तिहारलाई सयपत्री फूल तयार

विप्लव काफ्ले
भरतपुर, ४ कार्तिक
चितवनमा सयपत्री फूल खेतीतर्फ किसान आकर्षित भएका छन् । तिहारलाई लक्षित गरी फूलखेती गर्ने क्रम बढ्दो छ । माडी–७, किर्तनपुरमा करिब ९ कठ्ठा क्षेत्रफलमा व्यावसायिक फूलखेती सुरु भएको छ । ७ जना मिलेर खेती गरेका छन् ।
“तिहारकै लागि ५ हजार माला उत्पादन हुँदैछ”, किसान फणिन्द्रनाथ दुवाडीले भने, “बजारीकरणको समस्या छ, भरतपुर लगेर बेच्ने योजनामा छौँ ।” उनीसहितको समूहले यो वर्षदेखि फूलखेती सुरु गरेको हो । उनका अनुसार तिहारमा करिब ३ हजार माला तयार हुनेछ । “किराको असाध्यै प्रकोप छ, प्राविधिक जनशक्ति नहुँदा जोगाउनै गाह्रो छ”, उनी भन्छन्, “फूलखेतीलाई प्रोत्साहन गर्न सरकारी प्राविधिक जनशक्तिले रोग, किराबारे परामर्श दिनुपर्छ ।”
भरतपुर–२३, जगतपुरमा महिलाहरु मिलेर मनकामना सयपत्री समूह गठन गरी खेती सुरु गरेका छन् । १५ कठ्ठामा फूलखेती गरेका छन् । समूहकी अञ्जना गौतम फूलखेतीले उत्साह थपेको बताउँछिन् । “यो वर्षबाट सुरु गरेका छौँ, अर्को वर्ष हरेक टोलमा समूह बनाएर खेती बढाउने योजना छ”, उनले भनिन्, “यसपालि बजार खोज्न गाह्रो छ, बजारमा स्टल नै बनाउने वा गाडी लिएर बेच्न जाने, सोच्दैछौँ ।” वडा कार्यालयले १ वर्षको जग्गा भाडा र मनकामना सहकारीले बीउ सहयोग गरेको थियो ।
“मालाको बजार राम्रो छ, माग पनि धेरै छ”, उनले भनिन्, “तर, प्रतिस्पर्धा धेरै हुन्छ, थोक बिक्रेताहरुसँग पनि छलफल भइरहेको छ ।” विगतमा घरमा सामान्य २–३ बिरुवा लगाउने गरेपनि तिहारका बेला प्रायः बजारबाटै माला ल्याउनुपरेको उनी सम्झिन्छिन् । “यसपालि आफ्नै खेतमा फूल छ, स्थानीयलाई पनि सहज हुन्छ”, उनले भनिन्, “वर्सेनि फूलखेती गर्ने सोच छ ।” भरतपुर–७, उज्जवल टोलमा एक दर्जन बढीले एक्लाएक्लै खेती थालेका छन् ।
४ वर्ष पहिले सयपत्री समूह बनाएर डेढ विघामा खेती गरिएको थियो । गतवर्ष सो समूहले ८ हजार माला बेचेको थियो । हाल सो समूह छैन । तर, टोलमा व्यक्तिगतरुपमा खेती गर्ने बढेका छन् । “घरघरमा फूलखेती सुरु भएको छ”, उज्ज्वल टोलका अध्यक्ष ईश्वरकुमार श्रेष्ठ भन्छन्, “यो वर्ष पनि ६ हजार माला यही टोलबाट बिक्री हुने अवस्था छ ।” उनी उज्ज्वल नर्सरीका सञ्चालक हुन् । उनले ३ कठ्ठाको खेतीलाई ५ वर्षदेखि निरन्तरता दिएका छन् ।
