भरतपुर, १९ माघ
भरतपुर महानगरपालिकामा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बृहत ¥यालीसहितको गृह घोषणा तथा डीपीआर शुभारम्भ भोलि आइतबार गर्ने भएको छ ।
गत माघ १६ गते काठमाडौंबाट निर्माण थाल्ने घोषणा गरिएको रंगशालाको निर्माणस्थलमा काम थालनी गर्ने गरी समारोह आयोजना गरिएको छ । शनिबार बिहान महानगर कार्यालयमा सम्पन्न सर्वपक्षीय छलफलले तय गरेको कार्यक्रमअनुसार रंगशाला निर्माण गर्ने धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलसहितको ¥याली भरतपुरको चौबिसकोठीबाट निर्माणस्थलसम्म जानेछ ।बिहान १० बजे कट्टेललाई भरतपुर विमानस्थलमा स्वागत गरेपछि चौबिसकोठीबाट ¥याली सुरु गरिनेछ ।
त्यसपछि मंगलपुरबाट १६ नम्बर वडा कार्यालय हुँदै निर्माणस्थल पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकरी दिइन् । ¥याली तथा समारोहमा उपस्थित हुन दाहालले सबै खेलप्रेमीलाई राष्ट्रिय झण्डासहित उपस्थित हुन आह्वान गरेकी छन् । ¥यालीमा खेलाडी, उद्योगपति, पेशाकर्मी, नागरिक समाज, युवा विद्यार्थी सबैलाई सहभागी हुन उनकोे आग्रह छ ।

¥यालीपछि निर्माणस्थलमा रंगशालाको जिल्ला घोषणा र डीपीआर शुभारम्भको घोषणा गरिने छ ।
रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर–१५ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको छ । २० विघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्ने भएको हो ।
गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ ।
मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारमा निर्माण हुनेछ ।





