
उदय अधिकारी
२०३६ सालतिरको माहोल । राजनीतिक परिदृष्य फेरिइरहेको समय । विद्यार्थी आन्दोलनले ल्याएको छाल र पञ्चायती व्यवस्थाविरुद्धको उभार । यी सबै घटनाहरुले प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पारिरहेको चितवनको शहर बन्न कोशिस गरिरहेको गाउँमा म हुर्किरहेको थिएँ । हाम्रो घर नयाँ राजनीतिक माहोलको केन्द्रजस्तो थियो ।
म थाहै नपाइकन राजाविरोधी भइसकेको थिएँ । जुलुसहरुमा हिँड्न, भाषण सुन्न कुनै रोकटोक थिएन, किनकि सबै गइरहेका थिए । स्वतन्त्रताको प्रयोग गर्न मैले आफूलाई फुक्काफाल पाएँ । भागेर फिल्म हेर्न जाने जमातको म एउटा अभिन्न अंग बन्न थालिसकेको थिएँ । हिन्दी फिल्महरुको एकलौटी शासन चलिरहेको बेलामा हाम्रा नायकहरु पनि दिलीपकुमार र अमिताभ बच्चन नै थिए । आफूलाई मनपरेका नायक र नायिकाहरुको बारेमा बढी जानकारी बटुल्ने बाटो अगाडि बढ्दा त्यसबेलाका ‘मायापुरी’लगायत फिल्म पत्रिकाहरुका नियमित पाठक बनिसकेको थिएँ म ।
हिन्दी फिल्म र पत्रिकाहरुले हिन्दी भाषामाथिको मेरो पकडलाई बलियो बनाइसकेका थिए । त्यसपछि सुरु भयो, हिन्दीका बजारु उपन्यासहरुसँगको जम्काभेट । रानु, गुलशन नन्दा, वेदप्रकाश शर्माका पुस्तकहरु पढेर साथीहरुसँग बहसमा उत्रिएको क्षण अहिले सम्झिदा रमाइलो मात्र लाग्छ ।
हिन्दीलगायत नेपाली केही सस्ता बजारिया पुस्तकहरु पढिसकेपछि हामी (म, खुमनारायण पौड्याल, युवराज भुसाललगायतको जमात) गम्भीर साहित्यको अध्ययनतिर आकर्षित भयौं । त्यसबेलाको राजनीतिक चेतना हाम्राबीचमा हुने बहस र चितवनको राजनीतिक तातोपनाले हामीलाई गम्भीर अध्ययनको क्षेत्रमा निम्त्याइसकेको थियो । २०४० ताका नै म नेपाली साहित्यका केही गम्भीर नामहरु बी.पी. कोइराला, लक्ष्मीप्रसाद देवकोटा, पारिजात र भूपी शेरचनसँग परिचित भइसकेको थिएँ । शिरीषको फूल, सुम्निमा, हिटलर र यहुदी, एक पालुवा अनेकौं याम, कट्टेल सरको चोटपटक, घुम्ने मेचमाथि अन्धो मान्छेजस्ता कृतिहरु हामी साँटेर पढ्थ्यौं र बहस गथ्र्याैं ।
अहिले सम्झिदा त्यतिबेलाको चर्चा नाम मात्रको जस्तो लाग्छ । तर, त्यतिबेलाको साहित्यको उत्साह नै आजको मेरो साहित्य पठनको जग हो भन्ने कुरामा दृढ छु । राति–राति प्रगतिशील नाटक हेर्न जानू, जनवादी गीतहरु सुन्नु, हिन्दी फिल्महरु हेर्नु, हिन्दी भाषामा उपलब्ध साहित्य पढ्नु र यी सबै गतिविधिमा घरले हस्तक्षेप नगर्नु नै भविष्यको अदृश्य गोरेटोको निर्माण थियो । नेपाली त मेरो आफ्नो भाषा भई नै हाल्यो । हिन्दी मेरो आफ्नो अर्को शक्ति भयो ।
त्यसबखत रुसमा छापिएका तोल्सतोयको युद्ध र शान्ति, अन्ना कारेनिना, पुनरुत्थान, दोस्तोवस्कीको अपराध र दण्ड, कारामाजोभ बन्धु, इडिएट, म्याक्सिम गोर्कीको आमा, मेरो बाल्यकाल, मेरो विश्वविद्यालय, आन्तोन चेखबका कथाहरु र नाटकहरु चेरीको बगैंचा, सी गल, अंकल बान्या, तीन दिदी बहिनी, रादुगा प्रकाशन र प्रगति प्रकाशनबाट हिन्दीमा छापिएर सस्तोमा नारायणगढमा नै उपलब्ध हुन थालेका थिए ।
कलेज जानु, गेम खेल्नु र यी पुस्तकहरु पढ्नु नै मेरो संसार थियो । खुमनारायण, युवराज भुसाल, मलगायत अरु साथीहरु मिलेर त्यसैबेला समाज सेवा युवा क्लब नामको एउटा संस्था पनि खोलेका थियौं, जसको पहिलो काम पुस्तकालय स्थापना गर्नु थियो । यो पुस्तकालयले लेखकहरु र पाठकहरुको एउटा जमात नै खडा र्गयो । म वीरेन्द्र क्यामपसमा पढ्न थालेपछि त्यहाँको पुस्तकालयबाट मैले नेपाली साहित्यका थुप्रै पुस्तकहरू ल्याउँथे र हामी साथीहरु साटासाट गरेर पढ्थ्यौं । त्यहाँबाट ल्याएर पढेका केही चर्चित पुस्तकहरू मध्य धुर्वचन्द्र गौतमको अलिखित र मदनमणि दीक्षितको माधवीको सम्झना मलाई अहिलेसम्म पनि छ ।
म हाइस्कूल पढ्दा मेरा भिनाजु रामकृष्ण घिमिरे हेडमास्टरको रुपमा विश्वप्रकाश स्कूल आइपुग्नुभएको थियो । उहाँ त्यसबखत नेपाली कंग्रेसका जल्दाबल्दा नेता हुनुहुन्थ्यो । उहाँको रुचि नेपाली मात्र नभएर भारतीय राजनीतिमा पनि थियो । उहाँ धर्मयुग भन्ने पत्रिका मगाउनुहुन्थ्यो र सँगै मगाउनुहुन्थ्यो ‘सारिका’ । जो त्यतिबेलाको उत्कृष्ट हिन्दी साहित्यिक पत्रिका थियो । भिनाजु मलाई आफूले पढेका केही लेखकहरु जस्तै निर्मल वर्मा, मोहन राकेश, राजेन्द्र यादवहरुको बारेमा बताइरहनुहुन्थ्यो । म समय मिलाएर सारिका र धर्मयुग उहाँको घरबाट उछिट्याएर ल्याउँथे र खुमनारायण र पालैपालो पढ्ने गथ्र्यौं । त्यसको केही समयपछि खुमनारायणजीको साथी देवान लामा ईण्डिया पढ्न गए र उनको माध्यमले हामीले हिन्दीका राजकमलले निकालेका धेरै चर्चित लेखकहरुलाई लगभग ध्यानको मुद्रामा पढ्ने गथ्र्याैं ।
प्रेम चन्दको बारेमा मात्र सुनिरहेको मलाई अचानक अत्यन्त प्रतिभाशाली लेखकहरुको एक हूलले आक्रमण ग¥यो र मैले पढेको साहित्य नै उत्कृष्ट थियो भन्ने भ्रमबाट मुक्त ग¥यो । ती मेरा लागि नयाँ लेखकहरु थिए । ती प्रतिभाशाली लेखकहरु थिए यसपाल, अमृतलाल नागर, फणिश्वर नाथ रेणु, मोहन राकेश, निर्मल वर्मा, राजेन्द्र यादव, श्रीलाल शुक्ल, भीष्म साहनी, मनोहर श्याम जोशी, मन्नु भण्डारी, उषा प्रियम्वदा आदि ।
नयाँ लेखकलाई पढ्ने सम्बन्धमा हिन्दीका फरक–फरक भेदहरुसँग पनि जम्काभेट हुन पुग्यो । रेणु, नागार्जुन र मैत्रीयी पुष्पाको हिन्दी पढेपछि मलाई के कुरामा विश्वास भयो भने कुनै दिन नेपाली हिन्दीमा पनि किताब लेखिएर पढिनेछ । त्यस समय मैले हिन्दीका केही महान पुस्तकहरूसँग जम्काभेट गर्ने मौका पाएँ । रेणुको मैला आँचल र परती परिकथा, हजारीप्रसाद द्विवेदीको वाण भट्टकी आत्मकथा, श्रीलाल शुक्लको राग दरबारी अनि पछिल्लो समय आएर मोहनदास र अलका सरावगीको ‘कलि कथा बायाँ बाइ पास’ । र यसैबेला तिर हो म सर्वेश्वर दयाल सक्सेना र केदारनाथ सिंहतिर तानिएको । मेरो हिन्दी पुस्तकहरु प्राप्त गर्ने स्रोत सिमित थियो । त्यसैले धेरै राम्रा पुस्तकहरू छुटे होलान् । तर, हिन्दी भाषाको शक्तिले ममा आत्मविश्वास हुर्काएको साँचो हो ।
सायद २०१० वा ११ तिर हुनुपर्छ, पाटन दरबारमा पाटन लिट्रेरी जात्रा भएको थियो । त्यहाँ ईन्डियाबाट अलका सारगावीलाई प्रमुख अतिथिको रूपमा निम्त्याइएको थियो । उहाँसँग संवाद कार्यक्रम पनि राखिएको थियो । संवाद गर्न सक्ने मानिसको खोजीको क्रममा मेरो नामपनि चर्चामा आएछ र मलाई अलकाजीसँग संवादको मौका मिलेको थियो । आफ्नो व्यक्तिगत सोखले पढेको हिन्दीले मलाई लेखकहरुसँगको संवादसम्म पुयाएको छ । २०१७ को जुलाईतिर म बनारसको कासी गएको थिएँ ।
बनारसमा बसेर साहित्य सिर्जना गर्ने काशीनाथ सिंहका केही रचना पढिसकेको थिएँ मैले र उनको रचना शिल्पबाट प्रभावित पनि थिएँ । म उनीसँग भेट्न चाहन्थें र उनको किताब ‘काशीका अस्सी’ किनेर हस्ताक्षर गराउन पनि चाहन्थें । प्रसिद्ध आलोचक नामवर सिंहका भाइ काशीनाथ सिंह आफ्नो रिटायर्ड जीवन बिताइरहेका थिए ।
म बनारसमा हुँदा नै फेसबुकमा एउटा सन्देश देखियो । उत्तर प्रदेशको प्रगतिशील लेखक संघले प्रेम चन्द दिवस मनाउने र काशीनाथजीले आफ्नो भर्खरै प्रकाशित उपन्यासबाट केही पढ्ने । म समयभन्दा अगाडि नै कार्यक्रमस्थल अस्सीघाट पुगे । काशीनाथजी केही समयपछि आइपुग्नु भो । मलाई लाज लागिरहेको थियो । कार्यक्रममा मलाई पनि अतिथिका रुपमा बोलाइयो । काशीनाथजी रचना वाचन गर्ने, म अतिथिको रूपमा बस्ने । म लाजले पानी–पानी भइरहेको थिएँ । साँझको बेला थियो । म आमालाई आरतीमा छोडेर आएको थिएँ । मलाई एक घन्टाभित्र आमालाई लिन जानुपर्ने थियो । मैले मेरो समस्या बताएँ । मैले केही कुरा व्यक्त गरेर जाने अनुमति पाएँ । हिन्दी भाषाले आफूलाई खडी भाषाबाट राष्ट्रको एउटा समृद्ध भाषामा स्थापित गरेको ठाउँमा उभिएर मैले प्रेम चन्द र उनकै परम्परा धानिरहेका काशीनाथ सिंहमाथि बोल्नुजस्तो मौका मलाई मेरो हिन्दी पठनले नै दिएको हो ।
फिल्म हेर्ने, गेम खेल्ने, गीत सुन्ने र साहित्य पढ्ने लत नै बसिसकेको थियो । जब कुनै चिज नशा हुन्छ, राम्रो नराम्रो छुट्याउन सक्ने शक्ति गुमिसकेको हुन्छ । घर, व्यवहार, पढाइ सम्बन्ध सबै पृष्ठ भागतिर पुगिसकेका थिएँ । नेपाली पछि हिन्दी सुरु भएको थियो । विश्वका धेरै लेखकको नाम सुनिसकिएको थियो । पुस्तकहरू पनि भेटिन थालेका थिए । मलाई महसुस हुन थालेको थियो, यदि अंग्रेजी भाषामा दख्खल नराख्ने हो भने समृद्ध ज्ञानको ढोका मेरा लागि सधैंको लागि बन्द हुनेछ ।
मैले मनमनै अठोट गरिसकेको थिएँ, अब अंग्रेजी पढ्नु छ । विश्वसाहित्यको ज्ञानको लागि मैले अंग्रेजी पढें र जबर्जस्ती पढें । पहिला भारतीय लेखकहरुबाट सुरु गरें, किनकि तिनीहरुको विषयवस्तु हामीहरुसँग मिल्दोजुल्दो थियो । आर.के. नारायण, खुसवन्त सिंह, सलमान रुस्दी, रोहिन्तन मिस्रीसँग लड्दै पढ्दै मेरो अंग्रेजी ज्ञान अगाडि बढ्यो । अल्वेयर कामु, टमस मान, ब्रेटोल्ट ब्रेख्त, पाब्लो नेरुदाहरुलाई मैले अंग्रेजीमार्फत नै पढें । अरुले पढेजस्तै गरेर मैले पनि अर्नेस्ट हेमिङ्वे, भर्जिनिया वुल्फ, समरसेट मामहरुलाई सकि नसकि अंग्रेजीमा नै पढें । अंग्रेजीमा पढ्दै जाँदा एउटा फाइदा भो । अंग्रेजीमा लेखिएका किताब देखेर नडराउने भइयो । एक दशक यता मैले अत्यन्त आनन्द लिएर पढेका किताबहरु अंग्रेजी मै लेखिएका छन् ।
केही समय अगाडि मैले लोयड जोन्सको मि. पप र जुलियस वार्नसको द सेन्स अफ एन्डिङ रस लिइ पढेको थिएँ । ‘मिडनाइट्स चिल्ड्रेन’पछि रुस्दीका केही किताबहरुले मलाई तानेनन् । तर, दुई वर्षअघि प्रकाशित उनको आत्माकथा ‘जोसेफ आन्टोन’ ले मलाई उनको शक्ति महसुस गरायो । अरुन्धती रोयको ‘द गड अफ स्मल थिङ्स’ र विक्रम सेठको ‘अ सुइटेबल बोय’ विश्वका कुनैपनि अंग्रेजी लेखकका राम्रा पुस्तकहरूसँग दाँज्न सकिन्छ । भारत र पाकिस्तान आफ्ना लेखकहरुमार्फत संसारभर फैलिरहेको छ । अंग्रेजीमा उसको उपस्थिति राम्रो छ र नेपाल पनि फैलिने प्रयासमा छ । यसको नेतृत्व मन्जु श्री थापा गर्दैछिन् । कुनैपनि भाषा सानो र ठूलो हुँदैन । तर, हामीलाई अंग्रेजीमा पुग्नुको विकल्प छैन । गाली नगरौं, सकेसम्म बढी भाषा सिकौं ।
अहिलेको लेखक निरपेक्ष बस्न सक्दैन । उसले आफ्नो जवाफ तयार गरेर मैदानमा बस्न सक्नुपर्छ । आहुतीको समृद्धिमाथिको लेख भर्खरै मैले कान्तिपुरमा पढें । प्रत्येक नयाँ लेखकका लागि हाँक हो आहुतीको यो लेख । केही दिनअघि मैले राजन मुकारुङको अन्नपूर्णमा प्रकाशित निम्ताहरुको बुमेराङ पढे र मलाई नेपाली साहित्यमा नयाँ स्वरहरुलाई स्वागत गर्न कन्जुस्याइँ भएको कुरा महसुस भयो । ‘अखण्ड आलाप’ कविता संग्रहका सर्जक मुक्तान थेबाको एउटा स्टाटस भर्खरै फेसबुकमा आएको छ । उनले लेखेका छन् ‘उन्मुक्त पुस्ता कसैलाई जात, वर्ण वा थर मिलेका आधारमा कसैलाई अन्ध समर्थन गर्दैन ।’ हामी वैचारिक पक्षधरताको आधारमा मात्रै समर्थन वा आलोचना गर्दछौं ।
नेपाली साहित्यमा वैचारिक जागरणको युग सुरु भएको छ । साहित्यले मुद्दाको उठानमा निर्णय दिने बेला आएको छ । उठेका मुद्दाहरूसँग छालिएर सिर्जना गर्नु एक प्रकारको भगाइ हो । अहिले नेपाली भाषामा लेखिरहेको साहित्य पढ्दा हामी एउटा वैचारिक तीव्रताबाट गुज्रिरहेका छौ भन्ने महसुस हुन्छ ।