“वर्षभरि नै सयपत्री बेच्दै आएका छौँ”, उनी भन्छन्, “यो तिहारमा उज्ज्वल टोललाई संकलन केन्द्र तथा बिक्री केन्द्रका रुपमा चिनाइनेछ ।” उनले यही वर्ष फूलखेती सुरु गरेकाहरुबाट समेत फूल संकलन गरी बेच्ने योजना सुनाए । उनका अनुसार गतवर्ष उज्ज्वल नर्सरीबाट ३० हजार फूलको माला बिक्री भएको थियो ।
“फुल बिक्रि भएन भनेर चिन्ता गर्नुपर्दैन”, उनी भन्छन्, “विगतदेखिनै हामीकहाँबाट धेरै बजारमा खपत हुदैआएको छ, बजारीकरणमा सघाउन तयार छौँ ।” उनका अनुसार सयपत्री फूलको आयु १ सय २० दिनको हुन्छ । फूल फुल्न थालेको प्रत्येक बिरुवाबाट २० दिनसम्म फूल टिपन सकिन्छ । एक फूलबाट ७ वटासम्म माला बन्न सक्छ । उनका अनुसार ३५ रुपैयाँमा फूलको माला खरिद हुनेछन् । ती मालाको बजार मूल्य ७० रुपैयाँ पर्छ । थोक बिक्रेतालाई ५० रुपैयाँसम्म पर्छ ।
भरतपुर–४ लंकुमा डा. भोजराज अर्यालसहितको समूहले ३ कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको छ । यो समूहले गतवर्ष १ लाख ७५ हजार रुपैयाँ बराबरको माला बेचेको थियो । “यो वर्ष ३ लाख बराबरको माला बेच्ने योजना छ”, अर्याल भन्छन्, “भारतीय माला आयात नहुने हो बजार राम्रो पाउँछ ।” उनका अनुसार लंकू क्षेत्रमा हरेक घरधुरीले सयपत्री खेती सुरु गरेका छन् । भारतबाट सस्तो मूल्यमा आउने मालाको बजारले स्वदेशी मालाले बजार पाउन केही कठिन हुने गरेको बताउँछन् । “बेमौसममा समेत फूलखेती गर्न किसानलाई प्रोत्साहन गर्न जरुरी छ”, उनले भने, “तालिम, भण्डारण विधिबारे जानकारी दिनुपर्छ ।”
भरतपुर–२६ ज्योतिनगरका दीपक पाख्रिन १३ वर्षदेखि सयपत्री खेती गर्दै आएका छन् । उनको पाख्रिन एग्रो फ्लोरा फर्म छ । उनले फूल मात्रै होइन, करिब ३६ केजी बीउसमेत स्थानीयलाई बेचे । “व्यापारीलाई नियमित माला दिन कठिन छ”, उनी भन्छन्, “भारतबाट भनेजति परिमाण पाइरहेकै छन्, हामीले दैनिक ५ सय माला उत्पादन गर्न पनि गाह्रो छ ।”
उनले अहिले १ विघामा सयपत्री खेती गरेका छन् । यसपालि तिहारमा ३ हजार माला बेच्ने योजना उनको छ । उनले गतवर्ष ५ लाख बराबरको सयपत्री माला बेचेका थिए । फ्लोरिकल्चर एशोसिएशन चितवनका अध्यक्ष प्रकाश पन्तले चितवनमा हाल १५ विघामा फूलखेती भइरहेको बताए । “केही वर्ष यता समूहबाट सपयपत्री फूलखेती गर्ने क्रम बढेको छ”, उनी भन्छन्, “यो वर्ष यहींको उत्पादनले पुग्छ, करिब १० प्रतिशत मात्रै आयात गरे पुग्छ ।”
जिल्लामा ५० विघामा व्यावसायिक फूलखेती गरिँदै आएको छ । चितवनबाट उत्पादित फूलको माला हेटौंडा, पोखरा, काठमाडौंसम्म बिक्री हुने गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट