लेखराम सापकोटा
‘ऐना’ उपन्यास मदन पुरस्कारको मनोनयनमा परेपछि धनगढीका रामलाल जोशीको चर्चा एकाएक चुलिँदै गयो । लगत्तै उनले सोही कृतिका लागि मदन पुरस्कार पनि प्राप्त गर्न सफल भए ।
त्यसपछि रामलाल जोशी नेपाली साहित्य जगतका राष्ट्रिय गहनाका रूपमा सुप्रसिद्ध छन् । ऐना सुदूरपश्चिमको कथा हो । त्यस भेकका मिठा, नमिठा कथानकका विभिन्न स्वादले कृति भरिएको छ । उनै स्रस्टाको पछिल्लो कृति ‘सखी’ यतिबेला देशभित्र र बाहिर रहेका नेपाली साहित्यका पाठकका लागि मिठो खुराक बनिरहेको छ ।

मदन पुरस्कार प्राप्त लेखकको कृतिको हिसाबले पनि सखी आम पाठकको रोजाइँमा परेको छ । सखीमा एउटी सीमान्तकृत कमलरी केटीको संघर्ष, समर्पण र सफलताको कथा छ । यस कारणले पनि सखी साहित्य बजारको एउटा अब्बल किताबको रूपमा दरिएको छ ।
उनै जोशी आफ्नो पछिल्लो कृति सखीको अन्तरक्रियाका सन्दर्भमा शनिबार चितवनमा प्रस्तुत भए । चितवन साहित्य परिषद्को आयोजनामा नारायणगढमा गरिएको कार्यक्रममा सखीका सन्दर्भमा रहेर केही वक्ताहरुले टिप्पणी राखे । समीक्षक लक्ष्मी बरालले सखीले उठाएको मनोविज्ञानका बारेमा पाठकीय धारणा राख्दै सखी प्रेम मनोविज्ञानको उत्कृष्ट किताब भएको दावी गरिन् ।
त्यसपछि सखीले उठाएको सामाजिक पाटोका बारेमा अर्का समीक्षक रमेश प्रभातले बोले । प्रभातले सखीले उठान गरेको कथा आफ्नो समयको भएको भन्दै उपन्यास पढ्दा ‘नोस्टाल्जिक’ भएको बताए । हातमा चक्कु रोपेर निस्किएको रगतले लेखिएको चिठ्ठी मन परेको मान्छेलाई पठाउने र ऊबाट पनि प्रेमको अपेक्षा गर्नु एउटा बलियो सामाजिक कथा भएको प्रभातले बताए । अर्का समीक्षक उदय अधिकारीले सखीको समग्र साङ्गोपाङ्गो केलाए ।
कमलरी, वादी तथा दासका कथालाई उपन्यासको रूपमा ल्याउँदा सकेसम्म समग्र पक्षलाई केलाएर विस्तृतरूपमा लेखिनुपर्ने उनले सुझाव दिए ।

परिचर्चा कार्यक्रममा पुस्तक पढेका पाठकलाई पनि पुस्तकका बारेमा लागेका कुराहरू राख्ने मौका दिइयो । मौकाको सदुपयोग टीकाराम रेग्मी, निर्दोष जीवन र धनराज गिरीले गरे । रेग्मीले सखीले उठान गरेको कथानकलाई विश्व साहित्यसँग तुलना गर्दै विश्व साहित्यका प्रसंगहरुको वर्णन गरे ।
धनराज गिरीले सखीले उठाएको प्रेमको विषयलाई आफ्नै ढंगले व्याख्या गरे भने कथाकार निर्दोष जीवनले सखीको कथानक मार्मिक भएको र आम पाठकलाई यो पत्याउन पनि गाह्रो हुने तर्क राखे । जीवनले सखी नेपाली साहित्य पढ्ने पाठकले छुटाउनै नहुने कृति भएको दावी गरे ।
कार्यक्रममा वक्ताहरुले बोल्ने क्रम सकिएपछि लेखक जोशी मञ्चमा पुगे । जोशीले कार्यक्रममा सहभागी हुने र कृतिका बारेमा बोल्ने सबैलाई धन्यवाद दिए । उनले किताबका बारेमा आएको जिज्ञासाको सवालजवाफ त गरेनन् । तर, पाठकको कौतुहलतालाई पालैपालो मेटाउने कोसिस गरे । सखीका कथा वास्तविक हुन् या उपन्यास बनाउने नाममा सिर्जना गरिएको कथा हो ? भनेर केही पाठकले राखेको जिज्ञासामा उनले सखीको कथा शतप्रतिशत सत्य भएको ठोकुवा गरे । उनले भने, “मेरो लेखनशिल्प कमजोर होला, पाठकलाई मिठास लाग्ने भाषा नहोला । तर, सखीमा उठान गरिएका सम्पूर्ण पात्र र तिनले भोगेको जीवन साँचो हो । लेखकले उक्त समाजको वास्तविक कथा सुनाइरहँदा दर्शक दीर्घामा रहेकाहरु कतिबेला खित्का छोडेर हाँस्थे भने कुनैबेला भावुक पनि देखिन्थे ।
सखीकै कार्यक्रम लिएर लेखक जोशी आज आइतबार पोखरामा छन् । उनी पुस्तक चर्चाकै सन्दर्भमा पाल्पा, हेटौंडा, कावासोती हुँदै शनिबार चितवन आएका हुन् ।





