भरतपुर, १६ फागुन
धुर्मुस–सुन्तली फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि चितवनबाट सकारात्मक सन्देशको अपेक्षा रहेको बताएकी छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणापछि आएका विभिन्न टिकाटिप्पणीले आफूलाई योजनामा दृढ रहन मद्दत पुगेको भन्दै उनले चितवनबाट सकारात्मक साथको आग्रह गरेकी हुन् ।
भरतपुर–१५ मा निर्माण गर्ने भनिएको रंगशालाको स्थलगत कार्यसम्पादन अनुगमनका लागि चितवन आएकी घिमिरेले बुधबार पत्रकारसँग अन्तरक्रिया गर्दै सकारात्मक चिन्तनले सुरु गरेको कार्यमा आउने नकारात्मक टिकाटिप्पणीबाट आफू हतास नभएको बताइन् ।
आमाबुवाले दिनुभएको नाम बिर्साउने गरी दर्शकबाट पाएको माया, साथ र सहयोगले नै फाउण्डेसनको जन्म भएको भन्दै दर्शकको मन दुखाउने काम नगर्ने उनले दावीसमेत गरेकी छन् । भरतपुर महानगरले उपलब्ध गराएको २० विघा जग्गामा निर्माण गर्न लागिएको रंगशालामा प्रत्येक नेपालीले अपनत्व महसुस गर्नका लागि नै सहयोग आह्वान गरिएको उनले प्रष्टयाइन् । “यो रंगशाला हाम्रो पुस्ताको लागि मात्र निर्माण गर्न लागिएको होइन”, घिमिरेले भनिन्, “अबका कयौं पुस्ताको लागि हाम्रो काम उदाहरण बन्न सक्छ भने सहयोग र अपनत्व ग्रहण किन नगर्ने ?”
सहयोग संकलनका लागि हात फैलाइरहेको फाउण्डेसनले ३ अर्बको सहयोग जुटाउने लक्ष्य राखेको छ । ३ करोड नेपालीले हात अघि सारे ३ अर्ब जुट्न समय नलाग्ने अन्तरक्रियाको क्रममा कुञ्जनाले दोहो¥याइन् । उनले भनिन्, “एक जनाले दिने ३ अर्ब होइन हरेक नेपालीले दिने माया हामी जुटाइरहेकाछौं ।”
मलेसियामा अपेक्षाकृत सहयोग रकम नजुटेको प्रसंगमा कुञ्जनाले त्यसलाई नकारिन् । रंगशाला निर्माणको घोषणा पूर्व नै तय भएको कार्यक्रममा हतारमा सहयोग रकम जुटाउने योजना बनेकोले केही कम रकम संकलन भएपनि मलेसियामा रहेका नेपालीहरु अत्यन्तै सकारात्मक रहेको उनको भनाइ छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरको आयोजनामा मलेसियामा भएको कार्यक्रमको अन्तिम तयारीका क्रममा सहयोग संकलनको योजना बनेको उनले प्रष्ट्याइन् । “पहिल्यै तय भएको कार्यक्रममा दर्शकले आफ्नो पकेट मनी काटेर सहयोग गर्नुभयो”, कुञ्जनाले भनिन्, “उहाँहरु कतिले त सायद आफ्नो तलबसमेत बुझ्न पाउनुभएको थिएन होला ।” कार्यक्रममा सहभागी हुन नपाएका थुप्रै नेपाली अझै पनि सहयोगका लागि सकारात्मक रहेको उनले बताइन् । ७२ सालको भूकम्पले नेपालीलाई सामाजिक एकताको विन्दुुमा ल्याएको उनले स्मरण गरिन् । “भूकम्पले तर्साएका नेपाली र सहयोगका लागि जोडिएका नेपाली सम्झिएका छौं,” कुञ्जनाले भनिन्, “केही नकारात्मक टिप्पणीले हामीलाई कमजोर होइन, अझै परिपक्व बनाउँदै लगेको छ ।”
भूकम्पपछि राहत सामग्री वितरण गर्दा जन्मिएको फाउण्डेसनले ४ वटा नमूना बस्ती निर्माण गरेको छ । नमूना नेपालको संकल्प लिएर अघि बढ्दै गर्दा अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई प्राथमिकतामा राखिएपनि नमूना नेपालको निर्माण स्थगित नभएको घिमिरेले बताइन् । नमूना नेपाल निर्माणका लागि जुटेको रकमसमेत रंगशाला निर्माणका उपयोग गरिने उनले बताइन् ।
हाल रंगशाला निर्माण स्थलमा पर्खाल लगाउने काम भइरहेको छ । फाउन्डेसनले चितवनमा समेत फिल्ड कार्यालय राख्ने गरी विभिन्न पदमा कर्मचारी आह्वान गरेको छ । ६ महिनामा विस्तृत गुरुयोजना बन्ने र शिलान्यासको दुई वर्षमा निर्माण कार्य सक्ने फाउन्डेसनको दावी छ ।





