चितवनका चिकित्सक सुरक्षाको माग गर्दै आन्दोलित

विप्लव काफ्ले
भरतपुर, ४ कात्तिक
बिरामीको मृत्युपछि अस्पताल तोडफोड गरिएपछि चितवनका चिकित्सकहरु आन्दोलित बनेका छन् । नेपाल चिकित्सक संघ–चितवनले चिकित्सक असुरक्षित बनेको भन्दै सुरक्षा माग गरेको छ ।
उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि आक्रोसित समूहले भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार तोडफोड गरेको थियो । घटनापछि चिकित्सक संघले असुरक्षाको कारण देखाउँदै आकस्मिकबाहेकका सबै सेवा ठप्प गर्ने चेतावनीसम्म दिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बुझाइएको ६ बुँदे मागहरु २४ घण्टाभित्र पूरा नभए सेवा बन्द गर्ने जनाएको छ ।
शनिबार साँझ नवलपुर मध्यविन्दु नगरपालिका–९ की ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा मृत्यु भएको थियो । दीर्घ पिनासको उपचार गर्न आएकी आशाको २६ गते शल्यक्रियापछि अवस्था झनै बिग्रिएको थियो । उनमा संक्रमणको लक्षण देखिएपछि उच्च खालका एन्टिबायोटिकको प्रयोग गरिएको थियो । मिर्गौलामा समेत खराबी भएको मेडिकल कलेजको भनाइ छ । प्लेटलेट्स कमी भई रगत पातलो हुन थालेपछि रगत चढाइएको थियो भने रक्तचाप कम भएपछि बढाउने औषधि चलाइएको थियो । त्यस्तै श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । तर, उपचार सफल हुन सकेन ।
मृतकका आफन्त तथा शुभेच्छुकले उपचारमा लापरबाही भएको भन्दै नाराबाजी गरेका थिए । सोही क्रममा अस्पतालमा जम्मा भएको भीडले अस्पतालको गेटमा तोडफोड ग¥यो । भीड हटाउन प्रहरीले ४० सेल अश्रुग्याँससमेत हानेको थियो ।
“तोडफोड गर्नेलाई तुरुन्त कारबाही हुनुपर्छ”, संघका अध्यक्ष डा. प्रकाश खतिवडाले भने, “ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही हुनुपर्छ, चिकित्साकर्मीहरु त्रसित छन्, सुरक्षित वातावरण बनोस् ।” उनले स्वास्थ्य संस्थालाई सुरक्षा दिन माग गरे । उपचारमा संलग्न चिकित्सकको नामसमेत उल्लेख गरी ‘हत्यारा’ शब्द प्रयोग गर्दै नाराबाजी गरिएको तथा सामाजिक सञ्जालमा लेखिएकोले साइबर क्राइमअन्तर्गत दोषीलाई कारबाही गर्नुपर्ने माग उनले राखे ।
अशान्ति र असुरक्षाका बीच काम गर्न नसिकने भन्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको ध्यानाकर्षण गराए । संघका केन्द्रीय सदस्य डा. अनिलविक्रम कार्कीले अस्पतालमा हुने गुण्डागर्दी शैली रोकिनुपर्ने बताए । “उपचारका क्रममा मृत्यु हुनासाथ ‘बार्गेनिङ’ गर्ने संस्कार बढेको छ”, उनले भने, “उपचारमा कमजोरी भए छानबिन गर्नुपर्छ, दोषी भए कारबाहीको माग गर्ने हो, तर सुरुमै पैसा मागेर तोडफोड गर्नु गलत हो ।” उनले स्वास्थ्य सुरक्षा बल गठन गरी अस्पताल क्षेत्रलाई पर्याप्त सुरक्षा दिइनुपर्ने बताए । “तोडफोड गर्नेमाथि कारबाही नभए देशव्यापी आन्दोलन गर्छौँ”, उनले भने, “अस्पताललाई असुरक्षित बनाउन दिनुभएन ।” जिल्ला संघका निवर्तमान अध्यक्ष डा. कृष्णप्रसाद पौडेलले गिरोह परिचालन गरी तोडफोड गर्ने काम रोक्नुपर्ने बताए ।
