बालबालिकालाई फुटबल खेलाडी बनाइदै

विप्लव काफ्ले
भरतपुर, १९ माघ
खैरहनी–१२ का छन्नुराम चौधरी पूर्व राष्ट्रिय÷अन्र्तराष्ट्रिय फुटबल खेलाडी हुन् । खेल जीवनमा उनले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट गोलकिपरका रुपमा खेले । साफ, एएफसी कप, एशियाली छनौट, विश्वकप छनौट तथा घरेलु लिग चरणका खेलमा उनले सहभागिता जनाए । तर, राष्ट्रिय लिगमा उनले निर्धारित समय भित्रै गोल गरेर चर्चामा आए ।
सानै उमेरमा खेलप्रति रुचि भएपनि घरपरिवारले सहजै खेलमैदानमा जान नदिएका कैयन घटना भुलेका छैनन् । “१०÷१५ वर्षको उमेरमा भागेर खेल्न गइन्थ्यो”, उनी सम्झन्छन्, “धेरै गाली खाइयो, तर खेलप्रतिको मोह घटेन ।” जागिरबाट अवकाश पाएसँगै उनले केही समय सरस्वती क्लबमा आवद्ध रहेर खेले । हाल उनी चितवनको भेटेरान फुटबल टोलीका महत्वपूर्ण सदस्य हुन् । “उबेला प्रशिक्षण लिने सुविधा थिएन”, उनी भन्छन्, “खेलबाटै देश विदेश जाने अवसर पाइयो, नेपाल चिनाउन लागियो ।” सानै उमेरदेखि खेलका आधारभूत ज्ञान दिन सके भविष्यमा बलियो राष्ट्रिय टिम बन्न सक्ने बताए । “फुटबलप्रतिको मोह बढाउन सानै उमेरका बालबालिकाबीचको प्रतिस्पर्धा गराउनुपर्छ”, उनी भन्छन्, “खेलले अनुशासन र इमान्दारिता विकास गर्छ ।”
फुटबल खेलाडी बढाउने लक्ष्य सहित ग्रास रुट फुटबल प्रशिक्षण देशव्यापी सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी प्रशिक्षण सुरु गरिएको छ । “फुटबलप्रति रुचि जगाउन ग्रास रुट फुटबल सुरु गरेका छौँ”, एन्फा अन्र्तगतको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले भने, “१ वर्षको अवधिमा २ हजार बढी बालबालिका फुटबल खेलमा सक्रिय हुनेछन् ।” उनका अनुसार एउटा चौरलाई ४ भागमा विभाजन गरेर बालबालिकालाई फुटबल खेल्न लगाइने छ । सुरुमा बल समात्ने, हान्ने सामान्य विधि सिकाइने छ ।
“१० वर्षमाथिकालाई बल पास गर्ने, अगाडी बढाउने सीप सिकाइनेछ”, उनले भने, “यो कुनै प्रतिस्पर्धा होइन, तर खेलमा लाग्न उत्साह थपिनेछ ।” शुक्रबार एन्फाका केन्द्रीय उपाध्यक्ष तथा प्रशिक्षण कार्यक्रमका संयोजक पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह, फिफाका प्राविधिक परामर्शदाता चोकी निमा लगायतले चितवनको फुटबल खेल अवस्थाबारे अनुगमन गरेका छन् । संघका महासचिव रामहरी ढकालका अनुसार चितवनमा करिव ४५ फुटबल क्लबहरु छन् । जिल्ला लिग खेल्ने १६ क्लब संघमा दर्ता छन् । करिव ५ सय खेलाडीहरु सक्रिय छन् । हालसालै भएको शहिदस्मारक ए डिभिजन खेलमा चितवनका ३ खेलाडीले फ्रेन्डस्, सरस्वती र एनआरटी क्लबबाट प्रतिनिधित्व गरेका थिए ।
यस्तै माघ २५ मा हुने वि डिभिजन खेलमा चितवनका ७ जना खेलाडीले विभिन्न क्लबबाट प्रतिनिधित्व गर्दैछन् । छन्नुराम चौधरी, सुर्यमान श्रेष्ठ, अरुणा गुरुङ, लेखनाथ घिमिरे लगायतका पूर्व राष्ट्रिय खेलाडी चितवनका हुन् । “विद्यार्थी लक्षित ग्रास रुट खेलका लागि विद्यालयबीच सहकार्य गर्न लागिएको छ”, ढकालले भने, “साना उमेरका विद्यार्थीलाई फुटबल खेलाउन आवश्यक खेलकुद सामाग्री, प्रशिक्षणका लागि संघ तयार छ ।” हाल नारायणगढको क्याम्पाचौर, माडीको बरुवामा ग्रास रुटका खेलहरु सुरु भएका छन् । शारदानगर, भण्डारा, आनन्दपुर, बसन्तपुर लगायतका क्षेत्रमा हरेक शुक्रबार र शनिबार ग्रास रुट फुटबल खेल सञ्चालन गरिने उनले बताए । “एकैचोटी नतिजा नआउला, तर भविष्यमा योग्य खेलाडी तयार हुनेछन्”, चितवन फुटबल संघका संस्थापक अध्यक्ष श्याम पियाले भने, “विद्यालयहरुलेनै मैत्रीपूर्ण खेल वर्षेनी गरेमा खेलाडीको संख्या बढ्नेछ ।” यात्रा गुरुपका सुदीपसिंह अधिकारीले विद्यालयहरुबीच सयम व्यवस्थापन गरेर बालबालिकालाई फुटबल खेलमा लाग्ने वातावरण बनाउनुपर्ने बताए ।
कृष्णपुरमा शुक्रबार आयोजित अन्र्तक्रिया कार्यक्रममा सुनिल अधिकारी, मनोज विष्ट, ऋषिराम घिमिरेले खेलकुद सामाग्री सहयोग गरेर खेलकुदका गतिविधि बढाउनुपर्ने बताए । भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेले आगामी वर्ष १२ वर्ष मूनिका बालबालिकाबीचको वडास्तरीय फुटबल प्रतियोगिता गर्ने घोषणा गरे । उनले वडाले तीन स्थानमा चौर निर्माणका लागि बजेट छुट्याएको बताए । फिपाका प्रतिनिधि चोकी निमाले बालबालिकाको असल चरित्र निर्माण गर्न ग्रास रुट कार्यक्रम फलदायी हुने बताए । एन्फाका केन्द्रीय उपाध्यक्ष उपेन्द्रमान सिंहले फुटबल खेलको वातावरण बनाउन अभियानका रुपमा कार्यक्रम चलाइएको बताए । “यो अभियानले भविष्यमा दक्ष खेलाडी तयार हुनेछन्”, उनले भने, “हाल १० हजार बालबालिकाले खेल्न सुरु गरेका छन्, ४ वर्षमा ५० हजार बालबालिका फुटबल खेलमा आवद्ध हुनेछन् ।”
उनले भविष्यमा जिल्लातहमा लिग चरणका खेलहरु सञ्चालन गरिने बताए । उनले स्थानीय क्लब, स्थानीय वडाले समाज टोलमा बालबालिकालाई फुटबल खेलमा लाग्ने वातावरण सृजना गर्ने बताए । ग्रास रुट फुटबलका लागि जिल्लामा रहेका १२ जना प्रशिक्षकहरुलाई परिचालन गरिनेछ । विद्यालयका शिक्षकलाई समेत प्रशिक्षण दिइनेछ । पहिलो चरणमा २० विद्यालयले यो अभियानमा प्रत्यक्ष सहभागिता जनाउनेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट