भरतपुरमा ४७ करोडका ५ आयोजना

विप्लव काफ्ले

भरतपुर, १८ माघ

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगर ५ वर्षभित्रै नमूना शहरका रुपमा स्थापित हुने दावी गरेका छन् । भरतपुरमा शहरी विकास मन्त्रालयले सञ्चालन गर्न लागेका ५ आयोजनाको संयुक्तरुपमा शिलान्यास गर्दै उनले भने, “भरतपुर नमूना शहर बन्नेछ, देशभरि यो सन्देश दिनेछौँ ।”

उनले महानगरलाई सभ्य र सुसंस्कृत बनाउने खालका आयोजना सञ्चालनकै क्रममा रहेको बताए । “अन्तर्राष्ट्रियस्तरको रंगशाला रामपरमा बन्दैछ, त्यो सानो कुरा होइन”, उनले भने, “चितवनको विकासका निम्ति त्यसले रणनीतिक आधार दिनेछ ।” बुधबार नै धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुरको रामपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने औपचारिक घोषणा गरेको थियो । “जनप्रतिनिधिमा हुटहुटी छ, छिटो, राम्रो र धेरै विकास गर्ने हुटहुटी छ”, उनले भने, “यो सबैका निम्ति अवसर हो, सदुपयोग गरौँ ।”

शिलान्यास गरिएका आयोजना

१) भरतपुर–९ स्थित केन्द्रीय बसपार्कको निर्माण सुधार कार्य आयोजनाका लागि ९ करोड १८ लाख २३ हजार ३ सय २ रुपैयाँ

२) भरतपुर–६ मा रहेको लक्ष्मीनारायण तथा ओम कार्यश्वर मन्दिर, पार्क तथा पूर्वाधार निर्माण गर्न १० करोड ९० लाख ७३ हजार ६ सय ८२ रुपैयाँ

३) भरतपुर–१९ मा रहेको रानीपोखरीमा पार्क तथा पूर्वाधार निर्माण गर्न ९ करोड ४५ लाख ९४ हजार १ सय ८० रुपैयाँ

४) भरतपुर अस्पतालमा बिरामी कुरुवा घर तथा पूर्वाधार निर्माण गर्न मन्त्रालयले ६ करोड ८१ लाख ३० हजार ३ सय ८ रुपैयाँ

५) भरतपुर–१ स्थित देवघाटमा विद्युतीय शवदाह भवन तथा मलामी प्रतीक्षालय निर्माण गर्न ११ करोड २१ लाख ८ हजार ६ सय ४१ रुपैयाँमा सम्झौता भएको छ ।

शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले भरतपुर महानगरलाई सबै सेवाले परिपूर्ण भएको बनाउन मन्त्रालय तयार रहेको बताए । “जे जति योजना सञ्चालनमा छन्, ती प्राथमिकताका साथ अघि बढ्नेछन्”, उनले भनिन्, “महानगरले भविष्यमा चाहने योजनाका लागि सहयोग गर्न मन्त्रालय तयार छ ।” उनले पहाड, हिमाल र मधेसको सम्मीश्रण भएकाले भरतपुर महानगरलाई नमूना बनाउन प्रतिबद्ध रहेको बताए । उनले भरतपुर र माडीलाई समेटेर एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे । उनले रत्ननगर र खैरहनीलाई जोड्ने गरी एकीकृत विकासको कार्यक्रम ल्याउने जनाए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एउटै सोच, एउटै संकल्पका साथ महानगरको विकासको लागि अघि बढेको बताइन् । चक्रपथसहित ६ महिनाअघि शिलान्यास भएका १३ आयोजनाहरुको काम २०७७ सालभित्र निर्माण सम्पन्न हुने उनले बताइन् ।

कस्ता छन् ५ आयोजना ?

भरतपुरमा शहरी विकास मन्त्रालयले ४७ करोड बढीका ५ विकास आयोजना सञ्चालन गर्ने भएको छ । सघन शहरी विकास र भवन निर्माण संहिता (सरकारी भवन निर्माण) कार्यक्रमअन्तर्गतका विकास आयोजनाको शिलान्यास गरिएको छ ।

बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले संयुक्तरुपमा ५ आयोजनाको शिलान्यास गरे । केन्द्रीय बस टर्मिनल भरतपुरमा ती सबै आयोजनाको सांकेतिकरुपमा शिलान्यास गरिएको हो । सबै आयोजना दुई वर्षमा निर्माण गरिसक्ने जनाइएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कुमारप्रसाद घिमिरेले जन्मदेखि मृत्युसम्मका आयामलाई समेटेर ५ आयोजना सञ्चालनमा आउन लागेको बताए । समृद्ध शहर बनाउन यी आयोजनाले सघाउने बताए । भरतपुर–९ स्थित केन्द्रीय बसपार्कको निर्माण सुधार कार्य आयोजनाका लागि ९ करोड १८ लाख २३ हजार ३ सय २ रुपैयाँमा सम्झौता भएको छ । “बसपार्कभित्र बिग्रेको बाटोमा कंक्रिट ढलान हुन्छ”, सघन शहरी तथा भवन निर्माण आयोजनाका ईञ्जिनियर सृष्टि भुषालले भनिन्, “मुख्य भवनका बिग्रेका झ्याल ढोका मर्मत पनि हुनेछन् ।”

उनका अनुसार बसपार्कभित्र रहेको वर्कसप भवनमा भ¥याङ राखेर ट्रससमेत राखिनेछ । भरतपुर–६ मा रहेको लक्ष्मीनारायण तथा ओम कार्यश्वर मन्दिर, पार्क तथा पूर्वाधार निर्माण गर्न १० करोड ९० लाख ७३ हजार ६ सय ८२ रुपैयाँमा सम्झौता भएको छ ।

“पोखरीको बीचमा आकर्षक मन्दिर बन्नेछ, जाने सानो पुल बन्नेछ”, उनले भनिन्, “धर्मशाला, चौतारी, गौशाला, कम्पाउण्ड वाल, प्रवेशद्वारलगायत संरचना बन्नेछन् ।” भरतपुर–१९ मा रहेको रानीपोखरीमा पार्क तथा पूर्वाधार निर्माण गर्न ९ करोड ४५ लाख ९४ हजार १ सय ८० रुपैयाँमा सम्झौता भएको छ । “रानीपोखरीको बीचमा आकर्षक मन्दिर ब्रीज बन्नेछ”, उनले भनिन्, “मन्दिरसम्म जाने ५ किलोमिटर सडक समेत कालोपत्रे गरिनेछ ।” यी तीन वटै आयोजनाको निर्माण रविना कन्स्ट्रक्सन प्रालि काठमाडौंले गर्नेछ ।

यस्तै भरतपुर अस्पतालमा बिरामी कुरुवा घर तथा पूर्वाधार निर्माण गर्न मन्त्रालयले ६ करोड ८१ लाख ३० हजार ३ सय ८ रुपैयाँमा सम्झौता गरेको छ । रविना–जोशी–फुलजोर जेभी काठमाडौंलाई निर्माणको जिम्मा दिइएको छ । “तीन तलाको कुरुवा घर बन्नेछ”, ईञ्जिनियर उपेन्द्र सुवेदीले भने, “भूइँ तलामा क्याफेसहितको ओपन स्पेश रहने छ, पहिलोमा २९ र दोस्रो तलामा २४ जना बिरामी कुरुवा बस्न मिल्ने बेड तयार हुनेछन् ।” अस्पतालका भवन साँघुरो हुँदा बिरामी कुरुवालाई निकै समस्या हँुदै आएको थियो । अस्पतालमा दैनिक करिब ४ सय बिरामी भर्ना हुने गर्छन् ।

त्यस्तै भरतपुर–१ स्थित देवघाटमा विद्युतीय शवदाह भवन तथा मलामी प्रतीक्षालय निर्माण गर्न ११ करोड २१ लाख ८ हजार ६ सय ४१ रुपैयाँमा सम्झौता भएको छ । निर्माणको जिम्मा काठमाडौंको मिलिनियम÷सिद्धगढी जेभीले पाएको छ । “२ मेसिन राख्ने तयारी छ”, देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले भने, “करिब ४७ मिनेटमा दाहसंस्कार सकिनेछ, प्रदूषण पनि रोकिनेछ ।” देवघाटमा देशका विभिन्न स्थानबाट दाहसंस्कारका लागि ल्याउने प्रचलन छ । दैनिक ५ देखि २२ वटासम्म शव दाहसंस्कारका लागि देवघाट ल्याउने अवस्था रहेको उनले बताए । अहिलेसम्म यहाँ चितवन र नवलपुरका वन कार्यालय र सामुदायिक वनबाट काठ ल्याएर दाउरामार्फत शव जलाउने गरिन्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट