महात्माहरूले भागवत् लगाउनुहुन्छ, त्यसरी नै चिन्तन गर्न भागवत् आदि पुराण लगाइनुपर्ने हो । तर, मानिसको आस्थाको फाइदा लिएर चन्दा र सहयोग उठाउन भागवत् पुराणहरूको सहयोग लिने गरिएको छ । यो प्रवृत्तिलाई चाँहि ठीक भन्न मिल्दैन ।” भागवत्लाई सधैं धन संकलनका लागि मात्रै आयोजना गर्ने हो भने यसको मूल मर्म प्राप्त गर्नबाट हामी सधैं वञ्चित रहनेछौं । भागवत् पुराण आदिको महत्त्व जोगाउन पनि सम्बन्धित पक्षहरूले यस्ता विकृतिहरूलाई हटाउनुपर्ने देखिन्छ ।