“चितवनका घटना हेर्दा अधिकांश अस्पताल तोडफोडका घटनामा एकै प्रकृतिका मान्छे देखिन्छन्”, उनले भने, “अकस्मात बाहिरबाट आएर तोडफोड गर्नेलाई कारबाही गरिनुपर्छ ।” चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्सालले मृतक परिवारबीच छलफल भइरहेकै बेला तोडफोड गरिएको उनले बताए । “उपचारबारे हामीले हरेक जानकारी बिरामीका आफन्तलाई दिइरहेकै थियौं, छलफल भएकै बेला घटना भयो”, उनले भने, “त्रासको वातावरण भयो, अवस्था आँकलन गर्न सकिएन, अस्पतालमा क्षति पुग्यो ।” उनले तोडफोडमा संलग्नलाई कडा कारबाही हुनुपर्ने बताए । उपचारमा लापरबाही भएको भन्दै बिरामीका आफन्ती आन्दोलित हुन थालेपछि अस्पतालले आन्तरिकरुपमै छानबिन समिति बनाएको थियो । सो समितिले प्रतिवेदन बाहिर ल्याउन नपाउँदै तोडफोड हुन पुगेको थियो ।
घटनाबारे छानबिन हुन्छ ः प्रजिअ
चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले घटनाबारे दुई किसिमको छानबिन गरिने बताए । “उपचारमा लापरबाही छ–छैन, त्यो छानबिन गर्न मेडिकल काउन्सिललाई पत्र लेखेका छौँ”, उनले भने, “तोडफोडमा संलग्नलाई कानूनी कारबाही हुन्छ ।” उनले उपचारमा लापरबाही भएको बहाना देखाउँदै अस्पताल नै तोडफोड गर्नु गलत भएको बताए ।
“सूक्ष्म निगरानीमा छौँ, तोडफोडका बेला सीसी क्यामेरा फूटेजमा देखिएका अनुहारलाई पक्राउ गरिनेछ, हाल १२ जना पक्रिएका छन्”, उनले भने, “बिरामीको मृत्युको बहाना देखाउँदै रकम बार्गेनिङ काम रोक्छौँ ।” उनले चितवन मेडिकल कलेजमा यही महिनामै यस्तै प्रकृतिका २–३ घटना भइसकेकाले अस्पतालमा तोडफोड, नाराबाजीलगायत घटना हुन नदिन छानबिन, वार्ता आवश्यक देखिएको बताए । “उपचारका क्रममा मृत्यु हुँदा मिलेमतो गर्ने, बार्गेनिङ नमिलेपछि मात्रै सुरक्षाको जिम्मा लगाउने प्रवृत्ति हटाउनुपर्छ”, उनले भने, “बेलैमा सूचना आएमा यस्ता घटना रोकिनेछन् ।”
उनले स्वास्थ्य क्षेत्रलाई समेत संवेदनशील मान्दै हरेक सुरक्षा योजनामा समेट्दै आएको बताए । उनले अस्पतालमा आक्रोशित भीड बढ्न थालेको सूचना बेलैमा स्थानीय सुरक्षा र प्रशासनलाई जानकारी गराउनुपर्ने बताए । उनले तोडफोडमा संलग्न व्यक्तिहरु अन्य अस्पताल तोडफोडका बेलासमेत संलग्न व्यक्तिहरु भएको अनुमान गरेको बताए । “प्रत्येक अस्पतालमा एउटै अनुहार देखिन्छन्, सिसा फुटाउने, ढुंगा हान्नेहरु”, उनल भने, “त्यस्ता तत्वलाई बेलैमा कारबाही गर्छौँ । अत्यावश्यक सेवालाई बन्द, हड्ताल आन्दोलनबाट होइन, वार्ता संवाद र गलत गर्नेलाई कानुनी दायरामा ल्याउने हो । अनुसन्धान प्रक्रियामा सहयोग गर्नुस् ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट