भरतपुर, १६ फागुन
नारायणगढको क्याम्पाचौरमा बिहीबार फागुन १६ देखि १६ औं मेयर्स चितवन च्याम्पियनसिप ट्रफी–२०७५ क्रिकेट प्रतियोगिता हुँदैछ ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा २०५७ सालदेखि निरन्तर गरिदै आएको प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुने छ ।
यसअघि संघले मात्रै गर्दै आएको प्रतियोगितामा यसपालि भरतपुर महानगरपालिकाको सहकार्य रहेको एशोसिएशनका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । प्रतियोगिताको सबै तयारी पूरा भएको अध्यक्ष प्रधानले जानकारी दिए ।
प्रतियोगितामा कूल ६ टिम सहभागी हुँदै छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएका छन् । समूह ‘ए’ मा चितवन क्रिकेट क्लब, मकवानपुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमी छन् भने समूह ‘बी’ मा भरतपुर क्रिकेट क्लब, वाईवाई ग्रेट हिमालयन क्रिकेट एकेडेमी र वीरगञ्ज क्रिकेट क्लब रहेको चितवन जिल्ला क्रिकेट एशोसिएशनका सचिव उमेश पियाले जानकारी दिए ।
प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो दिन २–२ खेल खेलाइने छ भने अन्तिम दिन फाइनल गरिने छ । समूह चरणमा हरेक टिमले दुई खेल खेल्ने छन् । र, बढी अंक प्राप्त गर्ने दुई टिमले फाइनल खेल्ने छन् ।
प्रतियोगिता जित्नेले नगद एक लाख रुपैयाँसँगै ट्रफी र मेडल जित्ने छ । दोस्रोले पचास हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छ । प्रतियोगिता अवधिभर हरेक खेलमा म्याद अफ दी म्याच पुरस्कार तीन हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यानलाई पाँच हजार र ट्रफी, उत्कृष्ट बलरलाई पाँच हजार र ट्रफी तथा उत्कृष्ट खेलाडीलाई दश हजार रुपैयाँ नगद र ट्रफी प्रदान गर्ने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामार्फत चितवनका क्रिकेटप्रेमी खेलाडीहरुको मनोबल उच्च राख्न, खेल प्रतिभा साटासाट गर्न, खेलाडी खेलाडीबीच साथित्व भावना प्रगाढ बनाउन सघाउ पुग्ने चितवन क्रिकेट एशोसिएशनका अध्यक्ष प्रधानले बताए ।
प्रतियोगिता क्यानद्वारा मान्यता प्राप्त अम्पायरबाट गराइने प्रतियोगिता अवधिभर खेलाडीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी बीमाको व्यवस्था गरिएको उनले जानकारी दिए ।





