भरतपुर, १८ माघ
नेपाली क्रिकेटर सन्दीप जोरा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक हान्ने सबैभन्दा युवा खेलाडी बनेका छन् । उनले १७ वर्ष १०३ दिनको उमेरमा युएईविरुद्धको डेब्यू खेलमा अविजित ५३ रन बनाएका हुन् ।
टी–ट्वान्टी सिरिजको पहिलो खेलमा युएईसँग २१ रनले हारे पनि सन्दीपको खेल तारिफयोग्य रह्यो । विकेट गुमेर दबाबमा रहेको नेपाली टिममा उनले सम्हालिएको ब्याटिङ गर्दै ४६ बलमा ३ चौका र १ छक्काको मद्दतमा अविजित ५३ रन बनाएका हुन् ।
सन्दीप अन्तर्राष्ट्रिय टी–ट्वान्टीमा डेब्यू गर्ने नवौं युवा खेलाडी पनि हुन् । डेब्यू खेलमा सबैभन्दा धेरै रन बनाउने तालिकामा भने सन्दीप १९ औँ नम्बरमा रहे । यस्तै युएईविरुद्ध नै टी–ट्वान्टी डेब्यू गरेका रोहित पौडेल डेब्यू गर्ने तेस्रो युवा खेलाडी रहे । उनको डेब्यू उमेर १६ वर्ष १ सय ५१ दिन रहेको छ । सबैभन्दा कम उमेरमा टी–ट्वान्टी डेब्यू गर्ने कुवेतका मिट भावसर हुन् ।
उनले ११ दिनअघि माल्दिभ्सविरुद्धको खेलमा १४ वर्ष २ सय ११ दिनमा डेब्यू गरेका थिए । दोस्रोमा हङकङका वाकस खान रहेका छन् ।





